नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ। त्यसका लागि उसले गृहकार्य तीव्र बनाएको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै उनको गृह प्रदेशको राजनीतिमा तरंग आएको हो।
सकेसम्म नेतृत्व नै लिनेगरी सुदूरपश्चिम सरकारमा सहकार्य गर्ने विषयमा कांग्रेस नेताहरूले छलफल गरिरहेका हुन्।
केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेपछि सोहीआधारमा माओवादी केन्द्रसँग समझदारीमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा निरन्तर छलफल भइरहेको कांग्रेसका एक नेताले नेपालखबरसँग बताए।
‘वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेको छैन। त्यसैले बाँकी रहेको समयमा माओवादी केन्द्रसँगको साझेदारीमा नेतृत्व परिवर्तन गरी सरकारमा जाने विषयमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘राजनीतिक समीकरण पनि फेरबदल भएकाले छलफल सकरात्मक ढंगले अगाडि बढेको छ। यस बारेमा केही दिनमै निष्कर्षमा पुग्ने छौं।’
सुदूरपश्चिम प्रदेशको सत्ता साझेदारीबारे शीर्ष नेताहरूबीच छलफल भइरहेको उनको दाबी छ। यस विषयमा शीर्ष नेताहरूसँग लबिङ गर्न नेपाली कांग्रेस सुदूरपश्चिमका नेताहरू संघीय राजधानी काठमाडौं पुगेका छन्।
यस्तै मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र कृषिमन्त्री विनिता चौधरी पनि काठमाडौंमा राजनीतिक भेटवार्तामा व्यस्त छन्। मुख्यमन्त्री भट्टले शुक्रबार प्रधानमन्त्री देउवासँग भेट गरेका छन्।
केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेकाले सुदूरपश्चिम प्रदेश सरकारमा पनि सत्ता सहकार्य हुने सम्भावना बढ्दै गएको कांग्रेसका एक नेताको दाबी छ।
‘सत्ता सहकार्यका विषयमा गृहकार्य जारी छ। तर नेतृत्व नै लिने वा मन्त्री पठाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिएको छैन,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसै विषयमा सघन छलफल भइरहेको हो।’
नेपाली कांग्रेसले प्रदेश सभाको बाँकी कार्यकालका लागि आफ्नो नेतृत्वमा केन्द्रकै गठबन्धनको सरकार बनाउन गृहकार्य तीव्र पारेको हो। सुदूरपश्चिम प्रदेशमा अहिले माओवादी केन्द्र र नेकपा एमाले नेपाल समूहको गठबन्धन सरकार छ।
जेठ २५ मा विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई सरकारमा ल्याउन छलफल अगाडि बढाउने बताएका थिए। भट्ट नेतृत्वको सरकार ढाल्न सक्रिय एमालेको ओली समूहका कैयौं प्रयास विफल भएका थिए।
एमालेको नेपाल समूहको साथले माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको हो। विश्वासको मत दिने बेला कांग्रेस तटस्थ बसेको थियो।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा सभामुखसमेत एमालेका २५ (नेपाल १७, ओली ७), माओवादी केन्द्रका १४ (एक जना निलम्बन), नेपाली कांग्रेससका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि एमालेको नेपाल समूहले पनि दाबी गरेको छ। तत्कालीन नेकपा हुँदा आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको तथा सबैभन्दा ठूलो पार्टी भएकाले नेतृत्वमा दाबी गरिएको एमाले नेताहरूको भनाइ छ। नेपाल समूहले प्रदेश सरकारमा अहिले ६ मन्त्रालय पाएको छ।
Shares
प्रतिक्रिया