ad ad

विचार


बाइडेनले पुनर्स्थापित गर्लान् अमेरिकाको त्यो हैसियत?

बाइडेनले पुनर्स्थापित गर्लान् अमेरिकाको त्यो हैसियत?

डान ब्रेजनिट्ज र डेविड एड्लर
पुस २१, २०७७ मंगलबार १२:१८,

कोभिड–१९ महामारी सुरु हुँदै गर्दा अमेरिकामा मास्क र भेन्टिलेटरको अभावले उत्पन्न गरेको हाहाकार अहिले शान्त भएको छ। तर, ती भयानक केही सातालाई अहिले नै बिर्सिनु उपयुक्त हुँदैन। स्वास्थ्य सामग्री जुटाउन परेको धपेडीले अमेरिकी अर्थतन्त्रबारे निकै डरलाग्दो खुलासा गरेको छ– अमेरिका संकटको बेला आफूलाई आवश्यक पर्ने सामग्री उत्पादन गर्न सक्दैन। भलै त्यो सामग्री अमेरिकामै आविष्कार भएको किन नहोस्।

गएको दुई दशकमा अमेरिकी अर्थतन्त्रले उद्योगलाई विदेशमा सार्ने बाटो पछ्याएको छ। अरु सबैथोकभन्दा छोटो समयमा नाफा कमाउने विचारबाट प्रेरित भएर यो प्रवृत्ति अँगालिएको हो। कुनै समय अमेरिका उत्पादनको महाशक्ति मानिन्थ्यो। अहिले अमेरिका त्यस्ता कर्पोरेसनहरुले भरिएको छ, जसले उत्पादन विदेशमा सारेका छन्। तिनले स्वदेशमा वस्तु उत्पादन गर्ने क्षमता गुमाइसकेका छन्। उनीहरुसँग अमेरिकामा थोरैलाई रोजगारी दिनसक्ने कम्पनी मात्रै छन्। अमेरिका पीपीईदेखि लिएर स्मार्टफोन र ल्यापटपजस्ता अत्यावश्यक वस्तु पनि उत्पादन गर्न सक्दैन।

छोटो अवधिमै ठूलो नाफा हुने र निश्चित उपभोग्य सामग्रीको मूल्य सस्तो हुने हुँदा यस प्रवृत्तिबारे अमेरिकीहरु चुपचाप छन्। तर, यसबाट मुलुकले गतिशील अर्थतन्त्रका लागि अत्यन्त आवश्यक तत्व गुमाएको छ। त्यो हो– गुणस्तरीय रोजगारी। राम्रो तलब भएको काम नपाउँदा निराश भएका लाखौँ मानिसहरु लागूऔषध ओभरडोज, आत्महत्या र अल्कोहलिजमका माध्यमबाट ज्यान गुमाइरहेका छन्।

उत्पादन विदेशमा सर्दा अमेरिका अहिले अत्यावश्यक वस्तुका लागि अन्य मुलुक, खासगरी चीनमाथि निर्भर भएको छ। हामीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीदेखि, फाइभजी उपकरणदेखि लिएर साधारण पेचसमेत आयात हुन्छ। अमेरिकामा प्रयोग हुने ९५ प्रतिशत मास्क र ७० प्रतिशत रेस्पिरेटर विदेशमा उत्पादन हुन्छ। अमेरिकाको अन्तिम पेन्सिलिन कारखाना सन् २००४ मै बन्द भएको थियो।

यो बाटोमा अमेरिका कति परसम्म पुगेको छ भन्ने जानकारी हामीलाई महामारीले दिएको छ। जसले अर्को संकटअगावै दिशा परिवर्तन गर्ने मौका पनि दिएको छ।

रोजगारी वृद्धि र आर्थिक सुधारका लागि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ‘बिल्ड ब्याक बेटर’ योजना अघि सारेका छन्। तर, उनका अघिल्तिरको चुनौती ठूलो छ। आगामी १० वर्षमा अमेरिकाले एसिया र ग्रेटर चाइना क्षेत्रबाट समग्र उत्पादनको एक चौथाइ हिस्सा अमेरिका फिर्ता गर्ने प्रयास गर्नुपर्छ। त्यसले आगामी संकटका लागि अमेरिकालाई तयार मात्र पार्ने छैन, विश्वव्यापी उत्पादक र राम्रो रोजगारीको गढका रुपमा पनि अमेरिकाको हैसियत पुनर्स्थापित गर्नेछ।

आधुनिक उपकरण उत्पादनको मामिलामा अमेरिका धेरै क्षेत्रमा पछाडि परिसकेको छ। उदाहरणका लागि फाइभजी र कम्प्युटर चिप्सलाई लिन सकिन्छ। यस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्नुको साटो अमेरिकी अर्थतन्त्रले निकै कम तलब दिने सेवामूलक रोजगारी थपिरहेको छ। ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सका अनुसार आगामी दशकमा सबैभन्दा बढी थपिने रोजगारीको क्षेत्र ‘घरेलु स्वास्थ्य तथा व्यक्तिगत हेरचाह’ हुनेछ। जुन कामको वार्षिक तलब २५ हजार डलर मात्र हुनेछ। उच्च तलब भएका जर्मनी र स्वीट्जरल्यान्डजस्ता मुलुकले महंगा वस्तुको उत्पादन बढाएका छन्। अमेरिकाले पनि त्यस्तै गर्नुपर्छ।

यो काम गर्न सकिन्छ। किनभने अमेरिका अझै पनि विश्वको दोस्रो ठूलो उत्पादक हो। यसका लागि अमेरिकासँग पर्याप्त सीप छ। अमेरिकाले शून्यबाट सुरु गर्नुपर्ने अवस्था होइन।

तर, एउटा महत्वपूर्ण कुराको अभाव भने खट्किरहेको छ। त्यो हो– अमेरिकामा निर्मित वस्तुको दिगो माग।

स्थिर र दीर्घकालीन मागबेगर कुनै पनि कम्पनीले उत्पादन क्षमता बढाउन लगानी गर्नेछैन। त्यस्तै, कामदारले पनि आवश्यक सीप हासिल गर्न लगानी गर्नेछैन। मागविना आपूर्ति व्यवस्थामा सरकारी लगानी पनि प्रभावकारी हुँदैन।

अमेरिकामै एन९५ मास्क उत्पादन गर्ने अन्तिममध्येको एक कम्पनी प्रेस्टिज म्यानुफ्याक्चरिङको उदाहरण यहाँ सान्दर्भिक हुनसक्छ। सन् २००९ मा स्वाइन फ्लु महामारीका बेला सो कम्पनीले आफ्नो उत्पादन क्षमता बढायो। कामदारको संख्या पनि थप्यो। तर, महामारी सकिएपछि अस्पतालहरुले फेरि विदेशी उत्पादककै मास्क किन्न थाले।

‘अस्पतालहरुले हाम्रो मास्क किनेनन्। हामीले डेढ सय कर्मचारी हटाउनुपर्‍यो,’ सो कम्पनीका अध्यक्ष माइक बोवेन भन्छन्। कोभिड–१९ संकट सुरु भएपछि सो कम्पनीले दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्ने अस्पतालका लागि मात्रै थप मास्क उपलब्ध गरायो। फलस्वरुप उत्पादन वृद्धि गर्न ६ महिना लाग्यो। भविष्यमा माग स्थिर रहने ग्यारेन्टी भएको भए सो कम्पनीले अहिलेभन्दा निकै बढी मास्क उत्पादन गर्न सक्ने थियो।

यदि यस्ता वस्तु अमेरिकामै उत्पादन गर्ने हो भने सरकारले संघीय, राज्य र स्थानीय तहबाट नियमित रुपमा ती सामग्री खरिद गर्नुपर्छ। स्वास्थ्य सामग्री मात्र होइन, अन्य उद्योगको हकमा पनि यही सर्त लागू हुन्छ।

करदाताको पैसा विदेशी उत्पादनलाई अनुदान दिनमा खर्च गर्नु हुँदैन। संकटका बेला सरकारले सहयोग गरेका कम्पनीहरुले उत्पादनको ठूलो हिस्सा अमेरिकामै फर्काउन आवश्यक छ। स्थिर माग सुनिश्चित गर्न विदेशी उत्पादकलाई मूल्यमा चलखेल गर्न पनि दिनुहुँदैन।

अमेरिकामा निर्मित उत्पादनका लागि दिगो माग पैदा गर्ने प्रमुख माध्यम उपभोक्ता हुन्। कम्पनीहरुले स्वदेशी सामानप्रतिको अमेरिकीहरुको मोहलाई उपयोग गरिरहेका छन्। ती कम्पनीले चीनमा बनेका सामानलाई ‘अमेरिकी सामान’ भन्दै गौरवपूर्वक बेचिरहेका छन्। अझ केही उपभोक्ता त राम्रो, स्वस्थ र नैतिक हिसाबले उत्पादित सामग्रीलाई थप मूल्य तिर्न पनि तयार छन्।

प्रमाणीकरण, लेबल र मार्केटिङका माध्यमबाट माग वृद्धि गर्न सकिन्छ। औषधि उत्पादन कहाँ र कसरी भएको हो भन्ने खुलासा गर्ने प्रस्ताव ल्याउने विषय सिनेटमा विचाराधीन छ। यो राम्रो कदम हो। यसलाई अन्य उद्योगमा पनि विस्तार गर्नुपर्छ।

कुनै पनि सामानको सोर्सिङ र उत्पादन कति प्रतिशत अमेरिकामा भएको हो, उद्योगहरुले खुलाउनै पर्ने कानुन आवश्यक छ। पुरै चीनमा निर्मित सामानको प्याकेटमा ‘एक अमेरिकी परम्परा’ जस्ता वाक्यांश लेख्नु गैरकानुनी बनाइनुपर्छ।

कोभिड–१९ ले राष्ट्रिय कमजोरीलाई उदांगो बनाइदिएको छ। यो काम निकै कठिन छ र यसले नतिजा दिन वर्षौँ लाग्नेछ। तथापि, अमेरिकीहरुको आगामी पुस्ताका लागि समृद्धि सुनिश्चित गर्ने मौका पनि छ। त्यस्तै, अर्को संकटका बेला हामी यति कमजोर पनि रहने छैनौँ। अमेरिकाले आफैँमाथि पुनः विश्वास गर्ने समय यही हो।

(द न्युयोर्क टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .