ad ad

छापा खबर


शिक्षक नियुक्ति गर्दा २४ लाख घुस

शिक्षक नियुक्ति गर्दा २४ लाख घुस

नेपालखबर
असोज २, २०७६ बिहिबार ०:५८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ।

चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ।

चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए। अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ।

चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ। अख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन्।

उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

चौरसियाले दुई लाख घुस लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

गलत तथा नक्कली कागजातका आधारमा राहत शिक्षकमा नियुक्त भई कुर्मीले तलबभत्ताबापत ४ लाख २६ हजार ५६० बुझेका छन्। चौरसिया र कुर्मीविरुद्ध घुसको दुई लाख र तलबको ४ लाख २६ हजार ५६० सहित ६ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसादविरुद्ध भुक्तानी दिलाउने मतियार बनेको आरोपमा ४ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ।

मदरसामा शिक्षक नियुक्तिमा चौरसियासहित ३ जनाविरुद्ध अर्को मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .