बलात्कारको शिकार एक किशोरीको परिवारलाई घर छाड्न झापा मेचीनगर–९ को वडा कार्यालयले उर्दी जारी गरेको छ।
डोम समुदायकी १७ वर्षीया किशोरीलाई तीन महिना अघि स्थानीय ६० वर्षका विष्णु खड्काले ललाइफकाइ गरी पटकपटक बलात्कार गर्दै आएका थिए।
खड्का अहिले फरार छन्। डोम परिवार खड्काकै घरमा डेरामा बस्दै आएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा झापाबाट पर्वत पोर्तेलले लेखेका छन्।
खड्काकी पत्नी पुष्पाले दुई वर्षदेखि भाडा नतिरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीकै आधारमा वडा कार्यालयले गत आइतबार घर छाड्न उर्दीसहित पत्र टाँस गरेको पीडित लीला मल्लिकले जानकारी दिइन्। उनले आफूले प्रत्येक महिना घर भाडा तिरेको दाबी गरेकी छन्।
‘घर भाडा नतिरेको बहानामा हामीलाई बेघर बनाउन लागिएको हो,’ लीलाले भनिन्, ‘छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले यस्तो बहाना गरेको हो।’
विष्णुले छोरीलाई ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको आरोप लीलाको छ। किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन्। तर, अहिलेसम्म आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे। ‘हामीले देशभरि नै पत्राचार गरेका छौं,’ उनले भने।
दलित अधिकारकर्मी टिका मंग्रातीले डोम परिवारलाई घर निकाला गराउन स्थानीय छिमेकीहरुले समेत पटक–पटक दबाब दिँदै आएको पत्ता लागेका जनाए।
Shares
प्रतिक्रिया