असार २९ मा शपथ लिएको ८८ दिनपछि शुक्रबार सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रा मान्छे छुटेको भन्दै दु:ख व्यक्त गरेका छन्।
चार दलीय गठबन्धनको मन्त्रिपरिषद्मा महत्वपूर्ण नेता छुटेको भन्दै उनले आफूलाई दु:ख लागेको बताएका छन्।
पार्टीमा महत्वपूर्ण योगदान गरेका क्षमतावान नेतालाई क्याबिनेटमा समेट्न नसकिएकोमा उनले दु:ख व्यक्त गरेका छन्।
पोखरा जानुअघि स्कुल अफ डेमोक्रेसीद्वारा प्रकाशित ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा उनले सबै राम्रा मान्छेलाई समेट्न नसक्नु आफ्नो बाध्यता भएको बताए।
'गठबन्धन सरकार भएकाले महत्वपूर्ण नेतालाई मन्त्री बनाउन नसक्नु मेरो बाध्यता हो', उनले भने, 'मेरो यो बाध्यता बुझिदिन नेताहरुलाई आग्रह गर्छु।'
देउवाले क्याबिनेटमा नसमेटिएका नेताहरूलाई भविष्यमा उचित भूमिका दिने आश्वासन दिएका छन्।
प्रधानमन्त्रीले शुक्रबार कांग्रेस,सत्ता साझेदार दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई समेटेर क्याबिनेट विस्तार गरेका थिए।
क्याबिनेट विस्तारलाई लिएर कांग्रेसको रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ। सत्ता साझेदार अन्य दलमा पनि असन्तुष्टि बढिरहेको सन्दर्भमा देउवाको भनाइ आएको हो।
भिडियो
Shares
प्रतिक्रिया