प्रिय लेखक पाउलो कोएलो,
मैले तिमीलाई प्रिय यसकारण भनें– तिमी मैले मन पराएको एउटा पुस्तक द अल्केमिस्टका लेखक हौ।
म यतिबेला तिमीले लेखेको हिप्पीको नेपाली अनुवाद पढिरहेको छु।
लत नै जस्तो छ– पढ्न वा लेख्न बस्दा म गीत सुन्न मन पराउँछु।
संयोग कस्तो परेको छ भने हातमा तिम्रो हिप्पी छ। र, कानमा सुफी गीत। कानमा सुफीकी गायिका अबिदा परभिन भनिरहेकी छन्– सबी फरिस्ते हे यारों, कोही बसर भी हे।
नभएको एउटा चिज हो– एलएसडी (साइकेडेलिक ड्रग्स)। एलएसडी पनि भएको भए, म यतिबेला कतै स्वर्गको ढोका खोलिरहेको हुने थिएँ– तिमीले हिप्पीमा चर्चा गरेजस्तै।
मलार्ई ठयाक्कै त थाहा छैन– स्वर्ग रूप वा भाव? तर यत्ति भन्न सक्छु– हामी हरेक मान्छेमा स्वर्गको लोभ छ। हाम्रा अभ्यास र प्रयास यही लोभवरिपरि केन्द्रित छन्।
मेरो कमसल दिमागले भन्छ– स्वर्ग कुनै भौतिक स्वरूपको ठाउँ होइन, यो त सिर्फ आत्मसन्तोषको चरमानुभूति हो। यो प्राप्त गर्ने बाटा र हिँडाइ कति छन् कति!
कसैले पनि आजसम्म भनेको छैन वा भन्न सकिरहेको छैन– यही नै वा यो पनि एउटा सही बाटो हो, त्यो चरमानुभूत गर्ने।
हिप्पीमा कतै तिमीले अलि ठोकुवाका साथ केही भन्छौ कि भन्ने लागेको थियो।
म सधैं एउटा चरम मानसिक द्वन्द्वमा छु पाउलो– के असल र के खराब?
साठीको दशकमा उदाएको र क्रमशः हराएको ‘हिप्पी कल्चर’ असल वा खराब, के थियो भन्ने कुरा तिमीले अलि प्रस्ट भनेको भए जिन्दगीका मेरा धेरै अस्पष्टता मेटिने थिए।
तर मलाई तिम्रो किताब हिप्पी ‘डेड इन्ड’जस्तो लाग्यो– जुन जाँदाजाँदै एउटा बाटो कुनै निकास नभएको ठाउँमा गएर टुंगिन्छ। हुन त कुनै पनि लेखकले सबै बाटा र त्यसका निकासका ठेक्का लिँदैन। लेखन ठेक्का लेख्ने बिषय पनि होइन। तैपनि द अल्केमिस्टको लेखकबाट मैले बढ्तै आश गरिरहेको थिएँ।
तिमी अझ गहिरोगरी र बुझिनेगरी हिप्पीमा प्रकट हुनेछौ भन्ने लागेको थियो। तर तिमी उही अलिकति सुनिएका कथा, अलिकति प्रेम, अलिकति जीवन दर्शन र अलिकति यौनमा गएर पो सकियौ। मैले तिमीबाट गाँठोको अपेक्षा गरेको थिइनँ। जीवनमा गाँठा त यसै पनि पर्दै जान्छन् पाउलो। तर गाँठा हामीले सही तरिकाले फुकाइरहेका वा फुकाउन खोजिरहेका छौं कि छैनौं, यो महत्वपूर्ण कुरा हो। तिमीले गाँठाहरूलाई त्यसै छाडी पो दियौ कि भन्ने लागेको छ।
अलिकति गीताका कुरा, अलिकति सुफीका र अली बढी आफ्ना कुरा गरेर तिमीले हिप्पी सकाएका रहेछौ। हिप्पी यत्ति मात्र होइन। हुन त तिमीले बढी भोगेका हौ। तर प्रस्तुत गर्ने कुरामा अलि चुक्यौ कि भन्ने लागिरहेको छ।
नेपालको त्यत्रो प्रशंसा गरेर पनि इस्तानबुलतिरै तिम्रो यात्रा किन टुंगिएको होला? म अझै सोचिरहेको छु।
कार्लासँग गरेका तर्क र तर्कनाहरूलाई छाडिदिने हो भने हिप्पी तिम्रो औसत पुस्तक हो। पाउलो, तिमी आफैंले हिप्पीमा भनेजस्तो हिप्पी यथार्थमा आधारित छ। तिमी आफैंले भोगेका, देखेका र अनुभव गरेका र तर्क–वितर्क गरेका कुरा यहाँ छन्। समय क्रममा तिमीले जे भोग्यौ, देख्यौ, अनुभव र अनुभूत गर्यौ, त्यसलाई म औसत भन्न सक्दिनँ।
कसैका पनि जीवनका अनुभव र भाव औसत हुँदैनन् भन्ने लाग्छ, मलाई। तर कथा बुन्ने चक्करमा हिप्पीमा तिमी औसत भयौ कि भन्ने ठानेको छु।
तिमीले खासमा हिप्पीमा के भन्न खोजिरहेका छौ, अलमलमा छु।
मलाई थाहा छ– मान्छेलाई उसको चेतना र भावले जटिल बनाएको हो।
मान्छेबाहेक सम्भवतः अरू कुनै प्राणीमा यति धेरै अन्यमनस्कता र जटिलता छैन।
यस्तै अन्यमनस्कता र जटिलता पनि सायद ‘हिप्पीजम’ पैदा हुनुको एउटा कारण हो (भलै समय क्रममा यो वाद बन्न सकेन)।
म ती कारणबारे अझ जान्न चाहन्थें– हिप्पीमा।
हिप्पी, मेरो एउटा रुचिको विषय हो।
राज्य, सरकार र समाजले बनाएको नियम वा अनुशासन, मान्छेको चेतना, भाव र शारीरिक भोगबीचको अन्र्तद्वन्द्व बुझ्न ‘हिप्पीजम’ मेरो हिसाबमा बिसौं शताब्दीको सबैभन्दा ठूलो परिघटना हो। यति ठूलो परिघटनाको आफैं साक्षी र भोक्ता भएर पनि तिमीले त्यो अन्र्तद्वन्द्वलाई गहिरो रूपमा र बुझिनेगरी नभनेर वा भन्न नसकेर, अवसर गुमायौ कि भन्ने मलाई लागेको छ।
यति भन्ने आँट मैले यसै गरेको होइन।
अलिकति पृष्ठभूमि बताऊँ।
हिप्पी, मैलै ७० को दशकको अन्त्य वा ८० को सुरुआती दिनदेखि सुनेको शब्द हो। यो शब्द सायद मैले पहिलोपटक र पटकपटक मेरी हजुरबाकी एउटी बहिनी अर्थात् बूढी फूपू दिदीबाट सुनेको हुँ– जो पोखराको लेकसाइड छेउछाउ हुनुहुन्थ्यो। र, हामी उहाँकहाँ बेलाबेला गइरहन्थ्यौं। लेकसाइड वरपरका डाँडा र कुलातिर जानुअघि उहाँ हामीलाई सम्झाउनु हुन्थ्यो– त्यता हिप्पीहरू हुन्छन् है!
हुन पनि लामा कपाल, दाह्री नकाटेका, रंगीबिरंगी कपडा लगाएका र गाँजामा मस्तराम कुइरेहरू बारीका डिलडिल हुँदै डाँडातर्फ उक्लिरहेका हुन्थे। वा त्यतै कतै लम्पसार वेपर्वाह बसिरहेका हुन्थे।
पोखराको लेकसाइड– कहाँ अहिलेको जस्तो रासायनिक भइसकेको थियो र! रासायनिक मान्छे आए पनि लेकसाइडचाहिँ पूरै अग्र्यानिक थियो– असी र नब्बेको आधा दशकसम्म।
अँ, हो त्यही समय– मैलै हिप्पीहरू देखेको।
उनै हिप्पीहरूको संगतमा परेर हो वा खै किन हो– मेरी बूढी फूपू दिदीका कान्छा छोरा, जसलाई हामी बाहुन बा भन्थ्यौं– उहाँ गाँजा वा साइकेडेलिकको नशामा पर्नुभयो।
मान्छेहरूले कान्छा ‘बहुलाए’ भने। समाजले कान्छो ‘बहुलायो’ भन्यो। एउटा बहुलाहा मान्छेका रूपमा मान्छे र समाजले उहाँलाइ ‘ट्रिट’ गर्दै गयो।
नेपाली समाज आज पनि मान्छेको ‘इमोसन’लाई राम्ररी र सही ढंगले विश्लेषण गर्न जान्दैन, उबेला के जानोस्! जानेन। उहाँ झन् बढी ‘बहुलाउँदै’ जानुभयो। दुर्व्यवहारको सिकार हुँदाहुँदै अन्ततः अल्पायुमै बित्नुभयो।
मलाई यत्तिचाहिँ थाहा छ– एउटा असाध्यै विद्रोही चेतको मान्छे हुनुहुन्थ्यो उहाँ (२०३६ सालको विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पसमा उहाँलाई प्रहरीले निर्मम रूपले कुटेको थियो)। विद्रोही चेत– त्यो मान्छेसँग हुन्छ, जो भइरहेको भन्दा केही फरक र अर्थपूर्ण परिवर्तनको अपेक्षा र कल्पना गरिरहेको हुन्छ।
राज्य, सरकार र समाजको चरित्र भने अक्सर अलिक ‘कन्जरभेटिभ’ हुन्छ।
हुन त मान्छेकै चेतले सरकार र समाज चलाउने हो, तर सरकार र समाजले फेरि संगठित भएर अन्ततः त्यही मान्छेको चेतना, भाव र उत्तेजनालाई निमोठ्दोरहेछ।
म जान्न चाहिरहेको थिएँ– मान्छे किन चराजस्तै आकाशमा उड्न चाहन्छ, हिप्पी बनेर? र, राज्य, सरकार र समाज किन मान्छेले पखेटा फिँजाउन खोजेको उतिसारो मन पराउँदैन?
हो, यो निमोठयाइँ र पखेटा फिँजाइमाथिको अरुचिको गहिरो विश्लेषण म हिप्पीमा खोजिरहेको थिएँ।
संयोग भनुँ कि के– त्यही लेकसाइड वरिपरी जीवनको केही समय बिताएको म– समय क्रममा हिप्पीहरूकै सहर सानफ्रासिन्सको आइपुगें, जहाँको गोल्डेन गेट पार्कमा १९६७ को समरमा लाखभन्दा बढी हिप्पी जम्मा भएका थिए।
त्यहाँ अहिले पनि ‘हिप्पी हिल’ छ र हिप्पीका प्रभाव, छाप र गतिविधि छन्। उपन्यास हिप्पीको पछाडि कभरमा १९६९ मा न्युयोर्कको बेथेलमा भएको उडस्टक संगीत महोत्सवपछि जताततै ‘हिप्पी हेभन’ देखिन थाले, लेखिएको छ; तर यसअघि नै सानफ्रान्सिस्को गोल्डेन गेट पार्क ‘हिप्पी हेभन’ भइसकेको थियो।
सानफ्रान्सिस्कोमा ९ वर्ष बस्दा मैले त्यो पार्क वरिपरि सयौं फन्को लगाएँ। उहिलेका र अहिलेका हिप्पीसँग कुरा गरें। उनीहरूको भोगाइ, तर्क, चाहना, असन्तुष्टि र कल्पना देखें/सुनें।
यी सबै देखे/सुनेपछि म झनझन् ‘हिप्पीजम’ एउटा ठूलो सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक परिघटना हो भन्ने निष्कर्षमा पुगेको छु।
यसैले यो परिघटनाको मैलै हिप्पीमा धेरै कुरा खोजेको थिएँ।
यसबाहेक नेपाली अनुवादमा मेरा एकाध गुनासा छन्। अनुवाद यसै पनि जटिल काम हो। एक ठाउँ र भाषाका सन्दर्भ र भाव अर्का ठाउँ र भाषामा दुरुस्तै अनुवाद हुन मुस्किल नै हुन्छ। तर ‘बाइबलीय नेपाली अनुवाद’जस्तो नहोस्– कुनै पनि अनुवाद भन्ने कामना सधैं हुन्छ मेरो। एकदुई ठाउँमा बाइबलीय अनुवाद शैली हिप्पीमा पनि भेटें।
जस्तो– ‘...जब हामी गलत विचार खारेज गर्ने प्रयास गर्छौं, त्यसले झन् धेरै सैतानी ऊर्जा आकर्षित गर्छ’ (पृष्ठ १४)। ‘गलत विचार’, ‘खारेज’ , ‘सैतानी ऊर्जा’ र त्यसलाई आकर्षित गर्ने, एउटै वाक्यमा यति धेरै अर्थपूर्ण शब्द कमसेकम मेरा लागि ‘सैतानी’ हुन्। म बबुरोको सामान्य मतिष्कलाई यस्ता वाक्यले तिरीमिरीझ्याँइ पार्छन्।
मैले त यो वाक्य तीनचोटि पढें। तर अझै तिलमिल्याइरहेको छु।
अर्को यस्तै वाक्य ‘...प्रकृतिले मानिसको आत्ममा दोहोरिने खालको चक्र नै पछयाउने गर्दछ’ (पृष्ठ–३८)।
मानिसको आत्मामा कस्तो खालको चक्र दोहोरिन्छ? म त्यति जान्दिनँ। पाउलो वा हिप्पीका नेपाली अनुवादकले आत्मामा कस्तो खालको चक्र दोहोरिन्छ भन्ने कुरा प्रस्ट नपार्ने हो भने त्यो पत्ता लगाउने प्रयास गर्दागर्दै मेरो यो जुनी सकिनेछ।
अरू भन्नु खासै केही छैन पाउलो। मलाई यत्ति मात्र इच्छा छ– सँगै पोखराको लेकसाइड, काठमान्डुको झोंछे, भारतको वनारस र सानफ्रान्सिस्को गोल्डेन गेट पार्क वरिपरि घुम्दै हिप्पीको फेरि ‘रिभ्यु’गर्ने।
(पत्रकार सन्जय घिमिरे हाल टेक्सास अमेरिकामा बसोबास गर्छन्। [email protected])
Shares
प्रतिक्रिया