नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले गठबन्धनका दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।
प्रदेश सभापति अमर पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन भएको हो।
समितिमा नेता भरतकुमार शाह, उपसभापति भुवन श्रेष्ठ, राजु खनाल, र कोषाध्यक्ष प्रकाश राना सदस्य रहेका छन्।
कांग्रेस लुम्बिनीको प्रदेश समितिको बैठकले गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग वार्ता गर्न समिति बनाएको हो।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति अमरसिंह पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको बताए।
बैठकले प्रदेश सभापति पुनको संयोजकत्वमा नेता भरत कुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरू लगायत रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ।
प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गरेको छ।
महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति बनाइएको छ।
माधव खरेलको संयोजकत्वमा कांग्रेस लुम्बिनीको अनुशासन समिति गठन भएको छ। समितिमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्ण प्रसाद अधिकारी सदस्य छन्।
बैठकले २३ जना प्रदेश कार्य सम्पादन समिति सदस्यहरुको नाम अनुमोदन गरेको छ। विधान अनुसार कार्यसम्पादन समिति २७ सदस्यीय हुने छ।
बाँकी समावेशीता हेरी नाम थप गर्ने सम्पूर्ण अधिकार सभापतिलाई प्रत्यायोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
पत्रकार सम्मेलनमा सभापति पुनले पार्टीहरूको मतभारका आधारमा टिकट बाँडफाँट गरिने बताए।
१०९ पालिका रहेको लुम्बिनी प्रदेशमा दुईतिहाइ बढी स्थानीय तहमा कांग्रेसको दाबी रहने पनि बताएका छन्।
Shares
प्रतिक्रिया