राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलले मुलुकलाई लामो समय बन्धक बनाएको बताएका छन्।
उनले मुलुकलाई दुर्गतीमा पुर्याउन तीनै दल जिम्मेवार भएको उल्लेख गरे।
राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको चुनावी सभामा बोल्दै लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्र नामले अलग पार्टी भए पनि विचार र शैलीले एउटै पार्टी रहेको दाबी गरे।
‘नेपाल राष्ट्रलाई दुर्गतीको बिन्दुमा पुर्याउन तीनै दल जिम्मेवार छन, आज देश जुन स्थितिमा छ पर्खने र हेर्ने छुट छैन्, पर्खने र हेर्न भूल गर्यौं भने भावी सन्ततिको भविष्य धरापमा पर्छ’ उनले भने।
देशमा आन्दोलन र हडताल नभएपनि मुलुकको अवस्था सामान्य नभएको लिङदेनको भनाइ छ।
‘अहिले मुलुकमा आम हड्ताल भएको छैन, आन्दोलन भएको छैन, मुलुक सामान्य जस्तो देखिएको छ, तर अवस्था सामान्य छैन्, अदालत अदालत जस्तो छैन, संसद् संसद् जस्तो छैन र सरकार सरकार जस्तो छैन्’ उनले भने।
उनले विदेशीलाई मालिक मानेर सत्ता टिकाउने खेलमा तीनै दल बराबर जिम्मेवार रहेको आरोप लगाए।
लिङदेनले भोट गलत मान्छे र पार्टीलाई गयो भने पुरै देश र समाजले दुःख पाउने उल्लेख गरे। राजतन्त्र र हिन्दुराष्ट्र नेपालको स्थायित्वको आधार भएको उनको भनाइ छ।
राप्रपा केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधानले संस्कार, संस्कृति जोगाउन राप्रपालाई जिताउनुपर्ने बताए। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको लडाईं कुनै वाद र प्रतिवादसँग नभई सुशासन, शिक्षा एवम् निःशुल्क स्वास्थ्य लगाएतको लागि भएको बताए।
प्रतिक्रिया