ad ad

राजनीति


बाढीपहिरो पीडितको गुनासो : प्रधानमन्त्रीले कुरै सुनेनन्, आकाशबाटै हेरेर गए

बाढीपहिरो पीडितको गुनासो : प्रधानमन्त्रीले कुरै सुनेनन्, आकाशबाटै हेरेर गए

प्रधानमन्त्री देउवाकाे पर्खाइमा थलाराका पहिराेपीडित


गोकुल जोशी
कात्तिक ४, २०७८ बिहिबार २१:४७, महेन्द्रनगर।

बझाङको थलारा गाउँपालिका–४ डिक्लाबासी पहिरोको पीडाले शोकमग्न छन्। डिक्लाबासीले बुधबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षणका लागि गाउँमा आउने खबर सुने। 

पहिरोले शोकमा डुबेका गाउँले प्रधानमन्त्री देउवा गाउँमा आउने खबरले केही आशावादी बने। र, बिहीबार बिहानैदेखि प्रधानमन्त्रीको पर्खाइमा बसे। 

पहिरोपीडित आफूहरुसँग भेटघाट गरेर प्रधानमन्त्री देउवाले दुःखमा सान्त्वना दिने र राहत तथा क्षतिपुर्तिको कुरा गर्ने आशामा पीडितहरु थिए।

प्रधानमन्त्रीको हेलिकप्टर अवतरणका लागि पहिरोग्रस्त क्षेत्रको केही माथि हेलीप्याड पनि निर्माण गरिएको थियो। तर, प्रधानमन्त्री देउवा डिक्ला गएनन्। बिहानैदेखि प्रधानमन्त्रीका लागि सम्पूर्ण तयारी भए पनि उनी निरीक्षणमा नआए पछि  पहिरोपीडित निराश भएका छन्। 

‘दीपायलबाट डिक्ला आएर यतैबाट खप्तड छान्ना जाने भन्ने थियो। त्यसका लागि सम्पूर्ण तयारी पनि गरेका थियौँ’ थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टले नेपालखबरसँग भने, ‘तर आउनु भएन। सिधै चैनपुर जानु भयो।’

नजिकै पुगेर पनि प्रधानमन्त्री आफूहरुको पीडा सुन्न घटनास्थलमा नपुगेको भन्दै स्थानीयले चित्त दुखाएको उनी बताउँछन्। 

‘प्रधानमन्त्री र मन्त्रीज्यूहरुले हाम्रो समस्या बुझ्न खोज्नु भएन। आएर पीडा सुनेर केही राहत र क्षतिपुर्ति दिन्छन् कि भन्ने आशामा थियौँ’ उनले भने, ‘स्थलगत रुपमा अनुगमन गर्नु भएन। आकाशबाटै हेरेर जानु भयो।’

चैनपुरबाट प्रधानमन्त्री देउवा सिधै बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडको निरीक्षणका लागि गएका थिए।

‘पहिरोले ठूलो धनजनको क्षति गरेको स्थानमा किन आउनु भएन, आउनु पर्‍यो, नत्र जनता आन्दोलनमा उत्रिन्छन् भनेर अर्थमन्त्रीज्यूलाई संविधान सभा सदस्य एनपी रावलज्यूले फोन गर्नु भयो’ वडाध्यक्ष विष्ट भन्छन, ‘त्यस पछि एक फन्को हेलिकप्टर आकाशमै घुमाएर त्यहीँबाट हेरेर फिर्ता हुनु भयो।’ 

डिक्लामा मंगलबार बिहान पहिरोमा पुरिएर २३ जना बेपत्ता भएका थिए। ती मध्ये ३ जनाको शव भेटिएको छ। पहिरोले कयौँ चौपाया, खेतबारीमा क्षति पुर्‍याएको छ।

यता, सेती नदीले क्षति पुर्‍याएको बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडमा प्रधानमन्त्री देउवाले राहत र क्षतिपुर्तिको कुरा नै गरेनन्। बिहीबार दिउँसो आएका प्रधानमन्त्री देउवाले केही नभनी फर्किएको स्थानीय राजेन्द्र चन्दले बताए।

‘प्रधानमन्त्रीज्यूले ज्ञापन पत्र मात्रै बुझ्नुभयो। राहत र क्षतिपुर्तिका बारेमा कुनै ठोस बचन नै दिनु भएन’ उनले भने, ‘यसले गर्दा बाढी पीडितले चित्त दुखाएका छन्।’

प्रधानमन्त्री देउवा ढुंगाडबाट ‘सबै ठाउँमा यस्तै भएकाले केही निर्णय गर्ने’ मात्र भनेर फर्किएका थिए। 

वर्षेनी सेती नदीको डुबानमा पर्ने ढुंगाडबासीले बस्ती अन्यत्र सार्न प्रधानमन्त्री समक्ष माग गरेका थिए। सेती नदीको कटानले ढुंगाडबासीको उब्जाउ हुने जमीन बगर बनेको छ। 

बझाङ र बैतडीको अनुगमनपछि प्रधानमन्त्री देउवा डडेल्धुरा हुँदै महाकाली र जोगबुढा नदीको बाढीले डुबान भएका क्षेत्र कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाको अनुगमनमा आए। 

उनी बेलुका ५ बजे दोधारा–चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा पुगेका थिए। 

दिउँसो ३ बजे प्रधानमन्त्री देउवा पुग्ने तालिका थियो। सयौँ पीडित समस्या सम्बोधन हुने आशमा दिनभर कुरेर बसेका थिए। 

कार्यक्रममा एक मिनेट बोलेका देउवाले पहाडी भेगमा जस्तै बाढीपीडित समक्ष ठोस सन्देश दिन सकेनन्। 

उनले काठमाडौं फर्किएपछि पीडितहरुका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्ने मात्र भनेका छन्। 

प्रहरीले बाढीपीडितलाई विद्यालयभित्र प्रवेश गर्न नदिँदा प्रधानमन्त्री समक्ष समस्या राख्न नपाएको दोधारा–चाँदनी नगरपालिका–१० का हरिश खत्रीले गुनासो गरे। 

मनसुन सकिएपछिको भीषण वर्षापछि सुदूरपश्चिममा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टीम हेलिकप्टरबाट बिहीबार डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुर घुमेको छ। 

बिहीबारको रात प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बिताउने छन्। शुक्रबार (भोलि) बाढी तथा डुबानले धनगढीमा पुर्‍याएको क्षतिको जानकारी लिएर प्रधानमन्त्री देउवाको टिम काठमाडौँ फर्किने छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .