संसदमा प्रतिनिधित्व गर्दै आएका नेपालका चार राजनीतिक दलहरु महाधिवेशनको सम्मुख छन्। आगामी मंसिर र पुसमा चार वटै दलले आ–आप्mनो पार्टीको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएका छन्।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मंसिर २४–२६ मा १४ औँ महाधिवेशन गर्दैछ। यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिर १०–१२ मा १० औँ महाधिवेशनको मिति तय गरेको छ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ११–१३ मा नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्ने तयारी गरेका छन्।
कांग्रेसले काठमाडौंमा, एमालेले चितवनमा, र राप्रपाले ललितपुरको गोदावरीमा महाधिवेशन आयोजना गर्ने बताइएको छ। माओवादीले भने महाधिवेशन गर्ने स्थान निर्धारण गरिसकेको छैन।
महाधिवेशनबाट कांग्रेस र राप्रपाले नयाँ नेतृत्व चयन गर्ने छन् भने एमाले र माओवादीले महाधिवेशन र सम्मेलन मार्फत नै साविकको नेतृत्वलाई फेरि पार्टीको बागडोर सुम्पिने देखिएको छ।
अहिले कांग्रेसलाई प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेलाई केपी शर्मा ओली, माओवादी केन्द्रलाई पुष्पकमल दाहाल प्रचण्ड र राप्रपालाई पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनीसँगको सहकार्यमा कमल थापाले हाँकिरहेका छन्।
यी चारै पार्टी प्रमुख आगामी महाधिवेशनबाट पुनः दोहोरिन चाहन्छन्। यद्यपि, कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष थापालाई नेतृत्वमा दोहोरिन कठिन देखिन्छ।
राप्रपा अध्यक्ष थापाका लागि अध्यक्षद्वय राणा र डा. लोहनीसँगै पूर्वमहामन्त्रीद्वय राजेन्द्र लिङ्देन र धवलशमशेर राणा अवरोधका रुपमा देखिएका छन्। उनीहरु चारै जनालाई आगामी पुसमा हुन गइरहेको एकता महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीका रुपमा हेरिएको छ।
अध्यक्ष थापालाई चुनौती दिन पूर्वमहामन्त्रीद्वय राणा र लिङ्देनले गठबन्धनको तयारीसमेत गरिरहेका छन्। थापासँग राणा र लोहनी पनि सन्तुष्ट छैनन्। अध्यक्षद्वयले समर्थन गरे लिङ्देन–राणाले थापालाई पराजित गर्न सक्ने सम्भावना ज्यादा छ।
‘अध्यक्षमा म उठ्ने कि राजेन्द्रजी भन्नेबारेमा छलफल गर्दैछौँ,’ राणाले नेपालखबरसँग भने, ‘राजेन्द्रजीले अध्यक्षमा प्रतिस्पर्धा गरे म महामन्त्री र मैले अध्यक्षमा प्रतिस्पर्धा गरे उहाँ महामन्त्रीको उम्मेदवार हुने सहमति हामीले गरेका छौँ।’
कांग्रेस सभापतिमा देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा केन्द्रीय सदस्यद्वय गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालाले चुनौती दिएका छन्।
देउवाले पनि महाधिवेशनबाट फेरि नेतृत्व सम्हाल्ने आन्तरिक तयारी गरिरहेका छन्। उनले सार्वजनिक रुपमै आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा भने गरिसकेका छैनन्।
तर, देउवाले आफूनिकटका नेताहरुलाई फेरि सभापतिमा उम्मेदवारी दिने तयारीका साथ आप्mनो पक्षमा माहोल बनाउन खटाइसकेका छन्। यद्यपि, उनलाई सभापतिमा दोहोरिन सहज भने देखिँदैन।
उनको पहिलो चुनौतीका रुपमा देखिएका छन्– लामो समयसम्म उनीनिकट रहेका उपसभापति विमलेन्द्र निधि। निधिले गत भदौ ११ गते नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
उपसभापति निधि लामो समयदेखि देउवालाई साथ दिँदै आएका नेता हुन्। त्यसैले निधिले साथ छाड्दा देउवा कमजोर हुने आकलन छ।
देउवाकै समूहका अर्का नेता गोपालमान श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, प्रधानमन्त्री देउवाले निधि र श्रेष्ठको उम्मेदवारी घोषणालाई गम्भीरतापूर्वक लिएका छैनन्।
अर्कातिर वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह जसरी पनि देउवालाई रोक्ने रणनीतिमा छ। त्यसका लागि साझा उम्मेदवार तय गर्ने उनीहरुको प्रयत्न छ। यद्यपि, साझा उम्मेदवार तय गर्न पनि निकै कठिन देखिएको छ। पौडेल समूहमा देखिएका आकांक्षीले आफू मात्रै साझा उम्मेदवार बन्नुपर्ने अडान लिँदै आएका कारण उनीहरुको मोर्चाबन्दी सफल हुन सकिरहेको छैन।
‘सबैले मै हुनुपर्छ भनेका कारण साझा उम्मेदवार बनाउन नसकिएको हो,’ अकांक्षीमध्येका एक पूर्वमहामन्त्री प्रकाशमान सिंहले भनेका छन्।
पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी हुन्।
१३ औँ महाधिवेशनबाट छुट्टै समूह बनाएर गतिविधि गर्दै आएका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि आशन्न महाधिवेशनमा उम्मेदवारी दिने तयारीमा छन्।
१३औं महाधिवेशनमा पहिलो चरणबाटै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले देउवालाई सभापतिमा सघाएका थिए। सिटौलाकै सहयोगका कारण देउवाले प्रतिद्वन्द्वी पौडेललाई हराएका थिए। तर, १४ औं महाधिवेशनको चहलपहल बढेसँगै यसपटक देउवालाई सघाउनेबारे सोच्न पनि नसकिने सिटौलाले बताएका छन्।
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष थापालाई नेतृत्वमा दोहोरिन चुनौती देखिए पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सहजै फेरि पार्टीको नेतृत्वमा दोहोरिने निश्चितप्रायः छ।
चितवनमा हुने भनिएको १० औँ महाधिवेशनबाट एमालेले अर्काे पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ। अध्यक्ष ओलीले विधान महाधिवेशन गरेर आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन्। यसअघि एमालेका अध्यक्षका दाबेदारका रुपमा हेरिएका नेताहरुले पनि हात उठाइसकेका छन्। विष्णु पौडेल, ईश्वर पोखरेललगायतका नेताहरुले ओलीलाई कसैले चुनौती दिन नसक्ने बताएका छन्।
यस्तै माओवादीले पुसमा गर्ने राष्ट्रिय सम्मेलनबाट प्रचण्डलाई नै अध्यक्षमा चयन गर्दैछ। चुनाव नगरी प्रचण्डलाई अध्यक्षमा अननुमोदन गराउने माओवादीले तयारी गरेको छ।
त्यसकै लागि प्रचण्डले देशव्यापी रुपमा कार्यकर्ताहरुलाई निर्विकल्प आफू नेतृत्व रहेको सन्देश दिइरहेका छन्। उनलाई पनि अध्यक्षमा चुनौती दिने नेता कोही देखिएका छैनन्।
Shares
प्रतिक्रिया