ad ad

छापा खबर


प्रचण्ड र भट्टराईबीच पटकपटक एक्लाएक्लै भेटवार्ता, के हो यो भेटको उद्देश्य?

प्रचण्ड र भट्टराईबीच पटकपटक एक्लाएक्लै भेटवार्ता, के हो यो भेटको उद्देश्य?

नेपालखबर
चैत ८, २०७७ आइतबार २:९,

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ।

यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् । यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।

तत्कालीन माओवादीमा रहँदैखेरि दाहाल–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् । भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक÷डेढ महिनाका बीचमा दाहाल–भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ। भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले जानकारी दिए ।

करिब डेढ महिनाअघि तत्कालीन नेकपा (दाहाल–नेपाल पक्ष) ले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन दाहालले भट्टराईलाई भेटेका थिए । उक्त भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए । माओवादी जनयुद्धताका दाहाल, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । सो भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो।

त्यसको केही समयपछि दाहाल फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिबार भएको थियो । सो दिन पनि दाहाल भट्टराई निवासमै पुगेका थिए।

पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले दाहाललाई साथ दिँदै आएका छन् । दाहाल कुनै पनि अवस्थामा ओली सरकार ढाल्न चाहन्छन् । त्यसका लागि उनले जसपाको साथ खोजेका छन् । कसलाई साथ दिने भन्ने विषयमा जसपा विभाजित छ । भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएका छन्।

जसपाभित्रको विवादमा भट्टराई र यादव एकै ठाउँमा उभिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्को कित्तामा छन् । भट्टराई र यादवका कारण जसपा प्रधानमन्त्री केपी ओली कित्तामा जान सकेको छैन।

भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । यी दुई नेता अहिले माओवादी केन्द्रसँग निकट मानिएका छन् । त्यसो त जसपाका अध्यक्ष यादवसँग पनि दाहालको पुरानो सम्बन्ध हो । कुनै बेला यादव पनि तत्कालीन माओवादी पार्टीमै आबद्ध थिए । माओवादी जनयुद्धकै बेला उनी माओवादी पार्टीबाट अलग भएका थिए र मधेसी जनअधिकार फोरम गठन गरेका थिए । विभिन्न राजनीतिक आरोहअवरोरहसँगै अहिले भट्टराई र यादव एकै पार्टीमा आइपुगेका छन्।

नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न भट्टराई पनि पटकपटक माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । यसबीचमा माओवादी केन्द्र र जसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको छ । जुन कुराकानीमा भट्टराई सहभागी हुने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .