ad ad

छापा खबर


कक्षा ११ को परीक्षा सञ्चालन गर्ने सबै अधिकार विद्यालयलाई, कक्षा १२ को के होला?

कक्षा ११ को परीक्षा सञ्चालन गर्ने सबै अधिकार विद्यालयलाई, कक्षा १२ को के होला?

नेपालखबर
माघ २४, २०७७ शनिबार ३:४०,

कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए। ‘अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, ‘नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन।’

बोर्डले गत वर्षको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधिमार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीमध्ये चार लाखभन्दा बढीलाई कक्षा ११ मा अध्ययन गर्ने बाटो खुलेको थियो।

बोर्डले परीक्षा सञ्चालन नगर्ने निर्णयसँगै अब विद्यालयमाथि गहन जिम्मेवारी थपिएको छ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रमसमेत कार्यान्वयन गरिएकाले यसको प्रभाव तथा गुणस्तर के हुन्छ भन्नेमा विद्यालय चनाखो भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

विज्ञहरूले विद्यालयलाई यस खालको अधिकार दिँदा पछिल्लो दिनमा शैक्षिक गुणस्तरमा समस्या आउने भएकाले यसमा सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उपाय सुझाएका छन् । शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले विद्यालयलाई यो अधिकार दिनु राम्रो भए पनि अहिले नै धान्न समस्या हुन सक्ने बताए। यसलाई प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने उनको भनाई छ।

कक्षा १२ को परीक्षा भने बोर्डले नै राष्ट्रिय स्तरमा सञ्चालन गर्नेछ । कक्षा ११ उत्तीर्ण भएको आधारमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .