ad ad

राजनीति


चुनावी गठबन्धन जोगाउन सुदूरपश्चिम सरकारमा कांग्रेस

चुनावी गठबन्धन जोगाउन सुदूरपश्चिम सरकारमा कांग्रेस

गोकुल जोशी
चैत २५, २०७८ शुक्रबार २०:५८, महेन्द्रनगर

सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालयसहित नेपाली कांग्रेस पनि सहभागी भएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने सहमतिमा असर पर्ने स्थिति पैदा भएपछि संघमा पाँच दलीय गठबन्धन बनेको करिब ९ महिनापछि कांग्रेस सरकारमा सहभागी भएको हो।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा कांग्रेस दुई पूर्ण मन्त्रालय र एक राज्यमन्त्रीसहित शुक्रबार सरकारमा सामेल भएको छ।

रावल आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन्। यस्तै कांग्रेसका सांसद गोबिन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ। 

एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री  र राज्यमन्त्रीलाई फिर्ता बोलाएको छ। 

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको हो। 

एकीकृत समाजवादीबाट आर्थिक मामिलामन्त्रीमा प्रकाश रावल नियुक्त भएका छन्।

यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने उनको ठाउँमा एकीकृत समाजवादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

एकीकृत समाजवादीकी आर्थिक मामिला राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने उनको ठाउँमा अमर साउद नियुक्त भएका छन्। 

सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले पनि मन्त्रीबाट राजीनामा दिएकी छन्। उनको ठाउँमा कांग्रेसका सांसद टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार बेलुकी पद तथा गोपनीयताको सपथ पनि लिएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धन सरकार बनेको थियो। 

त्यसपछि २०७४ सालको चुनावमा पाँच वर्षका लागि प्रमुख प्रतिपक्षको भूमिका रहने मत पाएको कांग्रेस सत्तामा पुगेको थियो। 

जसअनुसार प्रदेशमा पनि संघकै गठबन्धनको सरकार बनाइएको थियो। तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा सहितको गठबन्धन भए पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा कांग्रेसलाई सरकारमा सहभागी गराइएको थिएन। 

त्यसले गर्दा कांग्रेस सुदूरपश्चिममा माओवादी र एकीकृत समाजवादीसँग रुष्ट बनेको थियो। संघमा गठबन्धन बनेको झण्डै ९ महिना पछि कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको हो।

लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेका थिएनन्।

आसन्न स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति बनेको सत्तागठबन्धन सुदूरपश्चिममा असर पर्ने भएपछि भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो। 

‘सत्तागठबन्धन हो भने सबै प्रदेशमा सहभागीता हुनु पर्छ भनेका थियौँ। तर सुदूरपश्चिममा कांग्रेस सरकारमा छैन,’ नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले केही दिन अगाडि भनेका थिए, ‘त्यसैले चुनावी तालमेल हुँदैन भनेका हौँ।’ 

कांग्रेसको केन्द्रीय समितिले तालमेलको निर्णय गर्नुपूर्व सभापति बलायरले सुदूरपश्चिममा का कांग्रेसले चुनावमा गठबन्धन नगर्ने अभिव्यक्ति दिएका थिए।

प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्र १३, कांग्रेस १२, एमाले १० र जसपा र लोसपाका एक/एक सांसद छन्। कांग्रेस सत्तामा गएसँगै एमाले, जसपा र लोसपा प्रतिपक्ष बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .