सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङ क्षेत्र नम्बर २ (ख)मा जनमोर्चासँग तालमेल भएको प्रस्ट पारेका छन्।
बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले बागलुङको प्रदेशसभामा नेकपाको बागी उम्मेदवारबार सोधेको प्र्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड नेकपाको कोही सदस्यले उम्मेदवारी दिएको भए एक दुई दिनमै फिर्ता हुने बताए।
‘मैले यही आएपछि सुनेँ, त्यो कसरी, को उठेको हो’, उनले भने, ‘पार्टीको निर्णय र हाम्रो सहमति जनमोर्चासँग भएको हो। उम्मेदवार हाम्रो पार्टीको हो भने मलाई के विश्वास छ भने भोलि पर्सि सम्ममा उहाँले फिर्ता लिनुहुन्छ। अरु कोही हो भने मुकाविला गर्नुपर्ने हुन्छ।’
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाका सबै उम्मेदवार तलदेखि केन्द्रसम्म सर्वसहमतिमा छनौट गरेको दावी गरे।
कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईलाई विजयको अग्रिम शुभकामना दिँदै उनले विजयको यात्रा सुरु भएको र निर्वाचनको परिणाम नआउँदासम्म निरन्तर एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।
उनले सचिवालयको बैठकले कास्की २ मा सर्वसहमतिमा छलफल गरेको र उम्मेदवारका बारेमा कुनै मतभेद नभएको बताए।
मनोनयनकै दिनले निर्वाचनको परिणामको संकेत गरिसकेको उनको दावी थियो।
भारतको नयाँ सीमा नक्साबारे प्रत्रकारका प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नभएको बताए। ‘भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य छैन’, उनले भने, ‘यसबारेमा पार्टी र सरकारको धारणा आइसकेको छ।’
लिपुलेकका बारेमा भारत र चीनबीच भएको सहमतिबार आफूले भारत भ्रमणकै क्रममा मोदीसँग यो मान्य हुनेको बताएको उनको भनाई थियो।
उनले यो विषयमा सिंगो राष्ट्र एक ढिक्का रहेको बताए।
‘नेपाल राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सत्तका बारेमा कही कतै कम्प्रमाइज गर्ने, लचिलो हुने, सम्झौता गर्ने भन्ने हुँदैन’, उनले भने।
उनले यस विषयमा नेपाल र भारत सरकारसँग वार्ता हुने बताए।
प्रतिक्रिया