ad ad

राजनीति


भक्तपुर २ मा महेश बस्नेत र दीपशिखाको भिडन्त पक्का

भक्तपुर २ मा महेश बस्नेत र दीपशिखाको भिडन्त पक्का

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:३४, काठमाडौँ

भक्तपुर क्षेत्र नम्बर २ मा यो पटककको आमनिर्वाचनको प्रतिस्पर्धा रोचक हुने भएको छ। 

प्रतिनिधिसभातर्फ २०७४ मा बलियो मतसहित विजयी एमालेका महेश बस्नेतलाई कांग्रेससहितका गठबन्धन दलको साथ लिएर माओवादी केन्द्रका युवा  नेता रामप्रसाद सापकोटा दीपशिखाले चुनौती दिने भएका हुन्। 

माओवादीले दीपशिखालाई भक्तपुर २ मा बस्नेतविरुद्ध उठाउन उनको नाम सिफारिस गरिसकेको छ। 

माओवादीले भक्तपुर क्षेत्र नम्बर १ का लागि सुरेश न्यौपानेलाई सिफारिस गर्दा क्षेत्र नम्बर २ मा दीपशिखालाई अघि सारेको हो। 

माओवादी केन्द्र भक्तपुर जिल्ला समन्वय समितिको बैठकले उक्त सिफारिस गरेसँगै दीपशिखाले टिकट पाउने करिब पक्का जस्तै भएको छ। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकजना सहयोगी नेताका रुपमा रहेका छन्। 

उता एमालेले वर्तमान सांसद महेश बस्नेतलाई भक्तपुर २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा दोहोर्‍याउने निर्णय सोमबारै गरिसकेको छ।

भक्तपुरमा सडकसहितका पूर्वाधार विस्तारमा बजेट परिचालन गरेर पकड जमाइरहेका बस्नेतलाई यो पटक माओवादीले चुनौती दिन लागेको हो। 

एमाले भक्तपुरका जिल्ला सदस्य उपेन्द्र केसीका अनुसार अन्य केही नेताले दाबी गरे पनि चुनाव सजिलै जित्नका लागि एक मत भएर बस्नेतको नाम अघि सारिएको हो। 

उता लामो समय माओवादीको युवक संगठन वाईसीएल नेपालको नेतृत्व गरेर माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका दीपशिखाले केही समयदेखि चुनावी तयारी थालिसकेकाछन्। 

भक्तपुर क्षेत्र नम्बर २ को स्थानीय तहको मतपरिणाम रोचक छ। वैशाख ३० को मतपरिणाम हेर्दा मध्यपुर ठिमीमा झिनो अन्तरले गठबन्धनले एमालेलाई हराएको थियो। 

उता सूर्यविनायक नगरपालिकामा एमाले विजयी भएको थियो। एक्ला एक्लै एमाले बलियो देखिए पनि गठबन्धनको एकमत भएको अवस्थामा एमालेलाई केही चुनौती यो क्षेत्रमा छ। 

तर एमाले नेता बस्नेतले आफूले स्थानीयसँग मिलेर गरेको विकास र पूर्वाधार विस्तारको एजेन्डा जनतासमक्ष लगेर फेरि भोट माग्दैछन्। 

उता दीपशिखाले पनि गठबन्धनको बलमा यो पटक बस्नेतको पकड भत्काउने योजना बनाएका छन्। गठबन्धन एकमत भएर बस्नेतलाई कठिन हुन सक्छ। तर बस्नेतले गठबन्धनको पनि मत तान्न सक्ने अवस्था पनि त्यहाँ छ।

विगत 
२०७४ को संसदीय निर्वाचनमा भक्तपुर २ बाट एमालेका महेश बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई भारी मतले हराएका थिए। 

माओवादीको पनि साथ पाएका बस्नेतले कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका थिए। 

बस्नेतले ३६ हजार चार सय १२ मत ल्याए। पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याएका थिए।

२०७० सालको निर्वाचनसम्म भक्तपुरमा कमजोर मानिएको एमाले बस्नेतकै कारण बलियो भएको छ। २०७० सालको निर्वाचनमा भने बस्नेत भक्तपुर २ मा हार्न पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .