नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको विकासबिना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्।
महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनको सोमबार शिलान्यास गर्दै प्रचण्डले मुलुकको समग्र विकासमा शिक्षाको महत्त्वमा जोड दिएका हुन्।
उनले निर्मल लामा बहुप्राविधिक शिक्षालय देशकै नमुना विद्यालयको रूपमा विकास हुने विश्वास पनि व्यक्त गरे।
दक्ष जनशक्ति उत्पादनको लागि देशको बजेटको २० प्रतिशत रकम शिक्षामा छुट्याउनु पर्नेमा जोड दिँदै उनले शिक्षालाई उत्पादनमुखी र बैज्ञानिक बनाउनुपर्ने बताए।
कार्यक्रममा प्रचण्डले अधा घन्टा बोले। तर देशको राष्ट्रिय राजनीतिको विषयमा कुनै चर्चा गरेनन्। उनले शैक्षिक विषयमा मात्रै आफ्नो मन्तव्य केन्द्रीत गरेका थिए।
कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका विद्यार्थी पढ्न आउने ठाउँको रूपमा शिक्षालयलाई विकास गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
देशभरका सबै विद्यालयमा तीन वर्षभित्रमा भौतिक पुर्वाधार बिकासको काम सक्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
कार्यक्रममा पुर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बर्दिवासलाई शैक्षिक हबको रूपमा विकास गर्न प्राविधिक शिक्षालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनले शिक्षालयलाई ठिक ढंगले अघि बढाउन समुदायको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा माओवादीका बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षा राज्यमन्त्री बोधमाया यादव, मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरत साह, कोइकाका कन्ट्री डाइरेक्टर सुन हु को, माओवादी नेताहरू गणेश साह, रामकुमार शर्मा, बिश्वनाथ साह, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, प्रदेश सांसद शारदा थापा सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति थियो।
०७५ मा स्थापना भएको शिक्षालयमा हाल २८ जिल्लाका ८ सयभन्दा धेरै विद्यार्थी अध्यनरत रहेका शिक्षालयका प्रमुख रमेशकुमार मेहताले जानकारी दिए। कोरियन सरकार (कोइका) को एक अर्ब पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा भवन बन्न लागेको हो।
विद्यालयमा हाल संचालनमा रहेका सातवटा शैक्षिक कार्यक्रमलाई विकास गरेका १२ वटा पुर्याउने तयारी शिक्षालयले गरेको छ।
Shares
प्रतिक्रिया