ad ad

छापा खबर


चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो

चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ०:४१,

चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन थालेका छन् ।

५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो।

सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

१८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको छ ।

धावनमार्गको पिच भत्कनु गम्भीर विषय भएको नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकको भनाइ छ । ‘विगतमा धावनमार्ग भत्किँदा ठूला जहाज उडान–अवतरणमै रोक लगाउनु परेको थियो,’ उनले भने, ‘पुरानो धावनमार्गमा पटकपटक यो समस्या आएपछि नयाँ पिच गरिएको हो । नयाँ पिचमा पनि एक वर्ष नबित्दै पुनः यस्तो समस्या आउनु गम्भीर विषय हो । यो समस्या बढ्दै गए विगतमा जस्तै आकाशमा जहाज घन्टौँसम्म होल्ड गरेर धावन मार्ग टालेर बस्नुपर्ने आवस्था आउनसक्छ ।’

भौगर्भिक अध्ययन गर्दा नै विमानस्थलको धावनमार्गको तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत–सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो । त्यसैले दुई बर्खासम्म धावनमार्गमा देखिएको समस्या ठेकेदारले समाधान गर्ने सर्त थियो । तर, मर्मत गर्ने मेसिन (मिलिङ’ समेत ठेकेदारले चीन पठाइसकेको छ । जसका कारण धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन।

ठेकेदार कम्पनीले दुई वर्ष बिग्रेको स्थानमा मर्मत गर्नुपर्ने भए पनि मर्मत गर्ने मेसिन एक वर्षअगाडि नै चीन पठाइसकेको छ ।

तर, आयोजना प्रमुख मुरारी भण्डारीले धावनमार्ग चर्किएको स्वीकार गरे पनि ठेकेदारले बदमासी गरेको भन्न नसकिने बताए । ‘ठेकेदारले बदमासी गरेको होइन, प्राविधिकभन्दा पनि भौगोलिक कारणले धावनमार्ग चर्किएको हो,’ उनले भने, ‘दुई बर्खासम्म मर्मत गर्ने जिम्मा ठेकेदारकै हो, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .