नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्।
बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन्।
उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए।
उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए। उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए।
अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए।
उनले भने, ‘हामीले हाम्रो प्रणालीका कारणले देखापरेका विकृति र विसंगति सुधार गर्नुछ, अब शान्तिपूर्ण तरिकाले नेपालमा जे कारणले कुशासन र भ्रष्टाचार जत्ति भनेपनि बढेको बढ्यै छ। हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ। प्रणालीमा सुधार गर्न आवश्यक छ।’
उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेकुरा पनि केही मानिसहरुले गर्ने गरेको बताए। उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे।
अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए।
उनले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए। उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे।
अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे। उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताए।
अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताए।
Shares
प्रतिक्रिया