ad ad

छापा खबर


पेट्रोलियम पाइपलाइनः ३० महिनाको लक्ष्य १७ महिनामै यसरी भयो पूरा

पेट्रोलियम पाइपलाइनः ३० महिनाको लक्ष्य १७ महिनामै यसरी भयो पूरा

नेपालखबर
भदौ २५, २०७६ बुधबार १:१५,

सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए।

बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्मा र दिवाकर भण्डारीले लेखेका छन्।

अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ।

‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउनेछन्।’

यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले मंगलबार मध्याह्नदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ।

यसअघि तेल ढुवानी गर्न दैनिक २ सयदेखि ३ सय ट्यांकर प्रयोग गरिन्थे। गोइतका अनुसार पाइपलाइन प्रयोगबाट इन्धन ढुवानी खर्च वार्षिक ५० करोड रुपैयाँभन्दा बढी जोगिनेछ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले बरौनी–पटनासम्म आएको पाइपलाइन मोतिहारीसम्म ल्याएको छ। नेपालमा बिच्छ्याइएको पाइपलाइनलाई मोतिहारीमा जोडिएको हो। त्यहाँबाट रक्सौलको सीमासम्म ३२.७ किलोमिटर र त्यहाँबाट अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२ किलोमिटर दूरी पर्छ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माणमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ। सुरुमा कुल लागतको ३० प्रतिशत नेपालले व्यहोर्ने भनिए पनि अन्ततः सबै रकम भारतले लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .