भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष तथा सत्तारुढ भारतीय जनता पार्टीका राज्य सभा सदस्य डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
भेटमा दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।
नेपाल भ्रमणमा रहेका सहस्रबुद्धेले आज अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा सरिक भएका थिए।
भारतको ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय दूतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थिए। आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग डा. सहस्रबुद्देले आजै अन्तरक्रिया गरेका थिए।
पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे।
यस सम्बन्धमा आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गर्ने दूतावासले जनाएको छ।
Shares
प्रतिक्रिया