ad ad

राजनीति


धनगढीमा एमालेका उम्मेदवार : विद्यार्थी राजनीतिबाट उदाएका चन्द, पूर्वशिक्षिका राना

धनगढीमा एमालेका उम्मेदवार : विद्यार्थी राजनीतिबाट उदाएका चन्द, पूर्वशिक्षिका राना

फाइल तस्बिर


गोकुल जोशी
बैशाख ११, २०७९ आइतबार १३:२८, कञ्चनपुर

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका धनगढीको मेयरमा नेकपा एमालेले रणबहादुर चन्दलाई अघि सारेको छ। एमालेले उपमेयरमा कन्दकला रानाथारुलाई उठाउने निर्णय गरेको छ। 

सत्ता गठबन्धन र मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालविरुद्ध एमालेले धनगढीमा मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार बनाएको हो।

विद्यार्थी राजनीतिबाट उदाएका चन्द
एमालेले धनगढीको मेयर पदमा उम्मेदवार बनाएका चन्द विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीति प्रवेश गरेका हुन। 

वि.सं. २०४० सालमा कक्षा ९÷१० मा अध्ययन गर्दा कैलालीको पञ्चोदय उच्च माध्यमिक विद्यालयको अनेरास्ववियुको माध्यमिक विद्यालय कमिटी अध्यक्ष रहेका थिए।

त्यसपछि चन्दले कैलाली बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दा क्याम्पसका विभिन्न कमिटीको नेतृत्व गरे। त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै अध्यक्षसम्म बनेका थिए।

उनको विद्यार्थी राजनीति जिल्ला तहमा मात्रै सीमित रहेन। अनेरास्ववियुको कैलाली अध्यक्ष पछि उनी अनेरास्ववियुको सेती अञ्चल सदस्य हुँदै अध्यक्षसम्म भए। 

यसै क्रममा विद्यार्थी नेता चन्दले पार्टीको मूलधारको संरचनामा पनि प्रवेश पाए।  एमाले धनगढीको नगर कमिटी सदस्यपछि उनले दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हाले। त्यसबेला सचिव नै प्रमुख हुने व्यवस्था थियो।

उनले एमाले धनगढी नगर कमिटीको इन्चार्जको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

नगर कमिटीपछि जिल्लामा कमिटीमा प्रवेश पाएका चन्दले एमाले कैलालीको सदस्य, सचिव हुँदै उपाध्यक्षको जिम्मेवारी पनि सम्हाले।

केही महिना अगाडि सम्पन्न एमाले कैलाली अधिवेशनमा अध्यक्ष पदमा चुनाव लडेका चन्द ४ मतको झिनो अन्तरले पराजित भए।

अहिले उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन विभागका सदस्य छन्।

कन्दकला राना
एमालेले उपमेयरमा अघि सारेकी राना वि.सं. २०६३/०६३ देखि राजनीतिमा लागेकी हुन्। 

धनगढी उपमहानगरपालिका–८ की राना पूर्व शिक्षिका समेत हुन्। उनले धनगढी नमूना माध्यमिक विद्यालयमा प्राथमिक विद्यालय तहमा ४ वर्ष शिक्षण पेशामा संलग्न भएकी थिइन्।

राना एमालेको टोल कमिटी सदस्य, अध्यक्षदेखि, वडा कमिटी हुँदै नगर कमिटी सदस्यसम्म बनिन्। 

आदिवासी जनजाति समुदायकी नेतृत्वकर्ता रानाले एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ धनगढी नगर कमिटी उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिन्।

‘सानैदेखि नेतृत्व गर्न मन पराउँथे। यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध भए,’ उनले भनिन्, ‘आदिवासी जनजाति समुदायको नेतृत्व गरेर हाम्रा मुद्धा स्थापित गर्न सक्रिय छु।’

उनी नेपाल रानाथारु, आदिवासी जनजाति महासंघ लगायत संगठनमा आवद्ध रहेर आदिवासी जनजाति समुदायको नेतृत्वकर्ता रुपमा रहेकी छिन्।

एमालेबाट धनगढीको उपमेयरको टिकट पाएकी राना अहिले नेकपा एमाले कैलालीको सदस्य छिन्। केही महिना अगाडि भएको अधिवेशनमा सदस्यमा चुनाव लडेकी उनी विजयी भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .