ad ad

राजनीति


सुदूरपश्चिम: सत्ता गठबन्धनलाई भागबन्डा मिलाउन, एमालेलाई उम्मेदवार छान्न सकस

सुदूरपश्चिम: सत्ता गठबन्धनलाई भागबन्डा मिलाउन, एमालेलाई उम्मेदवार छान्न सकस

गोकुल जोशी
बैशाख १०, २०७९ शनिबार १५:९, महेन्द्रनगर

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धनका दलमध्ये सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भागबन्डा मिलाउन सकस परेको छ। 

गठबन्धनको जिल्ला तहले भागबन्डा मिलाउन नसकेपछि प्रदेशको तहलाई डाकेको छ। तर प्रदेशस्तरमा सत्ता गठबन्धनमा आबद्ध दलबीच लगातार छलफल भए पनि  पनि सिट बाँडफाँडमा सहमति जुट्न सकेको छैन। 

आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकै आइसक्दा पनि सत्ता यहाँ गठबन्धनका दलले अझै निचोड निकाल्न नसकेका हुन्। 

गठबन्धनमा रहेका दलले आआफ्ना दाबी नछाड्दा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए। 

‘दलहरुको आआफ्नै दाबी छन्। त्यसैले सहमति जुट्न सकेको छैन’, ती नेताले भने, ‘हामी छलफलमा छौं।’

९ जिल्ला रहेको सुदूरपश्चिममा अहिलेसम्म दाचुर्ला र बझाङमा मात्रै गठबन्धनका दलबीच सिट भागबन्डामा सहमति जुटेको छ। 
दार्चुलामा नेकपा एकीकृत समाजवादीलाई एक्ल्याएर कांग्रेस र माओवादी केन्द्रले मात्र गठबन्धन गरेका छन्। ९ स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको प्रमुख पदमा कांग्रेस र ४ वटाको प्रमुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको छ।

यस्तै २ वटा पालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले र ७ वटाको उपप्रमुख पदमा कांग्रेसले उम्मेदवारी दिनेगरी दुई दलले सहमति गरेपछि एकीकृत समाजवादीका नेता असन्तुष्ट भएका छन्। 

यस्तै १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरिएको छ। 

कञ्चनपुर, कैलालीलगायत अन्य जिल्लाको भागबन्डा गर्न पार्टीका जिल्ला तहले सहमति जुटाउन नसकेपछि प्रदेश तहलाई गुहारिएको छ। 

‘हामीले यता सहमति गर्न सकेनौँ। जिल्लाको सत्ता गठबन्धनमा प्रस्तुत गरेका दाबीहरुलाई प्रदेशमा पठाएका छौँ’, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले भने।

एमालेलाई उम्मेदवार छान्न सकस
पलिका प्रमुख र उपप्रमुखका लागि आकांक्षी धेरै हुँदा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीलाई पनि उम्मेदवार छान्न गाह्रो भइरहेको छ। 

जिल्ला कमिटीले पालिका प्रमुख उपप्रमुखका लागि सिफारिस गरेका आकांक्षी बढी हुँदा तीमध्ये एक जना उम्मेदवार छान्न एमालेलाई सकस परेको हो। 

उम्मेदवारको सूची टुङ्ग्याउन जिल्ला कमिटीले सिफारिस गरेका आकांक्षीको नामावली बोकेर प्रदेशका एमाले नेताहरुको टोली काठमाडौँ गएको छ। 

‘जिल्ला कमिटीले आकांक्षीको नामावली पठाइसकेको छ। तर आकांक्षी बढी हुँदा उम्मेदवार टुङ्ग्याउन सकिएको छैन’, एमालेका एक नेताले नेपालखबरसँग भने, ‘आकांक्षी बढी हुँदा विवाद उत्पन्न हुन सक्ने भएकाले केन्द्रमा छलफल गर्न लागिएको हो।’

उता नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले उम्मेदवारको नाम टुङ्गो लागिसकेको बताउँदै शनिबारसम्ममा नामावली सार्वजनिक गरिने दाबी गरेका छन्। 

‘सबै ठाउँको उम्मेदवारी लगभग निक्र्यौल भएको छ, शनिबार नाम सार्वजनिक गरिन्छ,’ उनले भने, ‘धनगढीबाहेक अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .