ad ad

राजनीति


कांग्रेस र माओवादी नमिल्दा देउवाको गृहजिल्लामै संकटमा गठबन्धन

कांग्रेस र माओवादी नमिल्दा देउवाको गृहजिल्लामै संकटमा गठबन्धन

फाइल तस्बिर


गोकुल जोशी
बैशाख ९, २०७९ शुक्रबार १३:११, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सत्ता गठबन्धन संकटमा परेको छ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पालिका बाँडफाँटमा सहमति नजुटेपछि गठबन्धन धरापमा परेको हो। 

डडेल्धुराको सत्ता गठबन्धनले पालिका बाँडफाँटमा सहमति जुटाउन नसकेपछि प्रदेशस्तरमा छलफल अगाडि बढाइएको छ।

सत्ता गठबन्धनलाई कायम रहने सम्भावना कम हुँदै गएको नेकपा एकीकृत समाजवादीका डडेल्धुरा अध्यक्ष तारा जोशीले बताए।

‘औपचारिक रुपमा जिल्लामा दुई पटक गठबन्धनको बैठक बस्यो। तर केही ठोस सहमति हुन सकेन। कांग्रेसले मोडालिटी नै ल्याएन,’ उनले भने, ‘हाम्रो मोडालिटीमा कुनै चासो देखाएन। गठबन्धन कायम रहने-नरहने निश्चित छैन।’

उनका अनुसार जिल्लाको सत्ता गठबन्धनको बैठकले कुनै भागबन्डा मिलाउन नसके पछि प्रदेशस्तरको जिम्मा लगाइएको छ। 

‘हामीले गठबन्धनलाई अगाडि बढाउन सकेनौँ। सत्ता नेतृत्वकर्ता कांग्रेस सभापतिकै जिल्लामा गठबन्धन हुनुपर्ने सबैको कुरा हो,’ उनले भने, ‘तर हामीले सकेनौँ। अब प्रदेश र केन्द्रबाट जे हुन्छ।’

उता नेपाली कांग्रेसका कार्यवाहक सभापति डिल्लीराज जोशी गठबन्धन गर्ने नगर्ने भने कुनै निष्कर्षमा नपुगेको बताउँछन्। ‘हामी छलफलमै छौँ। गठबन्धन गर्ने नगर्ने कुनै निष्कर्षमा पुगिएको छैन।’ उनले भने।

दुई नगरपालिका र पाँच गाउँपालिका गरेर कूल सातवटा स्थानीय तह रहेको डडेल्धुरामा सत्ता साझेदार माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहमा आफूले उम्मेदवार उठाउन पाउनुपर्ने दाबी गरिरहेका छन्। 

२०७४ सालको चुनावमा चार स्थानीय तहमा प्रमुख-उपप्रमुख जितेको नेपाली कांग्रेस भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ती क्षेत्र नछाड्ने भनिरहेको छ। 

सातमध्ये पाँच स्थानीय तह नेपाली कांग्रेसले राख्ने डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशी बताउँछन्। 

‘डडेल्धुरा कांग्रेसको गढ हो। त्यसैले उहाँहरूले मागेजति दिन सक्ने सम्भावना छैन’, उनले भने, ‘जितेका ५ स्थानीय तह हामी राख्छौँ।’

जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसक्ने निष्कर्षमा जिल्ला नेताहरु पुगेका छन्। 

सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकामा कांग्रेसका जिल्ला सभापति भीम बहादुर साउद मेयर छन्। 

वि.सं. २०७४ सालमा परशुराम नगरपालिकामा माओवादी कांग्रेससँग झिनो मतान्तरले हारेको थियो। 

नेपाली कांग्रेसले भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकासहित ४ स्थानीय तहमा (भागेश्वर, गन्यापधुरा, आलिताल) प्रमुख, उपप्रमुख र नवदुर्गा गाउँपालिकामा उपप्रमुख पद जितेको थियो।

नेकपा एमालेले सदरमुकामको अमरगढी नगरपालिकामा प्रमुख, उपप्रमुखसहित नवदुर्गा  गाउँपालिका प्रमुख पद जितेको थियो। तीमध्ये अहिले नवदुर्गा गाउँपालिकाका प्रमुख कविन्द्र विष्ट र अमरगढी नगरपालिकाकी उपमेयर संगीता भण्डारी नेकपा एकीकृत समाजवादीमा छन्।

नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकाको प्रमुख, उपप्रमुख पद जितेको थियो। डडेल्धुरामा गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको उपस्थिति कमजोर छ।

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्र असन्तुष्ट पूर्वसभापति कर्ण मल्ल पक्षले ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ। 

कूल ५२ वटा वडा रहेको डडेल्धुरामा २०७४ सालको चुनावमा नेकपा एमाले १९, नेपाली कांग्रेसले १७ र माओवादी केन्द्रले १६ वडामा विजय प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .