बझाङमा स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनले मिलाएको भागबन्डाप्रति नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ।
सत्तारुढ दलको जिल्ला तहले सहमति गरेको भागबन्डामा कांग्रेसको तल्ला तहले असहमति जनाउँदै गठबन्धन नमान्ने भन्दै ‘बागी उम्मेदवारी’ दिने तयारी गरेका छन्।
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्र भागबन्डाको विषयलाई लिएर असन्तुष्टि चुलिएको हो।
पालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेसको तलकोट र थलारा गाउँ समितिले विरोध जनाएका छन्।
उनीहरुले गठबन्धनले निर्णय नसच्याइए प्रमुख पदमा गठबन्धन बाहिरिएर उम्मेदवारी दिने निर्णय नै गरेका छन्।
‘हामीसँग २६÷२७ सय मत छ। अघिल्लो चुनावमा हामी ६४ मतले मात्रै हारेका थियौँ,’ कांग्रेस तलकोट गाउँ पालिका कार्यसमितिका सभापति लोकेन्द्र बहादुर सिंहले भने ‘१ सय
५० मत पनि नभएको पार्टीलाई प्रमुखको उम्मेदवार दिने निर्णय हामीलाई मान्य छैन। यो कुरा नसच्याए हामी सबै पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिसकेका छौं।’
यस्तै थलारा गाउँपालिका कार्यसमितिका सभापति दिलबहादुर सिंहले पनि गठबन्धनको निर्णय नमान्ने बताउँदै एकल उम्मेदवारी दिनका लागि उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुगेको उनले बताए।
‘हामीले कार्यकर्ता र मतदातालाई कन्भिन्स गर्नै नसक्ने गरी गठबन्धनले निर्णय गरेको छ। कार्यकर्ताहरु हामीमाथि खनिन थाले’ उनले भने ‘ हामी एकल रुपमा लड्ने तयारीमा छौँ।’
यस्तै दुर्गाथली गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुङगल नगरपालिकामा पनि कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
वित्थडचिर गाउँपालिकाको वडा नम्बर १ र २ मा पनि नेपाली कांग्रेस भित्रबाट गठबन्धन विरुद्ध बागी उम्मेदवारीको तयारी गरिएको छ।
‘जिल्लाले एकलौटी हिसाबले गरेको निर्णय हामीलाई मान्य छैन। समाजवादीका लागि भोट माग्न सक्दैनौँ,’ वित्थडचिर गाउँपालिका वडा नम्बर २ का सभापति गणेश बोहराले भने, ‘समाजवादीलाई भोट दिए कांग्रेस सकिन्छ। हामी टीम बनाएर नै छुट्टै उम्मेदवारी दिन्छौँ।’
उता नेपाली कांग्रेस वित्थडचिर गाउँ कार्यसमितिका अध्यक्ष चक्र अधिकारीले जिल्लाले गरेको निर्णय इमान्दारपूर्वक पालना गर्नु पर्ने बताउँछन्।
‘वित्थडचिरमा गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने भनेर जिल्लालाई पत्र पठाएका थियौँ। तर जिल्लाले गठबन्धन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टीको माथिल्लो तहले गरेको निर्णय कार्यकर्ताले अनुशासित ढङ्गले पालना गर्नु पर्छ।’
सत्ता गठबन्धन बैठक बझाङमा १२ स्थानीय तहमध्ये ७ नेपाली कांग्रेसलाई, ३ नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ।
नेपाली कांग्रेसको भागमा जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका परेको छ।
यस्तै, एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका पाएको छ।
माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसले ६, समाजवादीले २ र माओवादी केन्द्रले ४ पाएको छ।
Shares
प्रतिक्रिया