भैरहवाबाट लुम्बिनी जाँदै गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पार भएपछि दक्षिणतर्फ जाने सडक छ। अहिले यो सडक फराकिलो पार्ने काम भइरहेको छ। त्यही सडकबाट केही अघि बढेपछि मर्चवार क्षेत्र सुरु हुन्छ। नक्सामा हेर्दा भैरहवा र लुम्बिनीको बीचमा नेपालको भूभाग केही बढी दक्षिणसम्म पुगेको छ। कोटइमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका रहेको यो ठाउँ मर्चवार क्षेत्र हो।
कुनै बेला मर्चवारलाई तराइको दुर्गम र पिछडिएको ठाउँका रूपमा बुझिन्थ्यो। सुगम जिल्लाको दुर्गम भेग भनिन्थ्यो। यहाँ बाटोघाटो, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार निकै कमजोर थियो। ससाना झुपडी र फुसका घर हुन्थे।
बालापनमा मर्चवारको बिजोग अवस्था देखेको मर्चवारी गाउँपालिका १ सेमरा कोटियाका ३५ वर्षिय रामसजन मौर्यले सुनाए। ‘विद्यालयका भवन पनि राम्रा थिएनन्। हामी त भुइँमा बसेर पढेको हो। कक्षामा केटीहरु हुँदै हुँदैन थिए।’
उनले सम्झे, ‘म १ कक्षामा पढ्दा हामी ५० जना केटाहरु हुँदा केटी मुस्किलले ८–१० जना हुन्थे। अहिले त ५० जना केटा हुँदा ५५ जना केटी हुन थालिसके।’
छात्राहरु भर्ना भए पनि छिट्टै विद्यालय छाड्थे। ५ कक्षासम्म आउँदा त एक दुई जना मात्र बाँकी रहन्थे। छात्रहरु समेत माथिल्लो कक्षामा नपुगी पढ्न छाड्ने गरेको मौर्य सम्झन्छन्।
‘केटाहरु १० कक्षासम्म कोही पढ्दैन थिए। यहाँ निमाविसम्म थियो। मावि पढ्न मझगवाँ पुग्नुपथ्र्यो’, उनले भने।
अहिले मर्चवारी गाउँपालिकामा सामुदायिकसँगै निजी विद्यालय पनि सञ्चालनमा छन्। स्नातक तहसम्मको पढाइ गाउँपालिका भित्रै हुन्छ।
विगतमा सामान्य उपचार सेवा पनि नभएको मर्चवारमा अहिले स्वास्थ्य चौकीसम्म बनेको छ। अस्पतालकै सुविधा लिन भने भैरहवा र अन्यत्र जानुपर्छ।
विगतमा साँघुरा अप्ठ्यारा बाटा थिए। बर्खामा हिलोमा हिँड्नुपर्थ्याे। अहिले भैरहवाबाट दक्षिणतर्फ गएको मुख्य सडक मात्र होइन, त्यसका शाखा सडकसमेत कालोपत्रे भएका छन्। पक्की र ढलान घर पनि बनिरहेका छन्। तर तीमध्ये धेरै घर रंगरोगन गरिएका छैनन्। कतिपय परिवार अझै झुपडी र फुसका घरमै बसेका देखिन्छन्।
बिजुली पनि मर्चवारमा अलि पछि मात्र पुगेको हो। २०७४ सालसम्म पनि मर्चवार क्षेत्रका डेढ सयजति गाउँमा विद्युत् थिएन। अहिले लगभग सबै ठाउँमा बिजुली बल्छ।
विकासको गति केही अघि बढेको भए पनि मर्चवारमा तमाम समस्या छन्। मर्चवारी १ कै सन्तराम मौर्यले खेती लगाउने बेला मलखादको समस्या रहेको सुनाए। ‘खेती लगाउने बेलामा मलखाद पाइँदैन, भारत धाउनुपर्छ। उताबाट ल्याउँदा बोर्डरमा समात्छन्’, उनी भन्छन्, ‘बेरोजगारीको समस्या उस्तै छ, धेरै जना काम गर्न भारत जान्छन्। कोही विदेश गएका छन्।’
बर्खायाममा मर्चवार क्षेत्रमा डुबानको समस्या पनि उस्तै छ। गत भदौमा ठूलो वर्षा हुँदा मर्चवारका धेरै ठाउँ डुबेको थियो।
डुबानले ठूलो संख्यामा धानबालीमा नोक्सान पुर्याएको कोटइमाई गाउँपालिका मझगवाँका उमाशंकर यादवले बताए।
‘यहाँ सबै ठाउँ डुबेको थियो। धान नोक्सान भए पनि सरकारले किसानलाई केही दिएको छैन। दिन्छु दिन्छु भन्दै थियो। पछि पैसा आ’छैन भन्यो’, उनले भने।
चुनावी रौनक तातेर केही सेलायो
अहिले जनताका समस्यालाई नै एजेन्डा बनाएर मर्चवारमा स्थानीय चुनावका उम्मेदवारले प्रचारप्रसार तीव्र पारेका छन्।
