ad ad

राजनीति


एमाले छाडेर एकीकृत समाजवादी रोज्नेलाई पालैपालो मन्त्री बन्ने अवसर

१४ सांसदमध्ये ३ जनाले मात्र मौका पाउन बाँकी
एमाले छाडेर एकीकृत समाजवादी रोज्नेलाई पालैपालो मन्त्री बन्ने अवसर

गोकुल जोशी
चैत २८, २०७८ सोमबार १२:४, काठमाडौँ

गत भदौ २ गते नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो।

एमालेमा हुँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई विश्वासपात्र मानिने डा. भीम रावललगायत नेपालनिकट १० नेताले अलग्गै पार्टी गठन गर्ने बेला साथ दिएनन्। 

सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड भएको मानिएका रावलले साथ छाडेपछि सुदूरपश्चिममा माधव नेपाल कमजोर हुने ठानिएको थियो। तर अवस्था ठीक उल्टो भइदियो।

एमाले विभाजनमा रावलनिकट सुदूरपश्चिमका अधिकतर प्रदेश सांसद नेकपा एकीकृत समाजवादीतिर लागे। माधव नेपाल पक्षका १७ प्रदेश सांसदमध्ये १३ जनाले एमाले छाडेर एकीकृत समाजवादी रोजे। प्रकाश शाह, कृष्णराज सुवेदी, हर्कबहादुर कुँवर र अर्चना गहतराज मात्र एमालेमै बसे। 

तर एकीकृत समाजवादीमा सनाखत गर्ने अन्तिम दिन ओली समूहकी सांसद माया तामाङ बोहराले पनि एमाले छाडिन्। र, माधव नेपालको पार्टीलाई प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाउन सघाइन्। 

उता एमाले भने सुदूरपश्चिम प्रदेशसभामा चौथो स्थानमा झर्यो। ५२  सदस्यीय प्रदेशसभामा अहिले प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० तथा जसपा र लोसपाका एक÷एक जना सांसद छन्।

पार्टी विभाजनमा दिँदै प्रदेशसभामा ठूलो दल हुन सघाएका प्रदेश सांसदले यतिबेला अध्यक्ष माधव नेपालबाट पुरस्कार पाइरहेका छन्। एमाले तथा भीम रावल छाडेर एकीकृत समाजवादीमा सामेल भएका सांसद पालैपालो मन्त्री भइरहेका हुन्। 

एमाले त्याग्दै एकीकृत समाजवादीमा सहभागी भएका १४ जना प्रदेश सांसदमध्ये १० जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन्। 

सनाखतपश्चात् भएको मन्त्रिमण्डल पुनर्गठनमा एमाले छाडेर एकीकृत समाजवादी रोजेका सांसद तारा लामा तामाङ आर्थिक मामिला मन्त्री बने भने माया तामाङ बोहराले आन्तरिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाइन्। 

एमालेमा रहँदा नै आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनुकुमारी चौधरी र मना कुमारी साउद पनि एकीकृत समाजवादीतिरै लागेपछि मन्त्री पदमा निरन्तरता पाए। 

यही चैत २५ गते प्रदेश मन्त्रिमण्डल पुनर्गठन गरिँदा एमाले त्यागेर एकीकृत समाजवादी भएका अर्का सांसदले मन्त्री बन्ने मौका पाएका छन्। 

एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री  र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर अर्का सांसदलाई  पठाएको हो। पुनर्गठित प्रदेश मन्त्रिपरिषदमा एकीकृत समाजवादीबाट प्रकाश रावल आर्थिक मामिलामन्त्री, कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्री र अमरबहादुर साउद आर्थिक मामिला राज्यमन्त्री बनाइएका हुन्। 

एकीकृत समाजवादीबाट प्रदेश सरकारमा रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा तामाङ, राज्यमन्त्री चुनकुुमारी चौधरी, माया तामाङ बोहरालाई फिर्ता बोलाइएको हो। तर छलफल नगरी मन्त्री पदबाट हटाइएको भन्दै उनीहरू असन्तुष्ट छन्। 

एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले भने प्रदेश सरकारमा निरन्तरता पाएका छन्। अब एकीकृत समाजवादीका १४ जना प्रदेश सांसदमध्ये ३ जना मात्रै मन्त्री बन्न बाँकी छन्। 

एमाले छाडेर एकीकृत समाजवादी रोजेका सांसद सुशीला बुढाथोकी, दुर्गा कामी र बलबहादुर सोडारीले मात्र मन्त्री बन्ने अवसर नपाएका हुन्। बैतडीकी सांसद माया भट्टले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्। 

अछामकी सांसद कामी एकीकृत समाजवादीको प्रमुख सचेतकको जिम्मेवारीमा छिन्। एमाले विभाजनमा एकीकृत समाजवादी रोजेका सांसदलाई अवसर दिने सिलसिला अझै रोकिने छाँट देखिएको छैन।  एकीकृत समाजवादीका बाँकी सांसदलाई जिम्मेवारी दिनेमा छलफल भइरहेको संसदीय दलका नेता दीर्घ सोडारी बताउँछन्।

‘सबैले जिम्मेवारी पाउनुहुन्छ। शीर्ष तहमा जिम्मेवारी दिनेबारेमा सहमति भएको छ’, उनले नेपालखबरसँग भने, ‘सबैलाई पालो पुर्याउँदा जिम्मेवारीबाट पछाडि हट्दा असन्तुष्ट हुनु स्वभाविक हो।’

पूर्वमन्त्री नै मन्त्री
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मुख्यमन्त्री त्रिलोचन भट्टले चारपटक मन्त्रिमण्डलमा फेरबदल गरेका छन्। जसले गर्दा प्रदेशमा मन्त्री हुनेको सूची लामो भएको छ। 

जम्मा ५३ प्रदेश सांसदमध्ये मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरेर २३ जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन्। 

अहिले सुदूरपश्चिम प्रदेशसभामा ५२ प्रदेश सांसद मात्रै छन्। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दा अछामका झपट बोहराको सांसद पद निलम्बनमा पर्यो। 

हाल ११ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्रीबाहेक ६ मन्त्री र ४ राज्यमन्त्री छन्। प्रदेश सरकारमा समाजवादीका सांसद दीर्घ सोडारी र प्रकाश रावल दोहरिएर मन्त्री भएका छन्। 

अहिले माओवादी केन्द्रका मानबहादुर धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् भने विनितादेवी चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री। भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा माओवादी केन्द्रबाटै मानबहादुर सुनार छन्।

केन्द्रमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस पनि गत २५ गतेबाट दुई मन्त्री र राज्यमन्त्रीका साथ सुदूरपश्चिम प्रदेश सरकारमा सामेल भएको छ। 

कांग्रेसका प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन र गोविन्द बोहरा सामाजिक विकासमन्त्री भएका हुन्। यस्तै कांग्रेसका अर्का प्रदेश सांसद टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बनेका छन्। 

यसअघि एमालेका कृष्णराज सुवेदी, पठान सिंह बोहरा, झपट बोहरा (निलम्बित) र प्रकाश शाह पनि मन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .