ad ad

राजनीति


न्यायाधीशहरुलाई प्रधानन्यायाधीशको जवाफ : बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन

न्यायाधीशहरुलाई प्रधानन्यायाधीशको जवाफ : बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन

फाइल तस्बिर


उजिर कार्की
कात्तिक ९, २०७८ मंगलबार १३:५, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाहिरबाट प्रश्न उठ्दैमा राजीनामा नदिने अडान लिएका छन्। 

मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन्।

भेटका क्रममा न्यायाधीशहरूले ठूलो विवाद आएको भन्दै जबरालाई सम्मानजनक हिसाबले मार्ग प्रशस्त गरिदिन भनेका थिए। 

त्यसपछि पछिल्लो समयको विवादबीच चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरूसँग पनि लिएका हुन्। 

उनले आफ्नो नियुक्ति संवैधानिक भएकाले बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने नरहेको जवाफ न्यायाधीशरुलाई दिएका हुन्। 

'मेरो नियुक्ति संवैधानिक नियुक्ति हो। बाहिरबाट कुरा उठ्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन', जबराले न्यायाधीशहरूलाई दिएको जवाफ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो।

उनले आफू पदमा रहुञ्जेल संवैधानिक दायित्व बहन गर्नबाट नचुक्ने उनले बताए। 'म जहिलेसम्म पदमा रहन्छु, आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध छु', उनले भने, 'तपाईंहरु पनि त्यसमा प्रतिवद्ध हुनुस्।' 

उनले सर्वोच्चका अन्य कतिपय न्यायाधीशहरूमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको बताएका छन्। 

'तपाईंहरुमध्ये कतिपयमाथि पनि प्रश्न उठेको छ। तपाईंहरु दिनुहुन्छ भने म पनि राजीनामा दिन्छु', जबराले भने, 'अहिले कतिपयमाथि पनि प्रश्न उठेको छ। जो जोमाथि प्रश्न उठ्छ, उनीहरुले राजीनामा दिँदै जाने हो त?'

यदि प्रश्न उठेका अन्य न्यायाधीशले राजीनामा नदिने हो भने आफू पनि पद छाड्न तयार नरहेको जवाफ उनले न्यायधीशहरुलाई दिए। 

'यदि त्यसो होइन भने म पनि राजीनामा दिन्नँ', उनले भने, 'सडकमा माग्दैमा राजीनामा दिँदै जाने हो भने न्यायालय चल्दैन। मेरो संवैधानिक नियुक्ति हो। मैले बाहिरिनु परेमा संवैधानिक बाटो अख्तियार गर्नेछु।' 

प्रधानन्यायाधीश जबरालाई भेटेर फर्किएका १५ जना न्यायाधीशहरु फेरि आन्तरिक छलफलमा जुटेका छन्। 

मध्यान्ह १२ बजेदेखि करिब आधा घण्टासम्म प्रधानन्यायाधीशसँग छलफल गरेका उनीहरुले मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए। 

जबराले मंगलबारलाई एकल र संयुक्तसहित आठवटा इजलास तोकेका थिए। तर अहिले पनि उनीहरु कुनै इजलासमा गएर मुद्दाको सुनुवाइ गर्न गएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .