ad ad

राजनीति


कञ्चनपुरमा विरासत फर्काउन खोज्दै कांग्रेस, एमालेलाई ‘गढ’ जोगाउन सकस

कञ्चनपुरमा विरासत फर्काउन खोज्दै कांग्रेस, एमालेलाई ‘गढ’ जोगाउन सकस

गोकुल जोशी
चैत २४, २०७८ बिहिबार १४:५८, महेन्द्रनगर

वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका क्रममा कञ्चनपुरमा माओवादी केन्द्र बलियो देखिएको थियो । त्यसबेलाका ४ निर्वाचन क्षेत्रमध्ये माओवादीले ३ वटामा जित निकालेको थियो। 

निर्वाचन क्षेत्र–४ मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए। डडेल्धुरा र कञ्चनपुर–४ बाट देउवा विजयी भएपछि  उनले कञ्चनपुर छोडे। उपनिर्वाचनमा माओवादीले जितेर ‘किल्ला’ बनायो। 

तर माओवादीले अर्को निर्वाचनमा त्यो दबदबा कायम राख्न सकेन। वि.सं. २०७० को चुनावमा माओवादी पछारियो। त्यसबेला कञ्चनपुरका ४ वटै निर्वाचन क्षेत्रमा विजयी हुँदै नेपाली कांग्रेसले आफ्नो पकड बनायो। 

वि.सं. २०७४ सालको निर्वाचनमा कांग्रेस कञ्चनपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धनसामु निरीह बन्यो। त्यसबेला कांग्रेसले कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्र गुमायो। 
वि.सं. २०७४ मा कञ्चनपुर–१ मा माओवादी केन्द्र तथा क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेबाट वाम उम्मेदवार विजयी भएका थिए।  

त्यससँगै ०७४ को स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो। ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा मा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो।

यस्तै माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो। कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । 

एमालेलाई चुनौती
यस पटकको स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेलाई आफ्नो विरासत कायम राख्न चुनौती छ। एमालेको फुट र सत्ता गठबन्धनका दलले चुनावी तालमेल गरेसँगै ०७४ सालमा दबदबा राखेको एमालेलाई विरासत जोगाउन सकस पर्ने देखिएको छ।

एमालेबाट विजयी केही जनप्रतिनिधि माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि लागेका छन्। विगतको मत हेर्दा सत्ता गठबन्धनसामु एमाले कञ्चनपुरमा कमजोर छ।

गठबन्धनको सहारामा कांग्रेस विरासत फर्काउने दाउमा छ भने माओवादी केन्द्र र पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको एकीकृत समाजवादी पनि शक्ति सुरक्षित गर्ने रणनीतिमा छन्।

कञ्चनपुरमा पनि सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कञ्चनपुरमा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।

गठबन्धनका ५ राजनीतिक दलमध्ये कञ्चनपुरमा क्रियाशील जनता समाजवादीबाहेक ४ दलको बैठकले स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको माओवादी केन्द्रका कञ्चनपुर संयोजक खेमराज पाण्डेयले बताए। 

‘चुनावमा तालमेल गर्ने दलहरुबीच सहमति जुटेको छ,’ उनले भने, ‘जुन पालिकामा जसको पकड तथा मतभार बढी छ, त्यसकै आधारमा भागबण्डा हुन्छ।’ 

उता नेकपा एमाले आफ्नो राजनीतिक एजेण्डा, घोषणा पत्रअनुसार चुनाव लड्ने र दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई पराजित गर्ने नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्ट दाबी गर्छन्। 

‘अहिलेको गठबन्धनको राजनीतिक दृष्टिकोण स्पष्ट छैन। यो दक्षिणपन्थी, अवसरवादी गठबन्धनलाई पराजित गर्छौ,’ उनले भने।

दक्षिणपन्थी अवसरवादी गठबन्धनका विरुद्ध स्थानीय आवश्यकताको आधारमा बाम र राष्ट्रवादी शक्तिसँग सहकार्य हुनसक्ने उनको भनाई छ। 

