रुपन्देहीका स्थापित सहरहरुको तुलनामा मध्यम स्तरका बजार क्षेत्रमा मतदाता थपिने दर तीब्र देखिएको छ। बुटवल र भैरहवा जिल्लाका पुराना सहर हुन्। यी भन्दा २०७१ सालमा घोषणा भएका नगरपालिकामा ५ वर्षमा मतदाता संख्या ह्वात्तै बढेको छ। यी ठाउँमा जनसंख्या बृद्धि दर भन्दा बढी मतदाता थपिने दर रहेको छ।
जिल्लाको पूर्वी भेगमा रहेको देवदह नगरपालिकामा १० वर्षको अवधिमा ३४ प्रतिशतले जनसंख्या बृद्धि भएको छ। तर ५ वर्षमा मतदाता थपिने दर ४८ प्रतिशत देखिएको छ। देवदह नगरपालिकामा ५ वर्ष अघि ३२ हजार ७०३ मतदाता रहेकोमा यो पटक झण्डै साढे १५ हजारले बढेर ४८ हजार २९१ पुगेको छ। देवदह नगरपालिकाको मुख्य बजार खैरेनी हो।
खैरेनी बजार र राजमार्ग आसपासमा मात्र होइन केही दक्षिणसम्म बसाइसराइ भएर आउने क्रम बढेको छ। बसाइ सराइ भएर आउने बढ्नु र अघिल्लो पटक छुटेकाहरुले यो पटक नामावली दर्तामा जागरुकता देखाउँदा मतदाता संख्या बढेको हुन सक्ने देवदहकी उपमेयर विद्यालक्ष्मी गुरुङले बताइन्।
रुपन्देहीको अर्को नगरपालिका तिलोत्तमामा ५ वर्षमा ४२ प्रतिशत मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय चुनावमा तिलोत्तमामा ६० हजार ४४१ मतदाता थिए। अहिले २५ हजार बढेर ८५ हजार ७४७ पुगेको छ। तिलोत्तमा मतदाता बढी भएको दोस्रो नगरपालिका (महानगर र उपमहानगर बाहेक) हो। सबै भन्दा बढी मतदाता झापाको मेचीनगर नगरपालिकामा ९० हजार मतदाता छन्।
बुटवल र भैरहवाको बिचमा पर्ने तिलोत्तमा नगरपालिकामा बाहिरबाट बसाइसराइ भएर आउनेहरुको तीब्र बृद्धि भएको छ। बुटवलमा खुल्ला ठाउँ कम भएकाले मानिसहरु तिलोत्तमा तिर बसोबास थाल्ने गरेका छन्। बुटवलमा रोजगार तथा व्यवसाय हुनेहरु पनि बसाइको लागि तिलोत्तमा रोज्ने गर्दछन्।
तीब्र बसाईंसराई सँगै अस्थायी रुपमा बसोबास गर्नेहरु पनि बढ्दा जनसंख्या भन्दा बढी दरमा मतदाता बढेको तिलोत्तमाको शान्ति नमुना प्राविका प्रअ कुलप्रसाद लामिछानेले बताए।
‘तीब्र बसाईंसराई सँगै डेरामा बस्नेहरुका कारण मतदाता अलि बढी थपिएका छन्। विगतमा चुनाव आउँदा यहाँ बसेका मान्छेहरु भोट हाल्न आफ्नो पहाडी जिल्लातिर जान्थे। अहिले त्यो क्रम अलि कम भएको छ। यतै नामावली दर्ता गरेका छन्’ उनले भने, ‘त्यस बाहेक अघिल्लो पटक नामावली दर्तामा छुटेका धेरैले यो पटक दर्ता गर्दा पनि मतदाता संख्या ह्वात्तै थपिएको छ।’
उपमहानगरपालिका समेत रहेको बुटवलमा तिलोत्तमा भन्दा ४ हजार ३१८ बढी मतदाता छन्। बुटवलमा अघिल्लो पटक ६६ हजार ६६३ मतदाता थिए। यसपटक ९० हजार ६२ पुगेको छ। जस अनुसार बुटवल उपमहानगरमा २४ हजार अर्थात ३६ प्रतिशत मतदाता थपिएका हुन्।
बुटवल पश्चिमको सैनामैना नगरपालिकाको मतदाता बृद्धिदर पनि तिलोत्तमाको केही कम ४१ प्रतिशत छ। सैनामैनामा ५ वर्ष अघिको स्थानीय चुनावमा ३६ हजार ३६८ मतदाता थिए, अहिले बढेर ५१ हजार २२ पुगेको छ।
जिल्लाको सिद्धार्थनगर नगरपालिकामा ३३ प्रतिशत, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २८ प्रतिशतले मतदाता बढेका छन्। नगरपालिका बाहेक रुपन्देहीमा १० वटा गाउँपालिका छन्। नगर क्षेत्रको भन्दा गाउँपालिकामा मतदाता थपिने दर कम छ।
गाउँपालिका मध्ये बजार क्षेत्र भएका ठाउँमा मतदाता संख्या थपिने दर बढी देखिएको छ। बाँकी ठाउँमा केही कम मतदाता थपिएका छन्। रुपन्देहीमा कुल मतदाताको संख्या ६ लाख ३२ हजार ३६० मतदाता पुगेको छ।
Shares
प्रतिक्रिया