वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनीका गठबन्धन दलहरुबीच मिलेर जाने सहमति भएको थियो। जस अनुसार चैतको अन्तिम साताबाट उनीहरुले निरन्तर जसो छलफल गरिरहेका छन्।
एकपछि अर्को समिति र कार्यदल बनेपनि कुरा मिल्न सकेको छैन। जिल्लाहरुमै गठबन्धनबारे कुरा मिल्न नसकेपछि गठबन्धनको बैठकले अनुगमन संयन्त्र बनाएको थियो। संयन्त्रलाई जिल्लामा सहजीकरण गर्ने जिम्मा दिइएको थियो।
सोमबार बसेको गठबन्धनको बैठकमा पालिकाहरुको भागबण्डामा छलफल भएको थियो। त्यहाँ कुरा मिल्न नसकेपछि टुंग्याउन कार्यदल बनाइएको थियो। मंगलबार बसेको कार्यदलको बैठकमा ४ दलले कांग्रेससँग पालिका प्रमुखमा आ–आफ्नो दाबी राखेका थिए।
गठबन्धनका एक सदस्यका अनुसार माओवादी केन्द्रले ४० वटा पालिका प्रमुख मागेको छ। उपप्रमुख भने उसले खुलाएको छैन।
जनता समाजवादी पार्टी जसपाले २४ पालिका प्रमुख २५ उपप्रमुख, नेकपा एकीकृत समाजवादीले एमालेले जितेको आधा पालिका प्रमुख आफूले पाउनुपर्ने बताउँदै आएको छ। कम्तिमा २१ पालिका प्रमुखमा उसको दाबी छ।
राष्ट्रिय जनमोर्चाले ३ या ४ पालिका प्रमुख मागेको छ। तराइमा पालिका प्रमुख दाबी गरेको जसपाले पहाडी क्षेत्रमा भने उपप्रमुख पाउनुपर्ने माग गरेको छ।
कांग्रेसले भने आफूले यती राख्ने भन्नेबारे केही भनेको छैन। एमाले पछि सबैभन्दा धेरै पालिका जितेको र धेरै ठाउँमा मुख्य प्रतिस्पर्धी भएको कांग्रेससँग अरुले बार्गेनिङ गरिरहेका छन्।
लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन्। अघिल्लो चुनावमा ४३ पालिका प्रमुख एमालेले जितेको थियो। कांग्रेस ३३ स्थानमा विजयी भएको थियो। माओवादी केन्द्रले १९ पालिका जितेको थियो। १० वटा जति जसपा र मधेशवादी दलसम्बद्ध उम्मेदवारले जितेका थिए।
१०९ पालिकामध्ये ८० बढी पालिका अन्य दलले दाबी गरेपछि कांग्रेसलाई मिलाउन सकस परेको छ।
‘उहाँहरुले दाबी गरे जति दिने हो भने कांग्रेसलाई बच्न गाह्रो छ। २०–२५ ठाउँमा सिमित हुनुपर्छ’ कांग्रेसका एक नेताले भने।
कांग्रेस र माओवादीबीच भागबण्डा मिलिसकेको गुल्मी लगायत जिल्लामा जसपा, एकीकृत समाजवादी र जनमोर्चाले उपमेयर माग्दा पनि समस्या भएको छ।
रुकुम रोल्पा जस्ता जिल्लामा कांग्रेस र माओवादी केन्द्रले आ आफ्नो दाबी छोडेका छैनन्।
तराई जिल्लाका पालिकामा कांग्रेस र जसपाले आफ्नो दाबी नछोड्दा कुरा मिल्न सकेको छैन। प्रदेशका ४ उपमहानगर मध्ये नेपालगञ्जमा जसपाले दाबी गरेको छ।
घोराहीमा माओवादी र एकीकृत समाजवादी दुवैको दाबी छ। कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले अरु दलको माग स्वभाविक भएको तर आफूहरु छलफल गरेर सहमतिमा पुग्ने कोशिस गर्ने बताए।
‘अघिल्लो चुनावमा कांग्रेसले जितेका ठाउँमा हाम्रो दाबी स्वभाविक भइहाल्यो। दोस्रो स्थान आएकोमा पनि केन्द्रीय सहमति अनुसार हाम्रो दाबी हुन्छ’ उनले भने, ‘बाँकी ठाउँमा जहाँ जसको सम्भावना छ। त्यहाँ मिलाएर गरौं भन्ने हाम्रो प्रस्ताव छ। नमिलेको र गठबन्धनले जित्ने ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ।’
Shares
प्रतिक्रिया