नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा आएपछि मुलुक विकासमा फड्को मारेको दाबी गरेका छन्।
उनले गएको ३ वर्षमा सबै ठाउँमा विकास भएको दाबी गरे।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वनवाटिकामा मंगलबार भ्यू टावरको उद्घाटन गर्दै उनले आफ्नो सरकार नबनेको भए भ्यू टावरको सोच समेत नआउने दाबी गरे।
‘एमालेको सरकार बन्दैन थियो भने यसरी यो भ्यू टावर राख्ने यहाँ लिफ्ट राख्ने सोच साधारणतया आउने थिएन ‘ उनले भने, ‘विकास सम्बन्धी अवधारणा आएका हुँदा त्यसलाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए।’
भ्यू टावरले आम्दानीको श्रोत र रोजगारीको अवसर सिर्जना गरेको ओलीको भनाइ छ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पालामा समुद्रमा अधिकार स्थापित गरेको र चीनतिरबाट पनि यातायात पारवहन सम्झौता भएको भन्दै अब उत्तरतिरका जिल्ला पनि दुर्गम नभएको दाबी गरे।
‘उत्तरका जिल्ला पनि दुर्गम छैनन्। दुर्गमलाई पनि सुगम बनाएका छौं’ उनले भने।
ओलीले भूमीहीन सुकुम्बासीहरुको लागि आफूहरुले काम अगाडि बढाए पनि नयाँ सरकारले आयोगमाथि बन्चरो चलाएको उल्लेख गरे।
‘हामीले सुकुम्बासी समस्या समाधान गर्न आयोग बनायौं। धनीपुर्जा बाँड्ने बेला भएपछि आयोग भंग गरे। गरिबहरुलाई पुर्जा बाँड्ने आयोगमाथि गठबन्धन सरकारले पहिले बन्चरो चलायो’ उनले भने, ‘अहिले अघिल्लो सरकारले फाइल लुकाइदिएको छ। खोज्दै छौं भनेका छन्। सायद उहाँहरु शुक्रबार दिल्ली जाँदै हुनुहुन्छ फाइल खोज्न होला।’
तिलोत्तमा २ मा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाइको १० तले भ्यू टावर निर्माण गरिएको हो। भ्यू टावर रहेको १० तले संरचना भ्यू टावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा प्रयोगमा आउने बताइएको छ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यू टावरमा पहिलो देखि छैठौं तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने तिलोत्तमा नगरपालिकाले जनाएको छ।
साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी व्यहोरेको छ।
कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरु बनाइएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
भ्यू टावरबाट रुपन्देही र आसपासका दृष्य हेर्न सकिन्छ। दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहरहरु देख्न सकिनेछ।
Shares
प्रतिक्रिया