रुपन्देहीका उत्तरतिरका पालिकामा दलहरुले उम्मेदवार नटुंग्याउँदा मनोनयनको केही दिन अघिसम्म चुनावी रौनक खासै थिएन।
तर मर्चवारमा मनोनयनको धेरै दिनअघि चुनावी तामझाम सुरु भएको थियो। मुख्य दलले उम्मेदवार टुंगो नलगाए पनि मधेशवादी दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी अभियान थालिसकेका थिए। मनोनयन अघि र पछिका केही दिन चुनावी झण्डा बोकेका गाडीका बाक्लो लावालस्कर देखिन्थ्यो। चुनावमा प्रचार भएका धेरै गाडी भारतीय नम्बर प्लेटका देखिन्छन्।
ट्याक्टरलगायतका सवारीसाधनमा ठूला स्पिकर राखेर माइकिङ गरिएको थियो। दुई तीन दिनयता भने गाडीका लावालस्कर र माइकिङ खासै देखिएको छैन। उम्मेदवार घरदैलोमै बढी केन्द्रित छन्। मर्चवारी गाउँपालिकाका निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले आचारसंहिता विपरीतका चुनावी गतिविधि र भड्किलो प्रचारमा सुरक्षाकर्मीले कडाइ गरेको बताए।
‘केही दिनसम्म अघि प्रचारमा बढी नै तामझाम भएको थियो। अहिले हाम्रा सुरक्षाकर्मीहरुले कडाइ गर्नुभएको छ। माइकिङ गर्न, ठूला–ठूला पोस्टर पम्पलेट प्रयोग गर्न हामीले दिएका छैनौं’, उनले भने, ‘केही ठाउँमा सभा र घरदैलो गरिरहनुभएको छ।’
गाडीको लावालस्कर नदेखिए पनि केही ट्याक्टर, अटोरिक्सा र मोटरसाइकलमा साना झण्डा लिएर ओहोरदोहोर गरेको भने देखिन्छ। बिजुलीका पोल तथा घरका भित्तामा पहिले टाँसिएका पोस्टर पनि भेटिन्छ।
मर्चवार क्षेत्रमा कांग्रेससहित मधेशवादी पार्टीहरु जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, सीके राउतको जनमत पार्टी, राप्रपालगायतका प्रचार बढी देखिएको थियो। केही मात्रामा एमाले र माओवादी केन्द्रका चुनावी अभियान पनि देखिएका थिए।
स्वतन्त्र उम्मेदवार पनि मतदातासँग भेट गरिरहेका थिए। मर्चवारी गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार ज्ञानप्रकाश मिश्र, उपाध्यक्षकी उम्मेदवार सुमन यादवलगायतको टोली घरदैलोमा भेटिएको थियो। उपाध्यक्षकी उम्मेदवार सुमन यादवले गाउँपालिकामा महिलाका तमाम समस्या रहेको भन्दै आफूले समाधान गर्न पहल गर्ने बताइन्।
‘अहिले हेर्नुस्, डेलिभरीका समस्या छ। घरमा लोग्नेले काम नगर्दा महिलाले काम गरेर जीविका चलाउन परेको छ’, उनले भनिन्, ‘झुपडीमा बसेका छन्, उनीहरुको बास बनाउन पर्नेछ। अरू थुपै्र विकासका काम गर्ने छु।’
नजिकै नेपाल जनता पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारले रमेश चौहानले पनि बस्तीहरुमा मत मागिरहेका थिए। २७ वर्षका चौहानले करछुट गर्ने युवालाई आकर्षित गर्ने योजना सुनाए। ‘म माछापुछ्रे बैंकको शाखा प्रबन्धक थिएँ। युवा नेता आउनुपर्यो भन्ने आवाज उठेपछि राजीनामा गरेर चुनाव लड्न आएको छु’, उनले भने ‘अहिलेका जनप्रतिनिधिहरुबाट भ्रष्टाचार धेरै भयो भन्ने सुनेको हो। मलाई भोट दिनुभयो भने कर छुट गर्छु। युवाहरुका लागि योजना ल्याउँछु।’
सोही पालिकामै महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी पनि चुनावी घरदैलोमा देखिएको थियो। लोसपाबाट मर्चवारी १ का वडाध्यक्षका उम्मेदवार कृष्णकुमार सिंहको टोलीले मतपत्र हातमा लिएर आफ्नो पक्षमा मत हाल्न सिकाइरहेका थिए।
वडाध्यक्षका उम्मेदवार सिंहले जनतालाई आफ्नो पार्टीको एजेन्डा सुनाउँदै घरदैलौमा हिँडेको बताए। ‘चुनाव जितेर यहाँको समाजिक उत्थान, शिक्षा र स्वास्थ्यको समस्यामा काम गर्नु छ। त्यही कुरा घरदैलोमा बुझाउँदै हिँडेको हो’, उनले भने, ‘हाम्रो माहोल यहाँ राम्रो छ।’
मर्चवारीमा दलगत ९ जना र स्वतन्त्र ५ जना गरी गाउँपालिका अध्यक्षका लागि १५ जना उम्मेदवार छन्। १३ जना उपाध्यक्षका उम्मेदवार छन्।
त्यस्तै सम्मरीमाई र कोटइमाईका गाउँबस्तीमा पनि उम्मेदवारले मतदाता भेटिरहेका थिए।
सम्मरीमाईमा ८ जना दलगत र ७ जना स्वतन्त्र गरी अध्यक्षमा १५ उम्मेदवार छन्। गाउँपालिका उपाध्यक्षमा १० जना उम्मेदवार मात्र छन्।
कोटइमाई गाउँपालिकाको अध्यक्ष पदका लागि १० जना दलगत र २ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्। उपाध्यक्षमा सबै ९ जना दलगत उम्मेदवार छन्।
मर्चवारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपासँगै सीके राउतको जनमत पार्टी पनि चुनावी अभियानमा होमिएको छ। त्यसैगरी नेपाल जनता पार्टी, नेपालका लागि नेपाली पार्टी बहुजन शक्ति पार्टीका उम्मेदवार पनि मैदानमा देखिएका छ्न्। पालिकादेखि वडासम्म स्वतन्त्र उम्मेदवारको लहर छ।
मर्चवारमा चुनावैपिच्छे फेरिन्छ मतदाताको मन
देशका कतिपय ठाउँ कुनै एक दलले लगातार जितेर आफ्नो किल्ला बनाएको हुन्छ। तर मर्चवारमा प्रजातन्त्र पुनर्स्थापना पछिका चुनावमा कुनै पनि दलले लगातार प्रभाव कायम गर्न सकेका छैनन्।
चुनावैपिच्छे यहाँ फरक–फरक दलका पक्षमा नतिजा आउने गरेको छ। २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए। २०५१ सालमा राप्रपाबाट चुनाव लडेका सर्वेन्द्रलाल शुक्ला विजयी भए। २०५६ सालको चुनावमा सद्भावनाले दोस्रोपटक चुनाव जित्दा यज्ञजित शाह सांसद बनेका थिए।
२०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने। २०७० को अर्को संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रीक पार्टीका सर्वेन्द्रनाथ शुक्लले बाजी मारे।
२०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले पहिलोपटक मर्चवारमा झण्डा फहराउन पाएको थियो। हाल रुपन्देही क्षेत्र नम्बर ४ मा पर्ने मर्चवारमा कांग्रेसका प्रमोद यादव प्रतिनिधि सभा सदस्य बनेका थिए। भने दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको थियो। त्यसअघि भएको स्थानीय चुनावमा २ पालिकामा मधेशी जनअधिकार फोरम र एउटामा फोरम लोकतान्त्रिक विजयी भएका थिए।
यसरी मर्चवारमा चुनावैपिच्छे मतदाताको मन फेरिने गरेको छ। उनीहरुले फरक फरक पार्टी र उम्मेदवारलाई विजयी बनाएका हुन्छन्। मर्चवारमा पैसा र शक्तिको खेलले चुनावी नतिजा आउँछ भनिन्छ। कुनै भेगका ठूलो अगुवा वा जमिन्दार कता लाग्छन्, चुनावी परिणाम त्यतै मोडिन्छ पनि भन्ने चर्चा हुन्छ।
तर अहिले मर्चवारका मतदाता केही सचेत भएका छन्। उनीहरुले विकास गर्ने र जनताका दुःखसुखमा साथ दिने उम्मेदवारलाई जिताउने बताउने गरेका छन्। आफूले विवेक प्रयोग गरी मतदान गर्ने मर्चवारीका १ का स्थानीय रामवृक्ष केवटले बताए।
‘भोट माग्न यहाँ आइरहेका छन्। कसैको करकाप र दबाबमा परेर म भोट हाल्दिनँ’, आफ्नो मातृभाषामा उनले भने, ‘जसलाई मनले ठीक ठान्छ, उसैलाई भोट दिन्छु। चुनावमा धाँधली हुनुहुन्न भन्ने मलाई लाग्छ।’
यो पटक मन फेर्न परे पनि विवेक प्रयोग गरेर सही निर्णय गर्नुपर्छ भन्ने विचार केवट जस्तै धेरै मतदाताको छ।
मर्चवारमा मतदाताको मन मात्र फेरिने गरेको छैन, उम्मेदवार उभिने ठाउँ पनि परिवर्तन भइरहन्छ। अर्थात् उनीहरु दल फेरेर उम्मेदवार बनिरहन्छन्। यसको उदाहरण मर्चवारकै २ वटा पालिकाका अध्यक्षलाई लिन सकिन्छ।
पाँच वर्षअघि मर्चवारी गाउँपालिकामा केशवानन्द बानिया तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष बनेका थिए। अहिले उपेन्द्र यादवको कित्ता छाडेर उनी महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीबाट सोही पदको उम्मेदवार बनेका छन्। उपाध्यक्ष सुनिता कलावर पनि लोसपाबाट उम्मेदवार बनेकी छन्।
सम्मरीमाई गाउँपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला हाल नेकपा माओवादी केन्द्रबाट सोही पदमा उम्मेदवार बनेका छन्। यस बीचमा उनी एमाले र जनमत पार्टीमा पनि रहे।
कोटइमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले उपेन्द्र यादवको कित्ता नछाडे पनि उपाध्यक्ष भानमती बानिया जसपा छाडेर अहिले राप्रपाबाट पुनः उम्मेदवार बनेकी छन्।
मर्चवारबाट सांसद भएकाहरु पनि दल चाहार्ने गरेका छन्। २०५१ सालमा राप्रपाबाट सांसद भएका सर्वेन्द्रनाथ शुक्ला २०७० मा तमलोपाबाट विजयी भएका थिए। २०६० सालमा मधेशी जनअधिकार फोरमबाट संविधान सभा सदस्य भएका ओमप्रकाश यादव गुल्जारी बीचमा एमालेमा थिए। अहिले जसपामा गएका छन्। २०५१ सालमा कांग्रेसबाट उम्मेदवार बनेका यज्ञजित शाह २०५६ सालमा सद्भावना पार्टीबाट चुनाव जितेका थिए।
अघिल्लो चुनावको अंकगणित
संसदीय होस् वा स्थानीय– अहिलेसम्मको चुनावमा मर्चवारमा कम्युनिस्टहरुको प्रभाव देखिँदैन। विगतमा एमाले र माओवादीहरुलाई उम्मेदवारसमेत खोज्नुपर्ने अवस्था थियो भनिन्छ। तर अहिले आफूहरुको संगठन सुधार भएको दुवै दलले दाबी गर्ने गर्छन्।
२०४९ सालको स्थानीय चुनावमा मर्चवार क्षेत्रका धेरै गाविसमा राप्रपा र सद्भावना पार्टी विजयी भएका थिए। कांग्रेस थोरै ठाउँमा मात्र विजयी भएको थियो। २०५४ सालमा त्यसबेला मर्चवारमा पर्ने १८ गाविस ७ वटा गाविसमा कांग्रेसले जितेको थियो। बाँकी ठाउँ राप्रपा र सद्भावना पार्टी विजयी भएका थिए। २०५४ सालमा देशव्यापी रुपमा एमालेले जित्दा पनि मर्चवारमा भने पस्न सकेको थिएन।
स्थानीय तहको पुनःसंरचनापछि मर्चवारमा १८ गाविस पर्थे। अहिले ३ गाउँपालिकामा रुपान्तरण भएको छ।
२०७४ सालको स्थानीय चुनावमा मर्चवारको ३ गाउँपालिकामध्ये दुई वटामा तत्कालीन संघिय समाजवादी फोरम र एउटामा फोरम लोकतान्त्रिक विजयी भएको थियो। तीनवटै पालिकामा कांग्रेस दोस्रो स्थानमा थियो।
कोटइमाई गाउँपालिकामा अघिल्लो चुनावमा संघीय समाजवादी फोरमका चन्द्रभूषण यादवले ३ हजार ३११ मत ल्याएका थिए। कांग्रेसका बजेन्द्र जैसवालले ३ हजार ८०९ मत पाएका थिए। सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३ हजार ६६ मत प्राप्त गरेका थिए। कांग्रेसका विनोद श्रीवास्तवले २ हजार १९६ मत ल्याएका थिए। यहाँ उपाध्यक्षमा कांग्रेसकी प्रियंका सिंह विजयी भएकी थिइन्।
मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरमका केशवनन्द बानियाले ३ हजार ४०५ मत प्राप्त गरेका थिए। कांग्रेसका ज्ञानप्रकाश मिश्रले २ हजार १६४ मत पाएका थिए।
Shares
प्रतिक्रिया