विचारभन्दा माथि देश हो?
टाढाबाट सुरुमै यत्तिचाहिँ भनिहालौँ – हो।
हो, भनिसकेपछि सुरुमै गाँठो फुकाएको महसुस भएको छ।
हो, म किन भनिरहेको छु, यसको व्याख्या र तर्क क्रमशः गर्दै जाउँला।
मैले अघि ‘गाँठो’ शब्द प्रयोग गरेँ, एकादुई वाक्यमा यसको पनि अलिकति चर्चा गरिहालौँ। नेपाल कहिले राणाको, कहिले राजाको, कहिले प्रजातन्त्रको, कहिले लोकतन्त्रको, कहिले मार्क्सवादको, कहिले लेनिनको, कहिले माओवादको, कहिले प्रजातान्त्रिक समाजवादको गाँठोमा परिरह्यो।
कति गाँठा कति!
सधैं गाँठा।
सबैका गाँठा।
यस्तो लाग्छ – हरेक पार्टी र नेता गाँठा बनाउन तल्लीन छन्। यस्तो भइसक्यो कि नेपाल गाँठाहरूको देश हो, जसलाई फुकाउन असम्भव प्रायः छ।
हुँदाहुँदा, बाह्य शक्तिसमेत नेपालमा गाँठा मात्र बनाइरहेका छन्। बाह्य शक्तिका गाँठा झन् यसरी कस्सिँदै गएका छन्, जसका उदाहरण मसँग भरमार छन्, जो म आजै भन्न चाहन्नँ।
यत्ति मात्र भन्छु – गाँठाहरू फुक्नेवाला छैनन्।
नेपालको अहिलेको राजनीति, त्यसको नेतृत्व र नेपाली समाजले यी गाँठाहरूलाई कति बुझेको छ वा छैन, मलाई ठयाक्कै थाहा छैन। म त टाढाबाट यत्ति मात्र देखिरहेको छु – झनझन् गाँठो पर्दै गएको देश हो – नेपाल।
म अहिले विश्वको नम्बर १ खेलाडी अमेरिकामा छु। जन्मे/हुर्केको नेपालमा हो, जसका छिमेकी चीन र भारत हुन्। मैले यी तीन देशको नाम यसै लिएको होइन। यसका कारण छन् र गाँठा छन्। यी गाँठा मैले नजिकबाट देखेको र झेलेको छु।
यो भन्दा बढ्ता अहिले म केही नभनौँ।
अब, विचारभन्दा माथि देश हो कि होइन भन्ने विषयमा प्रवेश गरौँ।
यसमा प्रवेश गर्नुअघि यो सोधिहालौँ – गाँठा विचारका हुन् कि देशका?
अक्सर मानिस भन्छन् – गाँठाहरू विचारका हुन्, देशका होइनन्।
मेरो प्रश्न – उसो भए ती विचार हामीलाई किन चाहियो, जसले गाँठा मात्र पारिरहन्छन्?
जवाफ सरल र सिधा छ – त्यस्ता विचार भाँडमा जाऊन्।
यत्ति भनिसकेपछि अब मलाई भन्न कुनै धक छैन – यो मानेमा नेपालका रवीन्द्र मिश्र सही छन्।
खासमा रवीन्द्र मिश्र न मेरा प्रिय पात्र हुन् न म उनको प्रिय पात्र हुँ। सायद हामी एकअर्कालाई जान्दैनौँ पनि।
तर मिश्रको विचारभन्दा माथि देश भन्ने कुरामा म पूर्णतः सहमत छु।
सहमत यसकारण – विचारमा कहिल्यै स्थायित्व हुँदैन, जस्तो स्थायित्व देशमा हुन्छ।
भारतका चर्चित दार्शनिक यूजी कृष्णमूर्ति पश्चिमा दार्शनिकलाई अक्सर सम्झाउने गर्थे – विचारमा स्थायित्व हुँदैन।
हुन पनि विचार – तत्क्षण, तत्कालीन परिवेश, भावावेश र ज्ञानको परिधि भित्रबाट पैदा हुने कुरो हो, जो समय, परिस्थितिअनुसार परिवर्तन भइरहन्छ।
तत्कालीन परिवेश, भावावेश र ज्ञानको सीमित परिधिबाट उत्पन्न हुने विचार, कसरी एउटा निश्चित भूगोल र परिवेशभन्दा माथि हुनसक्छ?
