सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटका लागि नेपालले भदौ अन्तिमदेखि भदौ खेल्दै छ। समूह बीमा रहेको नेपाल अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइेईसँग भिड्नेछ।
बलियो समूहमा परेको नेपालले रंगशाला तयार नहुँदा घरेलु मैदानमा समेत खेल्ने छैन, सबै खेल विदेशी मैदानमै सामना गर्नेछ। कठिन समयको कप्तानीमा गरिरहेका छन्, विराज महर्जनले।
उनीसँग आज साउन २६ को नेपाल साप्ताहिकले अन्तर्वार्ता लिएको छ, त्यसको केही अंश :
होम गेम नखेलिने निश्चित भयो। यसले खेलाडीको मनोविज्ञानमा कस्तो असर गर्छ?
ठूलो मानसिक दबाब पर्छ। ०७२ को भुइँचालोपछि नै हामीले आफ्नो रंगशालामा खेल्न पाइरहेका छैनौं। घरमै आफ्नो खेल देखाउने मौका छैनौं। खेलाडीका पीडा धेरै छन्।
घरेलु मैदानमा नखेल्दा के फरक पर्छ?
फ्यान सपोर्ट हाम्रा लागि बाह्रौं खेलाडी हो। उनीहरूको साथ र सहयोगले मैदानका खेलाडीलाई ठूलो हौसला र बल मिल्छ। दुर्भाग्यवश बाह्रौं खेलाडीविहीन हुँदै छौं। घरमा खेल्दा बाहिर सहज हुन्छ। सबै खेल देशबाहिर हुँदा आत्मविश्वास कमजोर हुन सक्छ।
बलिया टिमसँग नेपालको खेल कस्तो होला?
हामी सबै प्रतिद्वन्द्वीलाई बलियो मानेर मैदानमा उत्रँदौं छौं। कसैलाई पनि कम आँक्दैनौं। राम्रो खेल्ने र जित्ने आत्मविश्वासले खेलाडी मैदानमा उत्रिनुपर्छ।
नेपालको फुटबल स्तर कहाँ छ?
जबसम्म सरकारले खेल क्षेत्रको स्तर उकास्न ध्यान दिँदैन, तबसम्म खेलाडीले मात्रै केही गर्न सक्दैनन्। सरकारले खेलको मूल्य र महत्व बुझ्न सक्नुपर्यो। खेलाडीको भविष्य सुनिशिचत हुनुपर्यो। अनि मात्र हामीले विश्व जगतसँग आफूलाई दाँज्न सक्छौं।
नेपालले विश्वकप फुटबल कहिले खेल्न सक्ला?
प्रतिकूलता हुँदाहुँदै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय लिगमा स्थान पाइरहेका छन्। सरकारले खेल क्षेत्रलाई उकास्न चाहे २५÷३० वर्षमा खेल्न सकिन्छ। त्यो क्षमता खेलाडीमा छ। विश्वकप खेल्ने सपना धेरै देखियो। तर घरेलु वातावरण त्यस्तो भएन।
प्रतिक्रिया