नेपाली कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमर पुनले सम्पती र खानेकुरा बाँडेजस्तो गठबन्धनमा भागबण्डा नहुने बताएका छन्।
उनले जुन पालिकामा जुन पार्टी बलियो छ त्यसकै आधारमा मापदण्ड बनेर गठबन्धन दलकाबीच चुनावी तालमेल हुने बताए। रिपोर्टर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति पुनले जनमतको आधारमा गठबन्धन हुने उल्लेख गरे।
‘सम्पती र खानेकुरा भए बराबर बाँडेर खान सकिन्थ्यो होला। जनताको बीचमा जाने कुरा हो’ उनले भने, ‘त्यो पालिकामा कसको जनमत बढी छ। त्यही पार्टीलाई लिडिङ गराएर अन्य पार्टीका साथीलाई त्यो भन्दा तल व्यवस्थापन गर्ने हो।’
लुम्बिनीमा कुन पालिकामा कुन पार्टीलाई नेतृत्वमा अघि सार्ने भन्ने कुरा छलफलबाट छिट्टै टुंग्याउने उनको भनाइ छ। उनले भागबण्डाबाट नभई मापदण्डबाट कुन पार्टीका लागि कुन पालिका उपयुक्त हुन्छ टुंगो लगाउने बताए।
‘चिरा चिरा पारेर यती उपमहानगरपालिका र नगरपालिका फलानालाई यो गाउँपालिका फलानालाई भन्ने हुँदैन।
उनले भने, ‘दलीय रुपमा भागबण्डा होइन कि मापदण्ड निर्माण गरेर गर्छौँ।’
कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले आफ्नो पार्टीले लुम्बिनीमा ६० प्रतिशत ठाउँमा विजयी हुने दाबी गरे। उनले एमाले एकल रुपमा चुनावमा जान तयार भएको भन्दै माओवादी केन्द्रले बढी सिट पाउन कांग्रेसलाई घुर्की देखाइरहेको उल्लेख गरे।
‘यही प्रदेशका माओवादीका वरिष्ठ नेता वर्षमान पुनले एमालेले हामीसँग वार्ता गरिरहेको भन्नुभयो। अलि बढि सिट छोड्ला भनेर कांग्रेसलाई घुर्की लगाएको हो की?’ उनले भने, ‘हामीले कसैसँग वार्ता र छलफल गरेका छैनौँ। एमाले एकल रुपमा चुनावमा जान्छ।’
माओवादी केन्द्रका नेता तथा लुम्बिनीका प्रमुख सचेतक तुलाराम घर्तीले गठबन्धनले निरन्तरता पाएमा प्रदेशका पालिकामा एमालेको उपस्थिती निकै कमजोर हुने दाबी गरे। कार्यकर्ता स्तरमा केहीले पहिलेको बाम गठबन्धन र कतिपयले अहिलेकै गठबन्धन गर्नुपर्ने भन्ने दुई थरी मत आएको उनले सुनाए।
केन्द्रीय निर्णय अनुसार सत्ता गठबन्धनसँग तालमेल हुने र धेरै ठाउँमा आफ्नो पार्टीले पनि जित्ने घर्तीले सुनाए।
Shares
प्रतिक्रिया