अहँ, हुनै सक्दैन।
म फेरि पनि भन्छु – स्थिर देशभन्दा माथि अस्थिर विचार हुनै सक्दैन। विचार अस्थिर चिज हो, देश स्थिर। हामीले २०४६ ताका भन्यौँ – संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र सबैभन्दा उत्कृष्ट। ऊबेला हाम्रा लागि त्यो नै उत्कृष्ट विचार थियो। त्यसको केही वर्षपछि माओवादी आयो, नेपालको राजनीति खलबलियो। यसरी खलबलियो कि हामीले नै भन्न थाल्यौँ – लोकतान्त्रिक गणतन्त्र।
विचारको परिवर्तन हुन धेरै समय लागेन।
विचार यस्तो चिज हो, जसको ठेगान हुँदैन।
जो विचार तत्कालीन लहड, फाइदा, जोड–घोटाउको विषय भइरहेको छ; त्यो विचार कसरी देशभन्दा माथि हुनसक्छ?
अहँ, यो त हुनै सक्दैन।
यसो भनेर रवीन्द्र मिश्रले के गल्ती गरे र नेपाली राजनीतिक समाजले उनलाई अछूतजस्तो व्यवहार गरिरहेको छ? मैले बुझ्न सकिरहेको छैन।
रवीन्द्र मिश्रका कतिपय सैद्धान्तिक चिन्तनका विपक्षमा मेरा अनेक तर्क छन्। तर विचारभन्दा माथि देश भन्नेमा भने म पक्षमा छु। यसकारण पक्षमा छु – विचार जो आफैँमा स्थिर छैन, यसको के पक्षमा लागिरहनु?
यो अलि दार्शनिक कुरा भो, अब अलि व्यावहारिक कुरा गरौँ है।
व्यावहारिक कुरा के भने राणाहरूले सिंहदरबार बनाए, जुन आज लोकतान्त्रिक गणतन्त्रको पनि शानको प्रतीक छ, जहाँ बसेर आजका शासकले पनि शानसँग शासन चलाइरहेका छन्।
पञ्चायतका प्रवर्तक राजा महेन्द्रले अनेक बाटाघाटा खोले, ती आज लोकतान्त्रिक गणतान्त्रिकका पनि शानका प्रतीक छन्।
विचारका दृष्टिले न त्यो समय ठीक थियो, न शासन प्रणाली।
तर त्यही समय बनेको सिंहदरबार हामीलाई किन आज पनि प्रिय लाग्छ?
किन आज पनि महेन्द्र राजमार्ग हामीलाई सहज लाग्छ?
त्यो सिंहदरबारले धेरै विचारका परिवर्तन देख्यो, तर आज पनि त्यही सिंहदरबार नेपाली राजनीतिक नेतृत्वको प्रिय छ।
ब्रिटिस राजले भारतमा रेलको जस्तो सञ्जाल बनाइदियो, त्यो सञ्जाल आजको भारतको पनि विकासको नमुनाको प्रतीक हो।
अमेरिकाले कम्युनिज्मलाई निषेध गर्छ, तर देश सबैलाई थाहै छ – सर्वशक्तिमान छ।
जर्मनी वा युरोपमा, रुस वा चीनमा कुन बेला के विचार थियो? त्यसको हिसाबकिताब छ र?
हिसाबकिताब त देश कस्तो बन्यो भन्नेमा पो छ त? हिसाबकिताब त मान्छेको जीवन भोगाइमा के परिवर्तन आयो भन्नेमा पो छ।
अक्सर मान्छेको जीवन सिद्धान्तमा होइन, व्यववहारमा चल्दोरहेछ। कस्तो व्यवहार भने तिर्खाएकाहरूको बस्तीमा पानीका धारा चाहिएको हो, ती कसरी प्राप्त हुन्छन् भन्ने लप्फाजी चाहिएको होइन।
दुनियाँमा कुनै पनि यस्तो देश छैन, जहाँ देशभन्दा माथि विचार होस्।
विचार त बहसको विषय हो। देश बहसको विषय होइन।
यसो भनेर रवीन्द्र मिश्रले के खराब गरे? र, उनलाई नेपाली राजनीतिक वृत्त, तथाकथित राजनीतिक बुद्धिजीवीहरू र मिडियाले किन होच्यायो? म चकित छु।
रवीन्द्र मिश्रका चालढालप्रति मेरा गुनासा होलान्। छन् पनि। कुनै दिन मिश्रसँग भेट भए भनौंला पनि।
मेरा जस्ता गुनासा भए पनि नेपाली राजनीति र देशका लागि मिश्र खराब नियत भएका मान्छे होइनन्। अध्ययन, अनुभव, तर्क, ज्ञान, स्पष्टता र इमान्दारीका हिसाबले मिश्र – नेपालको पुरातन राजनीतिको नेतृत्वभन्दा कैयौं गुणा माथि हुन्।
तर उनी पनि भित्तामा परे। उनलाई पनि भित्तामा पारियो।
मिश्र यसरी भित्ता लगाइनुपर्ने पात्र हुन्?
