२०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेबाट बुटवलको मेयरको मुख्य दाबेदारका रुपमा बाबुराम भट्टराई र गोपाल रानाकै चर्चा हुन्थ्यो।
२०७४ सालको चुनावमा बलिया दाबेदार दुवैले टिकट पाएनन्। एमालेका तत्कालीन जिल्ला अध्यक्ष शिव सुवेदीले उमेदवार बन्ने सौभाग्य पाए र जिते पनि ।
सुवेदीको ५ वर्षे कार्यकालको प्रशंसाभन्दा धेरै आलोचना भयो। विशेषगरि बुटवलको मुख्य सडकको अवस्थाले उनीप्रति उपमहानगरबासीको क्रेज घटेको थियो।
पार्टीभित्र वा बाहिर सुवेदीले अब टिकट पाए पनि जित्दैनन् भन्ने चर्चा हुने गरेको थियो।
त्यसबाहेक नागरिकका कुरा सुन्नभन्दा बढी अर्ति दिने, दाङमा राजधानी घोषणा हुँदा सडकमा नआएको लगायतले उनी आलोचित थिए।
यस पटक सुवेदी पनि मेयरको सिफारिसमा परे पनि अघिल्लो चुनाव जस्तै भट्टराई र रानामध्ये एकले टिकट पाउने चर्चा थियो।
राना विष्णु पौडेलको पहिलो रोजाइमा पर्दथे। पौडेलको निर्वाचन क्षेत्रमा उनीनिकट राना मेयरको उमेदवार बन्छन् भन्ने चर्चा चल्ने गरेको थियो। युवा पुस्ताका रानाले मत तान्न सक्छन् भन्ने गरिन्थ्यो।
अर्कोतर्फ रानालाई विष्णु पौडेलभन्दा अरुले नेता गन्दैनन्। भट्टराईले नै टिकट पाउँछन् भन्ने चर्चा पछिल्ला दिनमा सुनिन्थ्यो।
भट्टराईलाई बौद्धिक र परिपक्व नेता मान्ने गरिन्छ। एमालेले बुटवलमा उपमेयरको टिकट सावित्रा अर्याललाई दिएको छ।
नभन्दै एमाले लुम्बिनी प्रदेश सदस्य बाबुराम भट्टराईले नै बुटवलको मेयरको टिकट हात पारे। एमालेको सुरुवाती परीक्षा पास गरेका उनले वैशाख ३० को फाइनल परीक्षामा के गर्लान्? विस्तारै थाहा होला।
बाबुरामका दाजु गोपाल भट्टराई २०३० साल तिरैबाट राजनीतिमा लागेका थिए।
१० वर्ष कान्छा भाइ बाबुरामले दाइको राजनीति नियाल्ने मौका पाए। दाइ गोपाल हाल राष्ट्रिय सभा सांसद छन्।
हेल्थ असिस्टेन्ट पढेका बाबुरामले पञ्चायतकालमा लुम्बिनी अञ्चल (हालको प्रादेशिक) अस्पतालमा जागिर खाए।
२०५४–५५ तिर जागिर छोडेर आफ्नै औषधि व्यवसाय थाले। एमालेको राजनीतिमा पनि सक्रिय हुँदै गए।
२०६१ देखि २०६३ सम्म लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष पनि भए।
एमाले जिल्ला कमिटी सदस्य र २ कार्यकाल केन्द्रीय स्वास्थ्य विभाग सदस्य भएका उनी हाल प्रदेश कमिटी सदस्य छन्।
व्यवसायतर्फ नेपाल औषधि व्यावसायी संघको केन्द्रीय अध्यक्षसम्म उनी भइसकेका छन्।
मेयर जितेमा भट्टराईले बुटवललाई नमुना शहर बनाउने नेपालखबरलाई बताएका छन्।
उपमेयर
मेयर जस्तै उपमेयरमा पनि एमालेले नयाँ उमेदवार अघि सारेको छ।
उपमेयरमा अघि सारिएकी सावित्रा अर्याल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छिन्।
२०४९ को स्थानीय चुनावमा उनी बुटवलको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन्।
उनी २०५४ मा वडा सदस्यमा निर्वाचित भएकी थिइन्।
सामाजिक क्षेत्रमा लागेकी उनकै पहलमा बुटवलमा साधना महिला विद्यालय स्थापना भएको थियो।
महिलाहरुले चलाएको सामुदायिक रेडियो मुक्तिकी पूर्वअध्यक्ष पनि हुन्।
अघिल्लो स्थानिय चुनावमा गोमा आचार्यसँगै उनको पनि उपमेयरको रुपमा चर्चा थियो।
यस पटक उपमहानगरबाट मेयर सिफारिस भएका ८ जनामा नाम परेको भएपनि उपमेयरको टिकट हात पारेकी छन्।
Shares
प्रतिक्रिया