ad ad

राजनीति


देउवाकै गृहजिल्लामा मिलेन भागबन्डा, सत्तारुढ ३ दल आआफ्नै अडानमा

देउवाकै गृहजिल्लामा मिलेन भागबन्डा, सत्तारुढ ३ दल आआफ्नै अडानमा

फाइल तस्बिर: खगराज भट्ट, माओवादी केन्द्र, सुदूरपश्चिम इन्चार्ज (बायाँ), भीम बहादुर साउद, कांग्रेस सभापति (बीच) र तारा जोशी, एकीकृत समाजवादी अध्यक्ष (दायाँ)


गोकुल जोशी
बैशाख ३, २०७९ शनिबार १५:३१, महेन्द्रनगर

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनका दलबीच स्थानीय तहको उम्मेदवारीमा भागबन्डाको विषय पेचिलो बनेको छ। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलले डडेल्धुरामा सिट बाँडफाँट गर्न सकेका छैनन्।

डडेल्धुरामा सक्रिय सत्ता गठबन्धनभित्रका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अडानले सहमति हुन गाह्रो देखिन्छ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरेर कूल सातवटा स्थानीय तह रहेको डडेल्धुरामा सत्ता साझेदार माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहमा आफूले उम्मेदवार उठाउन पाउनुपर्ने दाबी गरिरहेका छन्। 

२०७४ सालको चुनावमा चार स्थानीय तहमा प्रमुख–उपप्रमुख जितेको नेपाली कांग्रेस भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ती क्षेत्र नछाड्ने भनिरहेको छ। 

सातमध्ये पाँच स्थानीय तह नेपाली कांग्रेसले राख्ने डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशी बताउँछन्। ‘डडेल्धुरा कांग्रेसको गढ हो। त्यसैले उहाँहरूले मागेजति दिन सक्ने सम्भावना छैन’, उनले नेपालखबरसँग भने, ‘जितेका ५ स्थानीय तह हामी राख्छौं।’

डडेल्धुरामा माओवादी केन्द्रले तीन स्थानीय तहमा दाबी गरेको छ। ‘हाम्रो बटम लाइन ३ हो। जितेको अजयमेरु, झिनो अन्तरले हारेको परशुराम र आलिताल हामीले पाउनुपर्छ’, माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेपालखबरसँग भने, ‘त्यति बेला हामी एकताबद्ध थिएनौं। त्यसैले झिनो अन्तरले हार्नुप¥यो।’

आसन्न स्थानीय तहको चुनावमा झिनो मतान्तरले हारेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाकोे नेतृत्व यसपटक माओवादी केन्द्रले नछाड्ने जिकिर गरिरहेको छ। 

नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहको प्रमुखमा दाबी गरेको उक्त पार्टीका डडेल्धुरा जिल्ला अध्यक्ष तारा जोशी बताउँछन्। ‘नवदुर्गा, आलिताल, गन्यापधुरा र अमरगढीमा उपस्थिति बलियो छ’, उनले भने, ‘तीमध्ये दुई ठाउँको नेतृत्वमा दाबी हो।’

कांग्रेस र माओवादी केन्द्रलाई ३/३ र एकीकृत समाजवादीलाई १ स्थानीय तह गरेर भागबन्डा हुनसक्ने गठबन्धनमा आबद्ध माओवादी केन्द्रका नेता बताउँछन्।

नेपाली कांग्रेसले मागअनुसारका स्थानीय तह दिन आनाकानी गरे माओवादी केन्द्रसँग मिलेर चुनावमा जान सकिने एकीकृत समाजवादीका एक नेताले बताए। ‘कांग्रेसभित्र आन्तरिक विवाद छ। भागबन्डामा हामीलाई बेवास्ता गरिए माओवादीसँग मिलेर जान सकिन्छ’, ती नेताले नेपालखबरसँग भने, ‘यस्तो भयो भने पनि हामी ५÷६ ठाउँमा जित्न सक्छौं।’
उता माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्ट भने गठबन्धन बाहिर अन्य दलसँग तालमेल नहुने बताउँछन्। ‘गठबन्धन बाहिर

तालमेल नगर्ने भनेका छौं। जे हुन्छ गठबन्धनभित्रै हुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूको ठाउँ भएकाले पनि भागबन्डाको विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ।’

नेपाली कांग्रेसले भित्रिमधेश क्षेत्रको परशुराम नगरपालिकासहित ४ स्थानीय तहमा (भागेश्वर, गन्यापधुरा, आलिताल) प्रमुख, उपप्रमुख र नवदुर्गा गाउँपालिकामा उपप्रमुख पद जितेको थियो।

नेकपा एमालेले सदरमुकामको अमरगढी नगरपालिकामा प्रमुख, उपप्रमुखसहित नवदुर्गा  गाउँपालिका प्रमुख पद जितेको थियो। तीमध्ये अहिले नवदुर्गा गाउँपालिकाका प्रमुख कवीन्द्र विष्ट र अमरगढी नगरपालिकाकी उपमेयर संगीता भण्डारी नेकपा एकीकृत समाजवादीमा छन्।

नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकाको प्रमुख, उपप्रमुख पद जितेको थियो। डडेल्धुरामा गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको उपस्थिति कमजोर छ।

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्र गठबन्धनलाई नमान्ने अभिव्यक्ति आएमा भने असन्तुष्ट पूर्वसभापति कर्ण मल्ल पक्षले ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ। 

कूल ५२ वटा वडा रहेको डडेल्धुरामा २०७४ सालको चुनावमा नेकपा एमालले १९, नेपाली कांग्रेसले १७ र माओवादी केन्द्रले १६ वडामा विजय प्राप्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .