ad ad

राजनीति


कांग्रेससँग कुरा नमिल्दा माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनको तयारी

कांग्रेससँग कुरा नमिल्दा माओवादी केन्द्र–एकीकृत समाजवादी गठबन्धनको तयारी

कञ्चनपुर : बायाँबाट क्रमशः नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष खेमराज पाण्डे, र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जीवन थापा।


गोकुल जोशी
बैशाख ८, २०७९ बिहिबार १०:२५, महेन्द्रनगर

कञ्चनपुरमा आसन्न स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ। सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको अडानले कञ्चनपुरमा स्थानीय तह भागबन्डमा सकस भएको हो। 

केन्द्रमा भएको सहमतिअनुसार कञ्चनपुरमा पाँच दलले चुनावी तालमेलका लागि पालिका भागबन्डा टुंग्याउन सकेका छैनन्। 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेता रमेश लेखक र एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा सत्ता साझेदार दलबीच नियमित छलफल भइरहे पनि भागबन्डाको विषयमा सहमति जुट्न सकेको छैन। 

नौ स्थानीय तह रहेको कञ्चनपुरमा कांग्रेसले पाँचवटामा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख पदमा उम्मेदवार बनाउने खाका बनाइएकाे छ। तर यसमा पछिल्ला दुई दल मानिरहेका छैनन्। 

नेकपा माओवादी केन्द्रले जितेको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटासहित ४ स्थानीय तह दाबी गरेको छ। 

‘हामीले २ स्थानीय तह त अघिल्लो चुनावमा जितेका थियौँ। त्यो बाहेक कृष्णपुर र शुक्लाफाँटामा पनि हाम्रो दाबी हो’, माओवादी केन्द्रका एक नेताले नेपालखबरसँग भने, ‘यीमध्ये एउटा मात्रै हामीले पाए पनि सहमति हुन्छ। तर कांग्रेसले मानेको छैन।’

यस्तै नेकपा एकीकृत समाजवादीले पुनर्वास नगरपालिका, वेदकोट नगरपालिकासहित एक गाउँपालिकामा दाबी गरेको छ। 

‘दुई पालिकामा त अहिले प्रमुख हाम्रो छन्’, एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले भने, ‘एउटा अर्को गाउँपालिका हामीले मागेका हौँ। त्यसैमा सहमति हुन सकेको छैन।’

वि.सं. २०७४ को चुनावमा दुई स्थानीय तहमा मात्रै प्रमुख पद जितेको नेपाली कांग्रेसले भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका र बेलडाँडी गाउँपालिकामा दाबी गरेको छ।

‘४–३–२ मा सहमति जुट्ने सम्भावना छ। तर क्षेत्र नम्बर १ को कुनै पनि स्थानीय तह नपाउँदा त्यहाँ साथीहरु रुष्ट भइरहेका छन्’, कांग्रेसका एक नेताले भने, ‘छलफल जारी छ। एक/दुई दिनमा भागबन्डा टुंगिन्छ।’

कञ्चनपुरमा सत्ता साझोदार राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको उपस्थिति भने कमजोर छ।

‘माओवादी र समाजवादीको गठबन्धन’
स्थानीय तह भागबन्डामा सहमति नजुटेपछि कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छुट्टै गठबन्धनका लागि जुटेका छन्। उनीहरुले गठबन्धनको खाका बनाएरै आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

कञ्चनपुरमा सत्ता गठबन्धनमा नेपाली कांग्रेससंग सहमति नभए माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जाने एकीकृत समाजवादीका एक नेता बताउँछन्। 

‘पालिका बाँडफाँडमा कांग्रेससँग कुरा नमिले हामीहरु मिलेर जाने कुरा भएको छ’, ती नेताले भने, ‘माओवादी केन्द्र ५ र समाजवादी ४ स्थानीय तह लिएर चुनावमा जानेमा सहमति बनेको छ।’

उनका अनुसार कांग्रेस बाहेकको गठबन्धन भएमा माओवादी केन्द्रले भीमदत्त, बेलौरी, लालझाडी, कृष्णपुर तथा दोधाराचाँदनी र बेलडाँडीमध्ये एक र एकीकृत समाजवादीले पुनर्वास, वेदकोट, शुक्लाफाँटा तथा दोधाराचाँदनी र बेलडाँडीमध्ये एक स्थानीय तह लिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .