स्थानीय निर्वाचनको लागि उम्मेदवार मनोनयनको अवधि दुई दिन भएपनि आइतबार बुटवल उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय सुनसान जस्तै थियो।
प्रमुख र उपप्रमुखमा जम्मा दुई दुई जनाको उम्मेदवारी दर्ता भएको थियो।
दोस्रो दिन सोमबार दिनभर जसो उपमहानगर परिसरमा चहलपहल थियो। १२ बजेतिर राप्रपाबाट प्रमुखमा मृगेन्द्र शेरचन र उपप्रमुखमा भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएका थिए।
साढे १२ बजे कांग्रेसका खेलराज पाण्डे जुलुससहित उम्मेदवारी दर्ता गर्न आए। उनको साथमा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि आएका थिए।
दिउसो साढे २ बजेतिर एमालेका प्रमुखका उम्मेदवार बाबुराम भट्टराईले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई अगाडि लगाएर मनोनयन दर्ता गर्न आएका थिए।
बुटवल उपमहानगर परिसर बाहिर दुवै दलका कार्यकर्ता जम्मा भएका थिए। माहोल हेर्न आउनेले कसको जुलुस ठूलो भन्दै चुनावी जित हारको अनुमान लगाएका थिए।
सोमबार साँझसम्म बुटवलको प्रमुख र उपप्रमुखमा १३–१३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत लेखनाथ भट्टराईले जानकारी दिए।
मनोनयन दर्ता प्रक्रिया बेलुकासम्म पनि चलिरहेकाले अझै थपिन सक्ने उनले बताए। मनोनयन दर्ता गर्न आएकासँग आवश्यक कागजात नभएकाले प्रक्रिया पुर्याएर आउन भन्दै निर्वाचन अधिकृतको कार्यालयले फर्काएको थियो।
‘डकुमेन्ट पुर्याएर नल्याएर दर्ता प्रक्रिया ढिला भइरहेको छ’ निर्वाचन अधिकृत पौडेलले भने।
Shares
प्रतिक्रिया