पाँच वर्षअघि बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न गर्दा हप्की खाएका सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनावी तयारीका लागि डडेलधुरातिर लागेका छन्।
चौथो कार्यकाल प्रधानमन्त्री रहँदा सिंगापुरका लि क्वान युसँग जोडेर प्रश्न गरेका ढकालले हप्की भेटेका थिए।
गुल्मीका उनै ढकाल देउवाविरुद्ध चुनावी तयारीका लागि सोमबार बसबाट डडेलधुराको यात्रामा निस्किएका हुन्।
ढकालले सोमबार सामाजिक सञ्जालमार्फत देउवाविरुद्ध चुनावी प्रतिस्पर्धाका लागि आफू डडेलधुरातिर हिँडेको उल्लेख गरेका छन्।
देउवालाई हजुरबा भन्दै ढकालले आफूसँग प्रतिस्पर्धाका लागि तयार रहन पनि भनेका छन्।
‘अर्को पटक डडेलधुरा जाँदा चुनावी मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धी सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासँग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसँगै जान यही पोस्टमार्फत अनुरोध गर्न चाहन्छु', उनले भनेका छन्, 'सुन्छु, डडेलधुराको विकट गाउँबाट चप्पल पड्काएर राजनीतिमा आउनुभएका हजुरबुवाले म जन्मिएदेखि जमीन टेक्नुभएको छैन। नेपाली जनताको पीडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारवादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ।'
उनले नातिपुस्ताको सक्रियताले हजुरबा पुस्तालाई राजनीतिबाट विश्राम दिने पनि तर्क गरेका छन्।
‘अब हजुरबुवालाई आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुबाहरू चाँडै रिटायर हुनुहुनेछ', उनले अगाडि भनेका छन्, ‘हजुरबुवा रिटायर भएका दिन नातिहरूले झोलुंगामा राखेर , शान्तिको पाठ पढाउँदै , मिठो चिया पकाएर दिनेछन्। ’
उनले आगामी चुनावका लागि कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्ने बताएका छन्। 'सिंगापुर र चीन जस्तो एक पुस्तामै आमूल कायापलट हुने गरि विकास गर्न सक्छौँ सक्दैनौँ अहिले भन्न सकिन्न', उनले भनेका छन्, 'अबको २-३ महिनामा सम्भावित प्रधानमन्त्रीसहित चीन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौँ।'
Shares
प्रतिक्रिया