पाँच वर्षअघि बहुजन शक्ति पार्टीबाट चुनाव लडेर सुदीप पौडेल कपिलवस्तु नगरपालिका १ को वडाध्यक्ष भएका थिए।
४४ वर्षीय उनै पौडेललाई नगरबासीले मेयर बनाएका छन्। कपिलवस्तुमा उनको जितलाई कतिपयले काठमाडौंको बालेन साहसँग तुलना गरेका छन्।
जसपाबाट मेयर जितेका उनले पार्टीभन्दा पनि व्यक्तित्वको आधारमा बढी भोट पाएका छन्। जसपाले कपिलवस्तुका १२ मध्ये ३ वटा मात्रै जितेको छ।
बाँकी ५ वटा वडा कांग्रेस र ४ वडामा एमालेले वडाध्यक्ष जितेको छ। यीमध्ये धेरै वडामा मेयरका लागि पौडेलको पक्षमा धेरै भोट आएको छ।
कपिलवस्तु १ का वडाध्यक्ष रहेका बेला सुदीप पौडेल डेढ महिनाअघि गत चैत १४ गते एमाले प्रवेश गरेका थिए।
एमाले प्रवेश
सूर्य चिन्ह लिएर कपिलवस्तुबाट सांसद भएका वृजेशकुमार गुप्तासँगै पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए। तर पौडेलले एमालेबाट मेयरको टिकट पाएनन्।
वृजेशले राजेशकुमार गुप्तालाई एमालेको तर्फबाट मेयरको टिकट दिए। ‘टिकट नदिएपछि ठीकै छ। राजनीति गर्न नपाए पनि समाजसेवा जारी राख्छु भन्ने सोचेको थिएँ,’ उनले भने ‘तर
जनताले मानेनन्। तपाईँलाई हामीले मेयरका रुपमा हेर्न चाहेका छौँ। उठ्दिनँ भन्न पाइन्न बरु स्वतन्त्र लड्नुस् भने।’
मेयरमा उठ्ने भएपछि पौडेललाई जसपाले टिकट दिने भयो। ‘कुन दल र चुनाव चिन्ह हामीलाई मतलब भएन। उठ्नुस् भनेपछि जसपाबाट उम्मेदवार बनेँ,’ उनले भने।
५ वर्षअघि पौडेल वडाध्यक्षको चुनाव लड्दा त्यसबेला मधेशवादी दलले चुनाव बहिष्कार गरेका थिए। तर कपिलवस्तुमा वृजेशकुमार गुप्ताका समर्थकहरु जग चुनाव चिन्ह लिएर बहुजन शक्ति पार्टीबाटै उम्मेदवार बनेका थिए। त्यही बेला उनी कपिलवस्तु १ को वडाध्यक्षमा विजयी भएका थिए।
स्ववियुको राजनीति
सुदीप पौडेल २०५३ सालमा कपिलवस्तु क्याम्पसका स्ववियु उपसभापति हुन्। राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट उनी स्ववियुमा पुगेका थिए।
हाल राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन २०५४ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष हुँदा पौडेल त्यही संगठनको कपिलवस्तु जिल्ला अध्यक्ष थिए।
त्यसबेला वृजेशकुमार गुप्ता पनि राप्रपामै थिए। गुप्ताले २०५६ सालमा कपिलवस्तुमा राप्रपाबाट चुनाव जितेर सांसद भएका थिए।
अनि कोरिया
२०५८ सालमा सुदीप पौडेल कोरिया गए। ७ वर्ष कोरिया बसेर आएपछि २०६५ सालमा कपिलबस्तुमै व्यवसाय, समाजसेवा गर्न थाले।
उनले वृजेशकुमार गुप्तासँग नजिक रहेर राजनीतिमा पनि केही सक्रियता बढाए। वृजेश तमलोपामा हुँदा उनी पनि त्यही पार्टीमा आबद्ध थिए।
योजना
तर यो पटक ३ दशक लामो वृजेशकुमार गुप्ताको साथ छोडेर जसपाबाट उम्मेदवार बनेर मेयरमा निर्वाचित भए।
आफूले जनतालाई त्यति ठूलो सपना नदेखाएको उनले बताए। विजयी भएपछि जनताका आधारभूत कुरामा ध्यान दिने उनले सुनाए।
‘ठूला नेताले जस्तो कपिलवस्तुलाई स्वीडरल्याण्ड बनाउँछु भनेर म भन्दिनँ। कपिलवस्तुलाई कपिलवस्तु अवश्य बनाउँछु,’ उनले भने ‘नगर सफाइ, स्वास्थ्य र पर्यटनमा गर्नुपर्ने धेरै काम छ।’
गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोटको प्रचार प्रसार र प्रवद्र्धनका लागि आफ्नो तर्फबाट काम गर्ने पौडेलले सुनाए।
पौडेलले एमालेका राजेशकुमार गुप्तालाई ३ हजार ११४ मतको अन्तरले पराजित गरे। पौडेलले ११ हजार ५६५ मत प्राप्त गरे भने, गुप्ताले ८ हजार ५५३ मत ल्याए।
उपमेयरमा पनि जसपाकी सुनिता गुप्ताले जितेकी छन्। कपिलवस्तुको १, ७ र ११ को वडाध्यक्ष जसपाले नै जितेको छ। ३,५,८ १० र १२ कांग्रेसले जितेको छ। २, ४, ६ र ९ एमालेले जितेको छ।
Shares
प्रतिक्रिया