भीमदत्त नगर
सदरमुकामको भीमदत्त नगरपालिकाको प्रमुख नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो। नगर प्रमुखमा कांग्रेसका पदम बोगटीलाई १ सय ६६ मतले पराजित गर्दै एमालेका सुरेन्द्र बिष्ट (११ हजार ८ सय ३१ मत) विजयी भएका थिए।

उपमेयरमा कांग्रेसकी सुशीला चन्द सिंह १२ हजार ७ सय ७५ मत सहित विजयी भएकी थिइन्। एमालेकी उम्मेदवार माया पन्तले ११ हजार ८ सय ३६ मत प्राप्त गरेकी थिइन्।

माओवादीका मेयर पदका उम्मेदवार गोपाल रसाइलीले ४ हजार ५ सय ७९ र उपमेयरका उम्मेदवार नारुदेवी सिंहले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका थिए। 

यस्तै, भीमदत्त नगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले ४ हजार ३ सय २८ मत प्राप्त गरेका थिए। उपमेयरका उम्मेदवार खञ्जरादेवी कुँवरले २ हजार २ सय ७७ मत प्राप्त गरेकी थिइन्। 

१९ वडा रहेको नगरपालिकामा एमालेले १० (वडा नं. ६, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ ) वटा वडा जितेको थियो। तीमध्ये एमाले विभाजन हुँदा दुई वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन्।

भीमदत्त नगरपालिकामा कांग्रेसले ७ वटा वडा (१, ३, ४, ५, ११, १२, १३) मा प्रमुख जितेको थियो। यस्तै, माओवादी केन्द्रले वडा नम्बर २ र ७ मा जितेको थियो।

दोधाराचाँदनी
दोधाराचाँदनी नगरपालिकाको प्रमुख (मेयर) मा कांग्रेसका वीरबहादुर सुनार ५ हजार १ सय ३४ मत सहित विजयी भएका थिए।

एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका किशोरकुमार लिम्बुले ४ हजार ४ सय १६ मत प्राप्त गरेका थिए। 

उपप्रमुख (उपमेयर)मा नेकपा एमालेकी चिनी गिरी ५ हजार २ सय ७१ मतसहित विजयी भइन्।

१० वटा वडा रहेको महाकाली नगरपालिकामा ५ वडा कांग्रेसले जितेको थियो। यस्तै, नेकपा एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले एक वडा जितेको थियो। 

बेदकोट 
बेदकोट नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयरसहित ८ वडा जितेको थियो। बेदकोटको मेयरमा एमालेका उम्मेदवार अशोककुमार चन्द ६ हजार ४ सय ३४ मतसहित विजयी भएका थिए।

मेयर चन्दसहित केही वडाध्यक्ष अहिले एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बेदकोटको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहराले ६ हजार ७४ मतमा ल्याएका थिए। 

उपमेयरमा एमालेकी सुशीला सिंह ६ हजार ८ सय ३५ मत सहित निर्वाचित भएकी थिइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी तुलसी देवी जोशी ५ हजार ५ सय १५ मत ल्याएकी थिइन्।

१० वडा रहेका बेदकोटमा माओवादी र कांग्रेसले एक/एक वडा जितेका थिए।

पुनर्वास 
पुनर्वास नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वडा जितेको थियो। एमालेबाट मेयरका उम्मेदवार बनेका जीवनराज थापा ६ हजार ४० मतसहित विजयी भएका थिए। अहिले थापा एकीकृत समाजवादीमा छन्।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५ सय १४ मत पाएका थिए। नेपाली कांग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्माले ५ हजार ५ सय १२ मत पाएका थिए।

नेकपा एमालेकै शारदा शर्मा (विष्ट) ६ हजार ३ सय ६६ मत सहित उपप्रमुखमा विजयी भएकी थिइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी भुलिया कुमारी रानाले ५ हजार ३ सय ९१ मत प्राप्त गरेकी थिइन्। 

