नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनका लागि भइरहेको सिट बाँडफाँटमा नेपाली कांग्रेस ८० सिट वरिपरी आउने सम्भावना रहेको बताएका छन्।
कैलालीको गेटा विमानस्थलमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एक सय सिट भन्दै आए पनि ८० सिट वरिपरीमा सहमत हुने सम्भावना रहेको बताएका हुन्।
माओवादीले ६० सिट वरिपरी पाउनेमा अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे।
‘नेपाली कांग्रेसले सुरुमा सय भन्नुभाथ्यो। तर, ८० को वरिपरी आउने सम्भावना बढ्दो छ,’ उनले भने, ‘हामीले पनि ६० भनेका छौँ, ६० बाट केही तलमाथि होला। तर, त्यसैको वरिपरी होला भन्ने हाम्रो विश्वास छ।’
प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले २५–२५ सिटमा दाबी गरिरहेको पनि बताए। दलहरुले गरेको दाबीलाई आधार बनाएर सिट बाँडफाँटको टुंगो लगाइने उनको भनाइ छ।
‘समाजवादी पार्टीले २५ वरिपरी भन्ने कुरा गरेको स्थिति छ। जनता समाजवादी पार्टीले २५ को वरिपरी नै दाबी गरिराखेको स्थिति छ,’ प्रचण्डले भने, ‘यसैलाई आधार बनाएर अहिले हाम्रो सबै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने, मिलेको जति मिलाउने, बाँकी रहेको शीर्ष तहमा बसेर टुंग्याउने भनेर लागिएको छ।’
Shares
प्रतिक्रिया