ad ad

राजनीति


सुदूरपश्चिममा सत्ता गठबन्धनविरुद्ध यस्तो छ एमालेको ‘काउन्टर’ रणनीति

सुदूरपश्चिममा सत्ता गठबन्धनविरुद्ध यस्तो छ एमालेको ‘काउन्टर’ रणनीति

फाइल तस्बिर


गोकुल जोशी
चैत २५, २०७८ शुक्रबार १४:२, महेन्द्रनगर

सुदूरपश्चिममा आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै प्रदेश, जिल्ला तहका नेताहरु त्यसको लागि तयारीमा जुटेका छन्।

वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन सामु नेकपा एमाले कमजोर देखिएको छ। १० औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका नेता डा. भीम रावलको गृह प्रदेशमा नेकपा एमालेलाई यसपटक विरासत जोगाउन चुनौती छ। 

स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्न सुदूरपश्चिममा परामर्श थालिएको नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर बताउँछन्। 

‘कुन कुन पालिकामा तालमेल गर्ने भनेर केन्द्रबाटै खाका आउँछ। सबै ठाउँमा तालमेल हुँदैन,’ उनले भने, ‘हामी बलियो भएको ठाउँमा एक्लै लड्छौँ। कमजोर भएको ठाउँमा मिलेर लड्ने हो।’
नेकपा एमालेमा आएको फुट र प्रमुख शक्तिको गठबन्धनले नेकपा एमालेलाई स्थानीय चुनावमा साख कायम राख्न सकस छ।

‘एमाले विभाजनको असर सबैभन्दा बढी सुदूरपश्चिममै देखिएको छ। यहाँ नेताहरुबीच मनमुटाव पनि छ,’ एमालेका एक नेताले भने, ‘त्यसमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएपछि जित निकाल्न सहज छैन।’ 

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सुदूरपश्चिममा सबैभन्दा बढी प्रमुख उपप्रमुख जितेको थियो।

८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा एमालेले १४ नगरपालिकामा प्रमुख, १७ नगरपालिकामा उपप्रमुख, २८ गाउँपालिकामा अध्यक्ष र २६ गाउँपालिका उपाध्यक्ष जितेको थियो। 

सुदूरपश्चिममा नेकपा एमालेका प्रमुख उपप्रमुख सहित ८५ जनप्रतिनिधि विजयी भएका थिए। तर एमाले विभाजनले ठूलो पंक्ति एकीकृत समाजवादीमा गएको छ। 

स्थानीय तहका प्रमुख उपप्रमुख गरेर १३ जना जनप्रतिनिधि र १४ प्रदेश सांसद समाजवादीमा गएका छन्। सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरेर ८८ स्थानीय तह छन्। 

तीमध्ये नेपाली कांग्रेसका ७४ स्थानीय तह प्रमुख-उपप्रमुख छन् भने माओवादी केन्द्रका १७ प्रमुख÷उपप्रमुख छन्। 

सत्ता गठबन्धनले स्थानीय तह चुनावमा निरन्तरता पाउने भएपछि  एमालेलाई जित निकाल्न कठिन छ। 

यसअघि राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनविरुद्ध सुदूरपश्चिममा एक्लै चुनाव लडेको एमाले पराजित भएको थियो। 

एमालेको रणनीति
सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएपछि एमाले पनि गठबन्धनबाहेकका शक्तिसँग चुनावमा सहकार्य गर्ने तयारीमा छ। स्थानीय आवश्यकता अनुसार मुद्दा मिल्ने शक्तिसँग चुनावमा सहकार्य गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए।

‘सकभर हामी एक्लै चुनाव लड्ने हो। केन्द्रीय कमिटीले स्थानीय आवश्यकता अनुसार मुद्दा मिल्ने राष्ट्रवादी शक्तिसँग सहकार्यका लागि बाटो खोलेको छ,’ उनले भने, ‘त्यसका लागि छलफल भइरहेको छ।’ 

एमाले सुदूरपश्चिममा राप्रपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साथ लिने रणनीतिमा छ। सुदूरपश्चिममा एमाले फुटले पार्टीलाई परेको क्षति एमालेले यी शक्तिसँग तालमेल गरेर पूर्ति गर्न खोजेको छ। 

एमालेले सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष दामोदर भण्डारीको संयोजकत्वमा चुनावी तालमेलका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। केही दिन अगाडि एमालेले विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेलका लागि छलफल गरेको थियो। 

‘चुनावमा मिलेर जाऊँ भनेर प्रस्ताव लिएर आउनु भएको थियो। छलफल सकारात्मक भएको छ,’ सचिव पाठकले भने, ‘एमालेको नेतृत्वमा प्रगतिशील देशभक्तहरूको गठबन्धन हुन जरुरी छ।’

नेकपा एमाले आफ्नो नीति, कार्यक्रम र एजेण्डासहित जनतामा गएर गठबन्धन विरुद्ध जित निकाल्न सक्षम रहेको उनको दाबी छ।

‘अहिलेको एमाले नेकपाको निरन्तरता हो। फुटले पार्टीलाई खासै असर परेको छैन,’ उनले भने, ‘तीनै तहमा एमालेको सरकार बन्छ। दक्षिणपन्थी, अवसरवादी गठबन्धनलाई जनताले पछार्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .