ad ad

छापा खबर


विदेश जाँदा लिएकाे ऋण नतिरेको भन्दै एजेन्टले डोजर लगाएर भत्काइदिए घर

विदेश जाँदा लिएकाे ऋण नतिरेको भन्दै एजेन्टले डोजर लगाएर भत्काइदिए घर

नेपालखबर
साउन २७, २०७६ सोमबार १:३२,

विदेश पठाउँदा दिएको ऋण नतिरेको भन्दै महोत्तरीमा एक एजेन्टले गरिब परिवारको घर डोजर लगाएर भत्काइदिएका छन् ।

सम्पत्तिको नाममा पाँच धुर जग्गामा बनेको फुसको टहरो पनि भत्किएपछि परिवारको वास सडकमा भएको छ।

महोत्तरी भंगहा नगरपालिका–१ कविलासका मोहम्मद शेषको घर अदालतको आदेशमा शनिबार भत्काइएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा महोत्तरीबाट रञ्जन भण्डारी र जनकपुरबाट हदिश खुद्दारले लेखेका छन्।

शेषलाई पैसा दिने स्थानीय एजेन्ट बद्री ठाकुरको पक्षमा फैसला दिएको अदालतका अधिकारीहरू आदेश कार्यान्वयन गराउन गाउँमै आएका थिए ।

अदालतका ६ जना अधिकारीलाई सुरक्षा दिन प्रहरी पनि खटिएको थियो । अदालतका हाकिमहरू, प्रहरी र ऋण दिने साहुका अगाडि शेषकी श्रीमती जहिरा खातुनले हारगुहार गरेकी थिइन् । तर, अदालतको आदेश सर्वमान्य हुने भन्दै टहरो भत्काएर मात्र टोली फर्केको थियो ।

बकरिद पर्वको पूर्वसन्ध्यामा घरबारविहीन भएका खातुन र उनको परिवार बिचल्लीमा छ । नगरपालिकाका मेयरले दिएको त्रिपाल टाँगेर खातुनको परिवार अहिले सडकमै बसेको छ ।

‘घर नभत्काउनुस्, तपाईंको पैसा जे–जति छ, सबै तिर्छु । छोरीहरू छन्, कहाँ लिएर जानू भन्दा पनि उनीहरूले मानेनन्,’ खातुनले भनिन्, ‘प्रहरीलाई पनि गुहार गरेँ । तर, उनीहरूले सुनेनन् ।’ उनले आफूहरूको घरमा रहेका अनाज, लत्ताकपडा सबै पुरिएको बताइन्।

‘सोमबार हाम्रो बकरिद पर्व छ । जसोतसो केही सामान किनेर ल्याएका थियौँ । सबै बर्बाद भयो,’ उनले भनिन्, ‘पर्वको वेला सडकमा आइयो,’ दुई छोरा र चार छोरीका बाबु भने आठ वर्षदेखि वैदेशिक रोजगारमा साउदी अरबमा बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .