ad ad

राजनीति


सभापति देउवाकै गृहजिल्लामा कांग्रेसलाई चुनाव जित्न चुनौती

यस्ता छन् कारण
सभापति देउवाकै गृहजिल्लामा कांग्रेसलाई चुनाव जित्न चुनौती

गोकुल जोशी
बैशाख ११, २०७९ आइतबार १६:२६, महेन्द्रनगर

पाँच दलीय सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको निर्वाचन जित्न चुनौती थपिएको छ। 

सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँडका विषयमा उत्पन्न खटपट र कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लको असन्तुष्टिले देउवाकै गृहजिल्लामा कांग्रेसलाई २०७४ सालको विरासत जोगाउन कठिन देखिएको हो। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी प्रक्रिया सुरु भइसक्दा पनि डडेल्धुरामा सत्ता गठबन्धनका दलबीच तालमेल कायम रहने/नरहने अनिश्चित छ। 

सत्ता गठबन्धन कायम रहने सम्भावना कम हुँदै गएको नेकपा एकीकृत समाजवादीको डडेल्धुरा अध्यक्ष तारा जोशीले बताए।

‘औपचारिक रूपमा जिल्लामा दुईपटक गठबन्धनको बैठक बस्यो। तर केही ठोस सहमित हुन सकेन। माथि पठाएका छौँ’, उनले भने, ‘गठबन्धन हुन्छ/हुँदैन अब माथिकै भर छ।’

दुई नगरपालिका र पाँच गाउँपालिका गरेर कूल सात स्थानीय तह रहेको डडेल्धुरामा सत्ता साझेदार माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहमा आफूले उम्मेदवार उठाउन पाउनुपर्ने दाबी गरिरहेका छन्। 

२०७४ सालको चुनावमा चार स्थानीय तहमा प्रमुख–उपप्रमुख जितेको नेपाली कांग्रेस भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ती क्षेत्र नछाड्ने भनिरहेको छ। 

सातमध्ये पाँच स्थानीय तह नेपाली कांग्रेसले पाउनु पर्ने कांग्रेसको अडान छ। 

जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन धरापमा परेको हो। 

सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकामा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउद मेयर छन्। 

वि.सं. २०७४ मा परशुराम नगरपालिकामा माओवादी केन्द्र कांग्रेससँग झिनो मतान्तरले हारेको थियो। 

नेपाली कांग्रेसले भित्रीमधेस क्षेत्रको परशुराम नगरपालिकासहित ४ स्थानीय तहमा (भागेश्वर, गन्यापधुरा, आलिताल) प्रमुख, उपप्रमुख र नवदुर्गा गाउँपालिकामा उपप्रमुख पद जितेको थियो।

नेकपा एमालेले सदरमुकामको अमरगढी नगरपालिकामा प्रमुख, उपप्रमुखसहित नवदुर्गा गाउँपालिका प्रमुख पद जितेको थियो। तीमध्ये अहिले नवदुर्गा गाउँपालिकाका प्रमुख कवीन्द्र विष्ट र अमरगढी नगरपालिकाकी उपमेयर संगीता भण्डारी नेकपा एकीकृत समाजवादीमा छन्।

नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकाको प्रमुख, उपप्रमुख पद जितेको थियो। 

एकीकृत समाजवादी र माओवादी तालमेलको तयारी
सत्ता गठबन्धनका दलबीच सिट भागबन्डामा सहमति नभए नेपाली कांग्रेसबाहेक नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको तालमेल हुन सक्ने नेताहरू बताउँछन्। 

‘कांग्रेसभित्र आन्तरिक विवाद छ। भागबन्डामा हामीलाई बेवास्ता गरिए माओवादीसँग मिलेर जान सकिन्छ’, समाजवादीका एक नेताले भने, ‘यस्तो भयो भने पनि हामी ५/६ ठाउँमा जित्न सक्छौं।’

कांग्रेसमा मल्ल पक्षको ‘विद्रोह’ 
क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट डडेल्धुराका प्रदेश सांसद तथा पूर्व सभापति कर्ण मल्ल पक्षले कांग्रेसमा ‘विद्रोह’को तयारी गरेको छ। यस्तो अवस्थामा गठबन्धन नभएर कांग्रेसले एक्लै चुनाव लड्नुपरेमा गाह्रो पर्ने नेताहरूको आकलन छ। 

‘मल्लजी बाहिरिनुभयो भने केही शक्ति त अवश्य पनि क्षति हुन्छ’, कांग्रेसका एक नेताले भने, ‘यस्तो अवस्थामा गठबन्धन पनि भएन भने गठबन्धनका अन्य दलहरू पनि मिल्न सक्छन्। यसरी कांग्रेस घेराबन्दीमा पर्न सक्छ।’

डडेल्धुरा कांग्रेसमा समानान्तर गतिविधिलाई तीव्रता दिएको मल्ल पक्षले पार्टीबाट बाहिरिएर सातवटै स्थानीय तहमा चुनाव लड्ने उनी निकट एक नेताले बताए। 

‘हामी नेपाली कांग्रेस (बीपी) को चुनाव चिह्न करुवाबाट चुनाव लड्दै छौँ। भोलि उम्मेदवारी दर्ता हुन्छ’, ती नेताले भने, ‘केही ठाउँमा एमाले, केही ठाउँमा समाजवादी र केही ठाउँमा स्वतन्त्र उम्मेदवारसँग तालमेल हुन्छ।’

उता नेपाली कांग्रेस डडेल्धुरा कार्यबाहक सभापति डिल्लीराज जोशी कांग्रेस डडेल्धुरामा एक्लै चुनाव जित्न सक्षम रहेको दाबी गर्छन्।
‘डडेल्धुरा कांग्रेसको गढ हो। हामी एक्लै चुनाव जित्न सक्छौँ’, उनले भने, ‘असन्तुष्टहरू पनि धेरैजसो हामीसँगै आइसकेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .