ad ad

राजनीति


नेकपाका बागी उम्मेदवार नै गिलासमा भोट माग्न ब्यस्त

नेकपाका बागी उम्मेदवार नै गिलासमा भोट माग्न ब्यस्त

नेपालखबर
मंसिर २, २०७६ सोमबार ५:२१,

मंसिर १४ गते हुने उपनिर्वाचनले बागलुङको पश्चिम क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) का सांसद टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुन लागेको त्यस क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार आमसभा, घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका छन्। उपनिर्वाचनमा बागलुङमा वाम गठबन्धन (नेकपा र राजमो) केन्द्रीय तालमेलका कारण नेकपाले राजमोका उम्मेदवार खिमविक्रम शाहीलाई सर्मथन गरी चुनावी अभियानमा जुटेको छ भने नेपाली कांग्रेसबाट जित शेरचनलगायत दश उम्मेदवार प्रदेशसभा निर्वाचनमा होमिएका छन्।

वाम गठबन्धनको विरुद्धमा नेकपाका स्थानीय नेता शेरमान घर्तीले बागी उम्मेदवारी दिएका थिए। शेरमानको उम्मेदवारी फिर्ता गराउने र फिर्ता गर्न नदिने चलखेलका बीच विज्ञप्तिमार्फत शेरमानले वामपन्थी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सर्मथन गरे। उनी अहिले गिलास चिह्नमा भोट माग्न व्यस्त छन्। बागी उम्मेदवारी फिर्ता लिन हेलिकप्टर चढेर जिल्ला सदरमुकाम आएको घर्ती २० मिनेट ढिला भएका कारण उनको उम्मेदवारी फिर्ता हुन सकेन। उनका नाममा निर्वाचन आयोगले क्लिप चिह्नसमेत प्रदान ग¥यो तर उनी भने गिलास चिह्नमा मत माग्न सक्रियताका साथ लागि रहेका छन्।

पार्टीप्रति आफ्नो अन्तरविरोध रहे पनि केन्द्रीय तहदेखि भएको तालमेललाई स्वीकार गरी सार्वजनिक रुपमा वाम उम्मेदवारलाई सर्मथन गरेको बागी उम्मेदवार घर्तीले बताए। ‘म वाम गठबन्धनका उम्मेदवार खिमविक्रम शाहीलाई गिलास चिह्नमा मत माग्न व्यस्त छु’, घर्तीले भने, ‘पार्टी एकीकरणपछि कुनै जिम्मेवारी नपाउँदा निराश भएको थिए, अहिले मेरो माग सम्बोधन भएका छन्।’

घर्ती वाम गठबन्धनको चुनावीसभा, घरदैलो तथा भेटघाटमा उम्मेदवारसँगै जनताको माझमा गएको नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार बागी उम्मेदवारी कायम गर्न भूमिका खेल्ने दुई नेता तुल्सीराम अर्याल र दधिराम अर्याललाई भने नेकपाले साधारण सदस्यता नरहने गरी कारबाही गरी सकेको छ। जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका समेटिएको प्रदेश सभामा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी दश उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

उम्मेदवारले ढोरपाटनमा विमानस्थल सञ्चालन गर्न पहल गर्नेदेखि रोजगारी सिर्जना गर्ने खालको उद्योग स्थापना गर्नेसम्मका एजेन्डा लिएर गाउँ छिरेका छन्। संयुक्त वाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, कांग्रेसका तर्फबाट जितबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपा संयुक्तबााट निमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनका मित्रबहादुर मगर र स्वतन्त्र रुपमा सन्तोष भण्डारीले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन्। जसमध्ये मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका उम्मेदवार जीत शेरचनबीच नै हुने स्थानीय बुद्धिजीवी बताउँछन्।

दलबाट तथा स्वतन्त्ररुपमा उठेका उम्मेदवारले बागलुङको पिछाडिएको क्षेत्रलाई विकास गरी समृद्ध पश्चिम निर्माण गर्न आफूलाई मतदान गर्नुपर्ने दाबी गर्दै भोट माग्न गाउँ पसेका छन्। खासगरी जिल्लाकै विकट स्थानका रुपमा चिनिँदै आएको यस क्षेत्रमा शिक्षा, विद्युत्, यातयात, पर्यटन, कृषिको बजारीकरणलगायतका क्षेत्रमा काम गर्ने सबै दलले प्रतिबद्धता गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .