ad ad

राजनीति


सुदूरपश्चिममा सत्ता गठबन्धनसँग रिसायो जसपा, चुनावमा तालमेल नगर्ने

प्रदेश सरकारमा सहभागी नगराएपछि रुष्ट
सुदूरपश्चिममा सत्ता गठबन्धनसँग रिसायो जसपा, चुनावमा तालमेल नगर्ने

गोकुल जोशी
चैत २७, २०७८ आइतबार ७:५३, महेन्द्रनगर

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तहको चुनावमा केन्द्रको निर्णयबमोजिम सत्ता गठबन्धनका दलसँग तालमेल नगर्ने भएको छ। ​

प्रदेश सरकारमा प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्ट जसपाले सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो।

केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध भए पनि प्रदेशमा  गठबन्धनका अन्य दलले बेवास्ता गरेपछि जसपाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको प्रदेश सांसद लालमती कुमारी रानाले जानकारी दिइन्।  

‘संघमा हामी गठबन्धनमा छौँ। त्यसैअनुसार अन्य प्रदेश सरकारमा पनि छ’, उनले भनिन्, ‘तर सुदूरपश्चिममा हामीलाई वास्ता गरिएन। गठबन्धनका दलहरु मनोमानी हिसाबले कुनै सल्लाह नै नगरी अगाडि बढेका छन्।’

प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै जसपाले गठबन्धन तोडेको र अब चुनावी गठबन्धनमा पनि सामेल नहुने उनको भनाइ छ। 

‘चुनावको गठबन्धनको बैठकमा पनि हामीलाई बोलाउँदैनन्। एकलौटी तरिकाले काम भइरहेको छ’, सांसद रानाले भनिन्,  ‘प्रदेशमा गठबन्धनको आभास हुन पाएको छैन। यस्तो अवस्थामा गठबन्धनमा बस्नु उचित हुदैन भनेर बाहिरिएका हौँ।’

शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन्। तर जसपालाई सहभागी गराइएन।  

प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्र १३, कांग्रेस १२, एमाले १० र जसपा र लोसपाका एक/एक सांसद छन्।

‘केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो’, जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले भने, ‘तर जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौं।’ उनले आगामी चुनावमा सुदूरपश्चिममा गठबन्धन नहुने बताए। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .