खासमा आज म जे लेख्दै छु, यो केही दिनअघि लेखिनुपर्थ्याे।
लेख्न खोजेको पनि हो।
तर लेख्ने दौडमा म पर्न चाहिनँ।
जो बेअर्थी दौडमा होइन, अर्थपूर्ण हिँडाइमा विश्वास गर्छ, उसबारे लेख्न म किन दौडौं?
दौडिन चाहिनँ।
यसैले उनको मृत्युको खबरबाट अवाक् भएर पनि तथाकथित अबिच्युरी, कमसेकम प्रदीप गिरिका नाममा लेख्न मन लागेन।
बीचैमा छाडिदिएँ।
मृत्युपछिको गुणगानको खहरे अलि सुकेपछि म आज प्रदीप गिरिबारे केही लेख्दै छु।
हुन त टाढाबाट गिरिका विषयमा म के लेखुँ?
मैले देखेका र सुनेका गिरि, खास गिरि हुन् कि होइनन्, यो पनि म उति जान्दिनँ।
मेरो दृष्टिमा गिरि, नेपाली राजनीति र समाजका यस्ता एउटा विचित्र चित्र हुन्, जसमा मूर्तता र अमूर्तता दुवै छन्।
ती कति ठीक थिए, कति बेठीक? यो छुट्याउने ताकत भएको मान्छे म हाेइन।
उनी कति व्यावहारिक थिए वा अव्यावहारिक, यो पनि म कसरी भनुँ?
व्यवहार, अरूले हिसाबकिताब गर्ने गणित हो। त्यो गणितमा गिरि सायद थिएनन्।
समाजले बनाएको गणितलाई अटेर गरेर पनि नेपाली समाजले सुन्न चाहेको अविछिन्न एकमात्र राजनीतीक पात्र भने अहिलेसम्म गिरि नै हुन्।
यस्ता गिरिको मृत्युको खबर सुनेर म सिर्फ अवाक् भएँ।
अवाक्, यसकारण कि जसलाई म हरदिन सुन्न चाहन्थेँ– उनी अबदेखि यो दुनियाँमा भौतिक स्वरूपमा छैनन्।
खासमा प्रदीप गिरि मैले उठबस गरेका पात्र होइनन्। सायदै मैलै उनलाई मेरो जिन्दगीमा भेटेको हुँदो हुँ। तर यी यस्ता जबर्जस्त पात्र हुन्, जसलाई मैले कहिल्यै बेवास्ता गर्न सकिनँ। यी यस्ता पात्र हुन्, जसलाई मैले कहिल्यै सुन्न छुटाइनँ। यी यस्ता पात्र हुन्, जसलाई मैले सायदै हेर्न छुटाएँ युट्युबतिर।
तर यस्ता मान्छे पनि मर्दा रहेछन्।
साँच्चै, मान्छेले किन मर्नुपर्छ? म जान्दिनँ। प्रदीप गिरिजस्ता मान्छे किन मर्छन्? यो झन् जान्दिनँ।
मलाई थाहा छ– मृत्यु प्रदीप गिरिको मात्र होइन, तपाईं हामी हरेकको जिन्दगीमा पहिले नै लेखिएको हिसाब हो। तर किन किन यस्तो लाग्दोरहेछ– कोही मान्छे यति छिटो नमर्दिए हुन्थ्यो।
प्रदीप गिरि, मेरो जिन्दगीका यस्ता पात्र हुन्– जसलाई म अरू कैयौं वर्ष सुनिरहन चाहन्थेँ। ती मरेको कसरी सुनुँ?
जो, आफू प्रजातन्त्रिक तर वामपन्थीलाई मार्क्सवाद पढाउन सक्छ, त्यो मान्छे आज छैन भन्ने कुरा म यो विचारको वर्णशंकर दुनियाँमा कसरी सुुनुँ?
जो मान्छे घनश्याम भुसाललाई प्रिय लाग्छ। र, जो मान्छे जो आफू कट्टर कांग्रेस तर साम्यवाद पढाउन कम्युनिस्टहरूको स्कुलमा जान्छ, त्यो मान्छे सकिएको न कांग्रेसले न कम्युनिस्टले सहन सक्छ।
जो मान्छे महाभारत र रामायणका एक–एक पात्रको अर्को एक–एक महाभारत र रामायण भन्न सक्छ।
जो मान्छे फैज अहमद फैजका सायरी र मुल्ला नसुरुद्दिनका कथा बडो मजाले भन्न सक्छ।
जो मान्छे तलत महमुद र बच्चु कैलाशका गीत एकसाथ गुनगुनाउन सक्छ।
जो मान्छे फ्रेन्च क्रान्ति, बोल्सेभिक क्रान्ति वा यस्तै यस्तै कैयौं क्रान्ति र लेनिनका विचारमा तर्क वितर्क गर्न सक्छ।
यस्तो मान्छे आजसम्म नेपाली राजनीति र समाजमा प्रदीप गिरिबाहेक कोही थिएन। थिए भने डा. दुर्गाप्रसाद भण्डारी थिए। केही वर्ष यतादेखि त ती पनि छैनन्।
इमान्दार भएर भन्दा प्रदीप गिरिको मृत्यु, नेपालको चिन्तनको विशाल दुर्घटना हो।
यस्तो मान्छे– न भूतो न भविष्यति।
यसो भनेर म ती महान् थिए, ती भगवान् थिए, तिनले चमत्कार गरिरहेका थिए भनिरहेको छैन।
यत्तिचाहिँ भनिरहेको छु – ती औसतभन्दा धेरै फरक थिए।
मलाई लाग्दैन– अब अर्काे प्रदीप गिरि नेपालमा जन्मनेछ। जो चान्समा होइन, आफ्नो च्वाइसमा बाँच्छ। र, आफ्ना कुराले विपक्षीलाई समेत मन्त्रमुग्ध पार्न सक्छ। अहँ! त्यस्तो मान्छे त अब कोही प्रकट होलाजस्तो लाग्दैन।
त्यस्तो मान्छे पनि गुम्यो।
गुम्यो, मेरो शब्दमा।
गिरि त जोगी, फुक्काफाल भए यो दुनियाँको जन्जालबाट। अनन्त विराट स्वरूप ब्रह्माण्डमा महाप्रस्थान गरे।
मान्छेको जिन्दगी प्रकृतिले दिएको ऋण रहेछ।
प्रकृतिको ऋण कमैले तिर्छन्। तिर्न सक्छन्। प्रदीप गिरिले प्रकृतिले दिएको ऋण कति तिरे, कति तिरेनन्, म उति जान्दिनँ। म हिसाब–किताबमा अलि कमजोर मान्छे हुँ।
हामी औसत मान्छेले भन्दा प्रदीप गिरिले बढी तिरे होलान् भन्ने म ठान्छु।
उसो त गिरि आफैं कहाँ हिसाब–किताब राख्ने मान्छे हुन् र!
अक्सर मान्छेहरू ठान्छन्– खेल नम्बरले जितिन्छ। म बबुरोको दिमागले भन्छ– खेल नम्बरमा खेल्ने मान्छेले होइन, जो नम्बरको खेलमा पर्दैन, उसले जित्छ।
प्रदीप गिरि जो नम्बरको खेलमा परेनन्। यति भनेपछि उनले जिते जितेनन्, पढ्नेहरूले छुट्याउनु होला।
यसभन्दा बढी म उनको बारेमा के भनुँ?
पत्रकार विजयकुमार पाण्डेले अक्सर गिरिसँगका संवादमा वैश्य युगका कुरा गर्थे।
गिरि जो वैश्य युगको जोड–घटाउ जान्थ्यो, तर आफू त्यो चक्करमा पर्दैनथ्यो। हो, त्यो मान्छे प्रदीप गिरि हो। वैश्य युगको पटकपटकको कुरा उठाउनु विजयकुमार पाण्डेको जडता हो, प्रदीप गिरि त्यो जडताबाट बाहिर निस्किसकेका पात्र हुन्।
यस्तो पात्र वैश्य युगमा कति कामयाबी ठहरियो, म जान्दिनँ। गिरिलाई सम्झेर फेरि भन्छु– खेल नम्बरमा खेल्ने मान्छेले होइन, जो नम्बरको खेलमा पर्दैन, उसले जित्छ।
केही त गिरिले जितेकै हुन्। मान्छेका स्वभाव, चरित्र, भाव, उत्तेजना र व्यवहारबारे त के टिप्पणी गर्नु?
Shares
प्रतिक्रिया