ad ad

राजनीति


उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई राष्ट्रिय जनमोर्चाको प्रस्ताव

उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई  राष्ट्रिय जनमोर्चाको प्रस्ताव

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ११:५३,

राष्ट्रिय जनमोर्चाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चुनावी तालमेलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रस्ताव पठाएको छ। दुई वर्ष अघि भएको आम निर्वाचनमा बाग्लुङ, प्युठानलगायतका जिल्लामा तालमेल गरेका नेकपा र राजमोबीच उपनिर्वाचनमा समेत तालमेल गर्न राजमोले पहल गरेको हो।

मंगलबार पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले एक वक्तव्य प्रकासित गरी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव पठाइएको जानकारी दिएकी छन्।

अहिले चुनावी तालमेल भएमा कास्कीको एक प्रतिनिधिसभा वा वाग्लुङ र दाङका प्रदेशसभाका कुनै क्षेत्रमा उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपालाई सहयोग गर्ने राजमोले जनाएको छ। उपनिर्वाचन हुने क्षेत्रमध्ये तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धन र राष्ट्रिय जनमोर्चाबीच तालमेल बाटै वाग्लुङ २ (ख) मा राजमोका तर्फबाट टेकबहादुर घर्तीमगर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनको निधनपछि सो स्थान खाली भएको हो।

यस्तै, राजमोले स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुनसक्ने स्पष्ट पारेको छ।

आगामी उपनिर्वाचनमा खाली रहेका एक प्रतिनिधिसभा सदस्य र तीन प्रदेश सभा सदस्सहित केही स्थानीय तहमा निर्वाचन हुनेछ।

प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं‍ २ मा उपनिर्वाचन हुनेछ । त्यहाँबाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो।

यस्तै प्रदेश सभामा तीन सिट खाली छ। दाङ ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो। भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो। त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि खाली छ। त्यस्तै, तीनवटा गाउँपालिकाको अध्यक्ष पद रिक्त छ। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएर खाली भएको हो।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदैछ। त्यस्तै, ३६ जिल्लाका ४१ वडाध्यक्ष पद खाली रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .