हडबढाउनु प्रधानमन्त्री शेरबहादुर देउवाको पुरानै बानी हो।
प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना खेपेका र हमालको राजीनामा पत्र बुझेर आइतबार पोखरा आएका देउवा यहाँ पनि चिप्लिए।
गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रममा बोल्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकीमै जन्मेको बताइदिए। खासमा दुवै कवि काठमाडौंमा जन्मिएका हुन्।
उनले भाषणको सुरुमै भने, ‘गण्डकी साक्षर घोषणा भएको छ। गण्डकी सरकारसहित सबैलाई बधाई। यो प्रदेशको इतिहासमा नै ठूला विद्वान् जन्मेको ठाउँ हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल यहीँ जन्मिनुभएको हो। मोतीराम भट्ट पनि यहीँ जन्मिनुभएको हो।’
गण्डकीबासीलाई उनले पहिलो साक्षर प्रदेश घोषणा भएकोमा बधाई पनि दिए। तर, यसअघि नै बागमती साक्षर प्रदेश घोषणा भइसकेको छ।
केही वर्षअघि भएको एउटा कार्यक्रममा पुरानो भाषण पढ्दा पनि प्रधानमन्त्री देउवा चिप्लिएका थिए।
Shares
प्रतिक्रिया