अहँ, हुँदै होइनन्।
यो बडो खतरनाक खेल छ।
हेर्दै जानुस्, नेपालमा यस्ता अनेक खेल हुँदै जानेवाला छन्।
यस्ता खेल, जहाँ हरेकलाई ‘फेल’ गराइन्छ।
अहिले अक्सर नेपालीजनमाझ राजनीतिमा स्वतन्त्र र बाहिर पढेलेखेका मान्छेहरूको प्रवेशको हौवा पिटाइँदै छ।
लेखेर राख्नूस् – अब सकिने पालो यिनको हो।
हरेक विकल्पलाई सिध्याउने र एउटा निर्विकल्पता खडा गर्ने। त्यो निर्विकल्पता के हुन्छ, आजै भन्न चाहन्नँ।
अहिले स्वर्णिम वाग्ले, विश्व पौडेलहरू र अनेक रूप–अवतारका स्वतन्त्रहरू मैदानमा खडा हुँदै छन्।
मान्नुस्, यिनले चुनाव जिते पनि, अन्ततः यिनलाई पनि असफल साबित गराइनेछ। यिनले पनि खासै केही गर्न सक्ने छैनन्।
पञ्चायतकालमा पनि बाहिरबाट पढेर आएका अनेक पात्र थिए। डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा, डा. मोहम्मद मोहसिन, डा. मोहनमान सैँजु, डा. किशोरकुमार गुरुघराना, डा. देवेन्द्रराज पाण्डे। डा. (डाक्टर) कति हो कति! सबैको म नाम अहिले सम्झन्नँ।
बहुदलीय प्रजातन्त्रमा पनि जल्दाबल्दा डाक्टर थिए – कांग्रेसका डा. रामशरण महत, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, डा. जगदीश पोखरेल, पछि आएका डा. शंकर शर्मा र डा. मिनेन्द्र रिजाल...। एमालेका डा. युवराज खतिवडा, डा. डिल्ली खनाल। अरू पनि डाक्टर कति कति!
ती कतिपय डा. हरू समयक्रममा हराएर गए, जसले माखो मार्न सकेनन्।
त्यो इतिहास सम्झिँदै गर्दा म डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेलहरूलाई पनि सम्झिरहेको छु।
स्वर्णिम र विश्व पौडेलबारे म अर्को कुनै दिन छुट्टै लेख लेख्नेछु। ती दुवैप्रति मेरो प्रेम छ। तर डर छ – ती पनि आफू हार्ने खेल किन खेल्दै छन्?
तिनको व्यक्तिगत महत्वाकांक्षा र आफ्नो ज्ञानको घमण्डप्रति मेरो खासै टिप्पणी छैन। टिप्पणी यत्ति मात्र हो – ती पनि कुनै दिन डा. डिल्लीराज खनालजस्तै हुने छन्। उनलाई पनि त्यस्तै बनाइनेछ।
स्वतन्त्र र पढेलेखेकाहरू भन्ने भ्रमको दौडमा ती किन सामेल भइरहेका छन्, कुनै दिन उनीहरूसँगै मौका पारेर गफ गरौँला।
तर स्वतन्त्र र पढेलेखेका भन्नेहरूको यो खहरे पनि छिट्टै सुक्नेछ भन्ने मलाई थाहा छ। यसमा बालेन शाह र रवी लामिछानेको खहरे त के खहरे?
डर यत्ति मात्र हो – यी खहरे पनि सुकेपछि नेपालको बेंसीको मेरो खेतको रोपाइँ कसरी हुन्छ?
यसरी सबै सिधिँदै गएपछि मैले नेपालमा मान्न लायकको मान्छे को रहनेछ? टाढाबाट म डराइरहेको छु। नजिकैका नेपाली डराइरहनुभएको छ कि छैन, मलाई थाहा छैन।
टाढाबाट म सोचिरहेको छु – राजाहरू सकिए, नेताहरू सकिए, अब सकिने पालो स्वतन्त्र र तथाकथित विज्ञहरूको।
यसपछि के हुन्छ?
टाढाबाट म कसरी भनुँ?
Shares
प्रतिक्रिया