त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका सीता विकले ६ हजार ३ सय ५६ मत ल्याएकी थिइन्। ११ वडा रहेको पुनर्वासमा एमालेले ५, माओवादी केन्द्र ४ र नेपाली कांग्रेस २ वडामा विजयी भएको थियो।

शुक्लाफाँटा 
शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दिलबहादुर ऐरी ६ हजार ४ सय ३२ मतसहित विजयी भएका थिए। 

मेयरका प्रतिस्पर्धी एमालेका रणबहादुर महराले ५ हजार ४ सय २९ मत प्राप्त गरेका थिए। 

उपमेयरमा एमालेकी तुलसी देवी हमाल ५ हजार २ सय ९३ मतसहित निर्वाचित भएका थिए। कांग्रेसकी धर्मा विष्टले उपमेयरमा ५ हजार २ सय १० मत ल्याइन्।

१२ वडा रहेको शुक्लाफाँटामा एमालेले ५, माओवादी केन्द्रले ४ र नेपाली कांग्रेसले ३ वडा जितेको थियो।

कृष्णपुर 
कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको थियो। मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत ल्याएका थिए। 

यस्तै एमालेकी उपमेयरकी उम्मेदवार रमिता राना ७ हजार १८ मत ल्याएर विजयी भएकी थिइन्। 

उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९ सय २८ मत ल्याएकी थिइन्। ९ वटा वडा रहेको कृष्णपुरमा एमाले, कांग्रेस र माओवादीले ३÷३ वडा जितेको थियो।

बेलौरी
बेलौरी नगरपालिका माओवादी केन्द्रले प्रमुख जितेको स्थानीय तह हो। माओवादी केन्द्रका पोतिलाल चौधरी ६ हजार ७ सय ६४ मत सहित मेयरमा विजयी भएका थिए।

उनका प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत ल्याएका थिए। उपमेयरमा एमालेकी चित्र कुमारी चौधरी ६ हजार ७ सय ४८ मतसहित निर्वाचित भएकी थिइन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राधा देवी खरेल (कँडेल) ६ हजार १ सय २१ मत ल्याएकी थिइन्। 

१० वडा रहेको बेलौरीमा माओवादी र एमालेले ४/४ वडा र नेपाली कांग्रेसले २ वडामा जित निकालेको थियो। 

बेलडाँडी
बेलडाँडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेले जितेको थियो। एमालेका धनबहादुर क्षेत्री अध्यक्षमा ३ हजार २ सय १५ मत र उपाध्यक्षमा कमलादेवी कार्की ३ हजार १ सय ३७ मत सहित निर्वाचित भएका थिए।

कांग्रेसका चन्द्रबहादुर सिंहले अध्यक्षमा २ हजार ५ सय ९६ मत र उपाध्यक्षमा किसना देवी गिरीले २ हजार २ सय ७५ मत ल्याएकी थिइन्। ५ वटा वडा रहेको बेलडाँडीमा एमालेले ४ र कांग्रेसले एक वडामा नेतृत्व जितेको थियो। 

लालझाडी 
लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको अर्को स्थानीय तह हो। माओवादीका मदनसेन वडायक अध्यक्षमा २ हजार ८ सय ९६ मत सहित निर्वाचित भएका थिए।

उनका प्रतिस्पर्धी एमालेका निर्मला रानाले २ हजार ६ सय २१ मत ल्याएका थिए। उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सत्यदेवी महरा २ हजार ७ सय ५८ मत सहित निर्वाचित भएकी थिइन्। 

उनकी प्रतिस्पर्धी एमालेकी सुनिता देवी चौधरी २ हजार ४ सय ६९ मत ल्याएकी थिइन्। ६ वडा रहेको लालझाडीमा माओवादी केन्द्र र कांग्रेसले ३/३ वडा जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .