टाढाबाट नेपाली राजनीतिबारे हतपती नलेखुँ भन्ठान्छु। त्यस्तो राजनीति, जहाँ न बोलीको ठेगान छ, न व्यवहारको! न सिद्धान्तको ठेगान छ, न आदर्शको! न लाज छ, न घिन!
त्यस्तो राजनीति, जहाँ नागाहरूले कपडाधारीलाई लाजको पाठ पढाउँछन्। र, कपडाधारीहरू, नागाहरूको लाजको बचाऊ गर्छन्। नागाहरूको बिगबिगी भएको नेपाली राजनीति र लोकतन्त्रका विषयमा टाढाबाट म के टिप्पणी गरूँ? कति टिप्पणी गरूँ?
सबै ‘नागा’, ‘बाबा’ हुँदैनन्। बाबा हुनु एउटा कठिन कर्म हो। यस्तो कठिन कर्ममा लागेका बाबा आजको नेपाली राजनीतीमा सायदै छन्।
यस्तो लाग्दै छ- नेपाली राजनीतिमा अब नाङ्गिन केही बाँकी छैन, कोही बाँकी छैन। बाबा हुने बाटोमा त कोही छैन।
कोही नझुक्निुहोला- म यहाँ ‘बा’को होइन, ‘बाबा’को कुरा गरिरहेको छु। बाबा के हो? को हो? अरू कुनै बेला भनौँला। म यहाँ आज बाबाहरूको होइन, नागाहरूको कुरा गर्दै छु। र, कुरा गर्दै छु- नाङ्गिँदै गएको लोकतन्त्रको।
म किन किन टाढाबाट हिजोआज नेपाली राजनीतिमा बाबा होइन, केवल नागाहरू देखिरहेको छु। र, देखिरहेको छु- नाङ्गिँदै गएको लोकतन्त्र। यो मेरो दृष्टिदोष वा चैतन्यदोष भए, मलाई सक्दो गाली गर्नुहोला। स्वीकार छ। गाली सदैव अप्रिय हुँदैनन्।
मलाई थाहा छैन- नेपाली राजनीतिक नेताहरूले पशुपतिमा महाशिवरात्रिमा आउने जटाधारीहरूले जस्तो गाँजा तान्छन्/तान्दैनन्। तर तिनले गर्ने सिद्धान्त, लोकतन्त्र, सुशासन र विकासका गफ टाढाबाट गँजडीका गफजस्ता सुनिन्छन्। सुनेको मैले मात्र हो कि अरूले पनि त्यस्तै सुन्छन्, मलाई थाहा छैन।
मैले फेरि पनि भनेँ- यो मेरो दृष्टिदोष वा श्रव्यदोष भए, मलाई गाली गर्नुहोला, अचेल मलाई गाली प्रिय लाग्छ। म टाढाबाट आज गम्भीर भएर नेपाली नेताहरूलाई भन्दै छु- नेपालमा यो खालको लोकतन्त्र अब काम छैन। तपाईंहरू गँजडीका गफजस्तो सुनिनुभएको छ।
जस्तो सुनिएको छ, मैले त्यस्तै भनेको हुँ है! मैले सुनेको ठिकै हो भने नेपाली जनतालाई यस्तो लोकतन्त्र चाहिएकै होइन। नेपालमा अहिलेको जस्तो लोकतन्त्र कसलाई चाहिएको छ? अलि पछि भनौँला।
अहिलेलाई यति भनिहालौँ- अब नेपालमा आजको जस्तो लोकतन्त्र होइन, अनुशासित वा नियन्त्रित लोकतन्त्र आवश्यक छ, केही समयका लागि। फेरि दोहोर्याएर भन्छु- नेपालमा अब कि त ‘अनुशासित’, कि त ‘नियन्त्रित’ लोकतन्त्र आवश्यक छ, केही समयका लागि।
यो लेख्नुअघि मैले कतिपय जान्नेसुन्नेहरूलाई सोधेँ- अनुशासित कि नियन्त्रित लोकतन्त्र? धेरैले अनुशासित शब्द उपयुक्त हुने सल्लाह दिए। खै किन हो, नियन्त्रण भन्ने शब्द त्यति मन पराउँदैनन् मान्छे? मानव जातिलाई नियन्त्रण भन्ने शब्दसँग किन यतिसारो डर छ, मलाई ठयाक्कै थाहा भएन। तर मैले आजसम्म यो दुनियाँमा खास नियन्त्रण वा अनुशासनबिना मान्छे र देशले प्रगति गरेको देखेको छैन।
स्कान्डेभिएन देश, अरेबिक देश, अमेरिका, जापान, चीन, दक्षिण कोरिया वा अहिलेको भारत, जहाँ विकास र समृद्धि छ, अहँ! त्यहाँ कहीँ पनि नेपालको जस्तो लोकतन्त्र छैन। भलै तिनै समृद्ध देश किन नेपालमा अहिलेको जस्तो लोकतन्त्रलाई मलजल गरिरहेका छन्, म छक्क परिरहेको छु। आजको दुनियाँमा सिर्फ लोकतन्त्र खासमा ‘सो कल्ड’ (तथाकथित) विषय हो। अझ खासगरी, नेपालजस्तो अर्धचेत भएको समाजमा।
हिजोको समाज, जहाँ अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवाधिकारजस्ता लोकतन्त्रका आधारभूत विषय प्रकट हुने सीमित माध्यम थिए, त्यो बेलासम्म लोकतन्त्र भन्ने शब्दले मात्रै पनि ठिकै काम गरेको थियो। तर अब हिजोको जस्तो लोकतन्त्रले कामै गर्दैन।
हिजो स्वतन्त्रता, लोकतन्त्रको पहिलो सर्त थियो, आज अनुशासन लोकतन्त्रको पहिलो सर्त भन्ने स्थितिमा हामी आइपुगेका छौँ। हिजो हामी जेका निम्ति लडनुपर्थ्यो, आज ती ‘बाई डिफल्ट’ प्राप्त हुने स्थितिमा हामी छौँ।
यो स्थितिमा हिजोको जस्तो लोकतन्त्र अब कहीँ पनि काम लाग्दैन, नेपालजस्तो अर्धचेत भएको समाजमा त झनै काम लाग्दैन। नेपालमा भइरहेका ‘सो कल्ड’ लोकतान्त्रिक अभ्यासले पनि के देखाउँछन् भने लोकतन्त्र मात्र विकास र समृद्धिको पहिलो सर्त होइन रहेछ।
हामीलाई ‘सो कल्ड’ लोकतन्त्र चाहिएको हो कि मौलिक समृद्धि? मैले मौलिक समृद्धि शब्द यसकारण प्रयोग गरिरहेको छु कि जुन देश समृद्ध छन्, तिनमा विकास र समृद्धिको एक खालको मौलिकता छ। एक खालको लय छ। वर्णशंकर विकास छैन।
नेपालमा अलिअलि अहिलेसम्म भएको विकास पनि वर्णशंकर छ। नेपालले के खोजिरहेको छ? कस्तो विकास खोजिरहेको छ? मैले आजसम्म यसतर्फ कतै बहस भएको सुनेको छैन।
ठूला माछाको हल्ला गरेर उदाएका नयाँ भनिएका रविहरू पनि तिनै ठूला माछाको चक्करमा सिधिन्छन् कि जस्तो देखिएको छ। अपराधका सामान्य घटना पनि जब राज्य वा पार्टीको मूल एजेन्डा बन्छन्, तब त्यस्तो देशले कहिले विकास र समृद्धिको बाटो पक्रन्छ र देश उँभो लाग्छ?
अहँ! मैले त कतै सुरुङमा उज्यालो देखेको छैन। यसैले म भनिरहेको छु- नेपालमा अब यो खालको लोकतन्त्र काम छैन।
अलिकति अनुशासित, अलिकति संयमित, अलिकति नियन्त्रित लोकतन्त्र आजका नेपाल वा नेपालजस्ता देशको आवश्यकता हो।
अब नेपाली लोकतन्त्रमा अलिकति ‘ट्विस्ट’ जरुरी छ। नेपालमा यसको बहस होस् भन्ने म चाहन्छु। होइन भने बितेका १७ वर्षमा गिजोलिएको नेपाली लोकतन्त्रलाई पशुपतिनाथले पनि बचाउन सक्दैनन्, बचाए पनि यस्तै रूपमा मात्र बचाइराख्छन्।
कोही नेपाली लोकतन्त्रलाई आजको जसरी नै बचाइरहन चाहन्छ? भन्नुस है! चाहनुहुन्छ भने मेरो भन्नु केही छैन। म त टाढाको मान्छे।
टाढाबाट हेर्दा म देखिरहेको छु- नेपाली लोकतन्त्र अब आफना अन्तिम दिन गनिरहेको छ। घाटे वैद्यकहाँ छ- नेपाली लोकतन्त्र, जो मरेको पनि छैन, बाँचेर पनि केही गरिरहेको छैन। यस्तो लोकतन्त्र के लोकतन्त्र? अघि अलि माथि मैले एउटा कुरा भन्छु भनेको थिएँ- यस्तो लोकतन्त्र कसलाई चाहिएको छ?
अब भनौँ- नेपालमा अहिलेको जस्तो लोकतन्त्र, भित्रका भन्दा बाहिरकाहरूलाई बढी चाहिएको छ।
कतिपय नेपाली बुद्धिजीवी- बाह्य खेलाडी भन्छन्, म बाह्य कोच भन्छु। हो, ती कोचलाई मात्र नेपालमा अहिलेको जस्तो लोकतन्त्र चाहिएको छ, जहाँ खेलाडी जति भयो, त्यति यताउति गर्ने अवसर बढी पाइन्छ।
खेलाडी नयाँ वा पुराना, ती सबै ‘कोच’का प्रिय पात्र हुन्। खेलाडी प्रचण्ड, देउवा, ओली, माधव, रवि वा जे नामका होऊन्, कोचहरूलाई कुनै फरक पर्दैन, उनीहरूलाई त केवल खेल खेलाउनु र सके आफ्ना पक्षलाई जिताउनु छ। कोचले आफूलाई कहिले बाहिर उतार्छ, खेलाडीलाई थाहा हुन्छ? नेपालमा खेलाडीको संख्या बढेको छ, तर कोच उनै छन्। हार्दै गरहेको छ देश। हार्दै गइरहेको छ लोकतन्त्र।
हार्दै गइरहेको नेपाली लोकतन्त्रलाई जिताउन सक्ने आजको एउटा मात्र सम्भावित पात्रबारे म अर्को साता केही लेख्दै छु गम्भीरतापूर्वक। जसका विषयमा अहिले तपाईं अनुमान गर्न सक्नुहुन्छ।
ठीक अनुमान गरेर मलाई खुसुक्क भन्नुहोला- म अर्को साता तपाईंले भनेकै पात्रबारे लेख्दै छु, जसले घाटे वैद्यकहाँ पुगेको नेपाली लोकतन्त्रलाई एकपटक घर फर्काउन सक्छ।
Shares
प्रतिक्रिया